रुसले सिरियालाई हतियार बेचेको भन्दै आलोचना

मस्को : अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले सिरियालाई रुसले युद्धक हेलिकोप्टर बिक्री गरेको भन्दै यसको चर्को आलोचना गरेकी छन् । सिरियाली सरकारले नरसंहार मच्चाएको भन्दै अमेरिका, राष्ट्रसंघ, अरब लिगलगायतबाट यसको सर्वत्र आलोचना भइरहेका बेला रुसले हतियार दिएर अवस्था झनै जटिल बनाएको आरोप क्लिन्टनले बुधबार लगाएकी छिन् । सिरियामा हुने रुसी हतियारको आपूर्तिबाट ‘द्वन्द्वमा नाटकीय वृद्धि’ हुने दाबीसमेत क्लिन्टनले गरेकी छन् ।
रुसले भने अमेरिकी आरोप अस्वीकार गरेको छ । यसअघि भएको लिखित सहमतिअनुरूप हवाई प्रतिरक्षा व्यवस्थाका उपरण बिक्री गरिएको रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभले प्रस्ट पारेका छन् ।
अमेरिका, अरब लिग र युरोपेली संघले सिरियाली सरकारको चर्को आलोचना गर्दै आएका छन् । तर, रुसले भने सिरियाली सरकारको समर्थन गर्दै आएको छ । चार दशकदेखि रुसले सिरियामा क्षेप्यास्त्र, युद्धक विमान, ट्यांक, आर्टिलरी र अन्य सैन्य सामग्री आपूर्ति गर्दै आएको छ । हतियार बिक्री गर्ने क्रम अझै जारी रहेको एपीले जनाएको छ । रुसले सीमाबाहिरबाट हुनसक्ने आक्रमणबाट आत्मरक्षाका लागि सिरियाले आफूबाट हतियार खरिद गरेको जनाउँदै आएको छ ।
अमेरिकालगायत पश्चिमी राष्ट्रले सिरियालाई हतियार बिक्री नगर्न रुसलाई दबाब दिइरहेका छन् । तर, रुसले भने रुस र सिरियाबीचको हतियार कारोबार प्रचलित अन्तर्राष्ट्रिय समझदारी र कानुनअनुरूप रहेको दाबी गर्दै पश्चिमी दबाबको बेवास्ता गर्दै आएको छ ।
गत साता मात्रै हतियारले भरिएका पानीजाहज सिरिया पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका थिए । युद्धक विमान, सैन्य हेलिकोप्टर, क्षेप्यास्त्र, हजारौँ ट्यांक, बक्तरबन्द गाडी र आर्टिलरी प्रणाली पछिल्लोपटक सिरिया पुर्‍याइएको समाचारमा जनाइएको छ । सिरियाली सैनिकलाई रुसी प्रशिक्षकले हतियार चलाउने तालिम दिने गरेका छन् । कतिपय सञ्चारमाध्यमले भने बिग्रेका हतियार रुसमा बनाएर गत साता सिरिया फर्काइएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । (एजेन्सी)

चीनद्वारा नाकाबन्दी अस्वीकार
सिरियाली संकट समाधान गर्न सिरियाविरुद्ध नाकाबन्दी लगाउनुपर्ने प्रस्ताव पश्चिमी राष्ट्रहरूले गरिरहेका बेला चीनले प्रस्तावप्रति असहमति जनाएको छ । फ्रान्सले नाकाबन्दीको पक्षमा मत जाहेर गर्नेबित्तिकै चीनले बिहीबार यस्तो प्रस्ताव अनुमोदन नगरिने प्रस्ट पारेको छ ।
चिनियाँ विदेश सचिव लि विमिनले भने, ‘सिरियालाई दबाब दिने प्रयासको हामी विरोध गर्छौँ । बरु सिरियाका लागि अन्तर्राष्ट्रिय शान्ति दूत कोफी अन्नानको शान्तिप्रस्तावमा समर्थन गर्न हामी सबैसँग आग्रह गछौंँ ।’ रुससँग मिलेर चीनले सिरियाविरुद्ध हुनसक्ने आर्थिक, राजनीतिक र सैन्य दबाबलाई निस्तेज गर्दै आएको छ । रुस र चीन दुवैसँग सिरियाको राम्रो सम्बन्ध रहेको बताइन्छ ।

प्रतिक्रिया