राजनीतिक बहसमा विद्यार्थी

सहरमा युरोकपको रन्को छ यतिखेर । मध्यरातमा गोल भन्दै चिच्याएर टोलबासीको निद्रा बिथोल्नमा सक्रिय छन्, उरन्ठेउला ठिटाहरू । टोलमा छ, क्रिस्टियानो रोनाल्डोको ‘मिस्टेक’ को चर्चा । कलेज उचालिएको छ, जतिसुकै स्टार पाले पनि सोचेजस्तो खेल देखाउन नसकेको इंग्ल्यान्डको बखानले । फुटबलमै रमाइरहेका तन्नेरीहरू कलेज गफमा आ–आफ्नो सपोर्टिङ टिमको प्रवद्र्धनमा विपक्षी प्रशंसकहरूलाई छेडखानी गरिरहेका हुन्छन् । यस्ता सिजनेबल गफबाहेक कलेजमा चर्चा गरिने अरू पनि कैयौँ विषयवस्तु हुन्छन्, पाठ्यक्रमबाहेकका । कक्षाकोठाभित्र शिक्षकसँगै पनि कहिलेकाहीँ अनौपचारिक विषय झिकेर पिरियड सिध्याउँछन्, किशोर एवं किशोरोत्तर विद्यार्थीहरू । तर, राजनीति र राष्ट्रिय विषयका गफ सायदै होलान् । सामान्यत: आमनेपालीजस्तै अहिलेको कलेज पुस्ता फ्रस्टेट छ राजनीतिबाट, त्यसैले यसलाई बालमतलब गर्छ । तर, यो समग्र विद्यार्थीको स्वभाव भने होइन ।  तिनै विद्यार्थीमध्ये कोही यस्ता छन्, जसलाई राजनीति नबुझी धरै छैन, चाहे त्यो जतिसुकै पट्यारलाग्दो र निराशाजनक किन नहोस् । उनीहरूचाहिँ कलेजभित्रै राजनीतिक बहसको गर्मी बढाइरहेका हुन्छन्  । आफूले पढिरहेका विषयसँग सम्बन्धित रहेर यस्ता बहस, अन्तक्र्रिया र छलफल चलाइरहेका हुन्छन् । त्रिभुवन विश्वविद्यालयको ‘शान्ति, द्वन्द्व तथा विकास अध्ययन’ विषयमा स्नातकोत्तर गरिरहेका विद्यार्थीलाई अहिले विघटित संविधानसभा, संघीयता आदि विषयमा कलेजमा बहस चलाउने चटारो छ । क्लासका साथीहरू मिलेर जल्दोबल्दो मुद्दामा तात्तातो बहस गरिहाल्छन् । विषय नै त्यस्तै छ ।
‘हाम्रो विषय राजनीतिबाट पर छैन । त्यसैले देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफलमा जुटिहाल्छौँ,’ सोही विषय पढिरहेका कमल कडेँलले भने । त्रिविअन्तर्गत स्नातकोत्तरमा पढाइ हुने उक्त विषय नेपालमा एकै ठाउँमा मात्र पढाइ हुन्छ । अझ श्रीलंका र युरोपदेखिका विद्यार्थी एउटै कक्षामा पढ्छन् त्यहाँ । यो माहोल उनीहरूलाई रमाइलो पनि लाग्छ रे । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक उतारचढावबारे छलफलमा जुटिरहन्छन् उनीहरू । यसपटक संविधानसभा अवसानपछिको स्थितिबारे अन्तक्र्रिया चलाइसकेका छन् । गत मंगलबार ग्लोबल कलेज, मध्यबानेश्वरमा राखिएको अन्तक्र्रियामा सम्बन्धित विषयको विज्ञलाई अतिथिका रूपमा आमन्त्रण गर्ने चाँजोपाँजो मिलाए उनीहरूले । संघीयताबारे प्रस्तुति दिन राजनीतिशास्त्री कृष्ण हाछेथू उपस्थित थिए । राजनीतिक विश्लेषणका लागि चाहिँ वरिष्ठ पत्रकार युवराज घिमिरे निम्त्याइए । अनि सुरु भयो गरमागरम बहस ।
अन्तक्र्रियाका लागि कक्षाका सबै विद्यार्थीको सहमतिमा  ५/६ जना विद्यार्थी सहभागी एउटा आयोजक समूह बनाउँदा रहेछन् उनीहरू । अनि प्रत्येकले एक–एकओटा जिम्मेवारी सम्हाल्नुपर्ने । अन्तक्र्रियाभर सबै विद्यार्थीका कान पनि ठाडाठाडा । अनि अतिथिलाई प्रश्न गर्न उस्तै हानथाप । जातीय पहिचानका आधारमा संघीयता भएका विश्वका चार मुलुकको उदाहरण दिँदै हाछेथूले प्रस्तुति सकेका मात्र के थिए, ºलोरबाट प्रश्नहरूको वर्षा हुन थालिहाल्यो । विपिन घिमिरेले सोधे– ‘विश्वका थोरै मुलुकमा मात्र जातीय आधारमा दिइएको संघीयता नेपालको कन्टेक्समा मिल्ला र ?’
विद्यार्थीहरूमा देशप्रतिको चिन्ता प्रकट गर्ने ठाउँ पनि बन्न पुग्यो अन्तक्र्रिया । तिलकजंग खड्काले वरिष्ठ पत्रकार घिमिरेलाई सोधिहाले– ‘संविधानसभा फेल हुनुमा को दोषी त ?’ प्रश्नका जवाफ दिएर फुर्सद नपाएका अतिथिहरू सामु फेरि राज्यलक्ष्मी गुरुङले मिडिया र राजनीतिक परिर्वतनको सम्बन्धबारे प्रश्न तेस्र्याइहालिन् । उनीहरूको जिज्ञासा असीमित थिए, आगन्तुक अतिथिहरूलाई उत्तर दिनै भ्याइनभइ । लामै समय चल्यो प्रश्नोत्तरको रस्साकस्सी । अन्तक्र्रियाले मथेर निकालेको निष्कर्ष समातेर घोत्लिन थाल्छन् विद्यार्थीहरू, गहिरिएर अध्ययन गर्न थाल्छन्, कार्यक्रमपछि पनि । समूहसमूहमा बाँडिएर कोही कार्यक्रमको समीक्षा गर्न जुट्छन् त कोही अघि गरिएकै छलफलको फेरो समात्न पुग्छन् ।
कलेजमा नियमित लेक्चररहरूको लेक्चर सुनेर ‘मोनोटोनोस’ हुनुपर्ने अवस्थाबाट रिफ्रेस गराउँछन् रे विद्यार्थीलाई यस्ता अतिरिक्त गतिविधिले । उनीहरूले यसअघि विभिन्नखाले गतिविधिको स्वाद चाखिसकेका रहेछन् । खेलकुद कार्यक्रमदेखि अनुसन्धान भ्रमणसम्म गरेका छन् । ‘यस्तो खालको एक्स्ट्रा कार्यक्रमले हामीमा राम्रो प्रभाव पारेको छ, डिर्पाटमेन्टसँग मिलेर फेरिफेरि पनि गर्ने योजनामा छौँ,’ विद्यार्थी कृष्ण केसीले सुनाए ।
कोर्सको अध्ययन मात्रैले विद्यार्थीको ज्ञानको दायरा सीमित बनाइरहेको हुन्छ । तर, अतिरिक्त कार्यक्रमका माध्यमबाट तिनै विषयबारे गहन खोज, अध्ययन गर्दा ज्ञानको दायरा फराकिलो हुन पुग्छ । अनि यो आफैँमा स्वत:स्फूर्त ज्ञानार्जन हो । यसै भन्छन् विद्यार्थीहरू, त्यसैले त यस्ता कार्यक्रम भन्नासाथ उत्सुक भइहाल्छन्, यी राजनीति तथा द्वन्द्व अध्येताहरू ।
अहिले नेपालमा शान्ति, द्वन्द्व र विकास अध्ययन गरिरहेका विद्यार्थीमध्ये केही आºनो दोस्रो वर्षे पढाइका लागि श्रीलंका जाने तयारीमा छन् । श्रीलंकाको विश्वविद्यालयमा गएर त्यहाँ भेटिने विद्यार्थीसमक्ष नेपालको राजनीतिक विश्लेषण गर्ने क्षमता देखाउन सक्नुपर्छ रे उनीहरूले, जसरी अहिले सहपाठी श्रीलंकाली साथीहरूबाट श्रीलंकाको द्वन्द्वको पुरानो घाउ सुनिरहेका छन् । किताबी अध्ययन मात्रैले उनीहरूलाई त्यो क्षमता दिलाउन नसक्ने रहेछ, त्यसैले त यस्ता अन्तक्र्रिया र छलफल भन्नासाथ चासो दिएर लागिपर्छन् उनीहरू ।

प्रतिक्रिया