नेपालको निशाचर काल

रक्सौलको होटेलमा खाजा खाँदै गर्दा न्युज च्यानलले भारतीय लोकसभाको दृश्य देखाइरहेको थियो । सांसदहरू निकै तातेका देखिन्थे, चर्को–चर्को बोलिरहेका थिए र शैली आक्रामक थियो । एक किसिमले हंगामाको स्थिति देखिन्थ्यो । सदनभित्र हुरीबतास, मेघ गर्जन र चट्याङ थामिएपछि प्रधानमन्त्री मनमोहन सिंह बोल्न थाल्नुभो । तर, उहाँको अनुहार सौम्य र स्पिच सन्तुलित थियो । होटेल साहुलाई टेलिभिजनतर्फ इसारा गर्दै हामीले तपाईंहरूको पिएम कति सौम्य र शान्त छन् भन्यौँ । उनले मनमोहन भन्दा पनि अटलविहारी वाजपेयी सज्जन थिए भने । नजिकै बसेका वृद्धले भने, ‘गुल्जारिलाल नन्दा त अझ सन्त नै थिए । अटलबिहारी यदाकदा कटाक्ष गरिरहन्थे, भलै कटाक्ष घातक र विषालु हुँदैनथ्यो ।’  होटेल साहुले हामीलाई नेपाली ठानेर होला, पहिले हाम्रो विहारमा गुण्डाराज थियो, अहिले त्यो रोग नेपाल सरेको छ भन्न भ्याए । होटेलबाट फर्केपछि हाम्रा प्रधानमन्त्रीमा त्यो चरित्र खोज्न थालेँ । कृष्णप्रसाद भट्टराईलाई अटलजीसँग दाँज्न सकिने देखेँ । गुल्जारिलाल नन्दासँग दाँज्न मिल्ने व्यक्तित्व फेला पार्न सकिनँ । बिहारको गुण्डाराज रोग नेपाल सरेको भन्ने वाक्य मस्तिष्कमा
गढेर बस्यो ।
नेपालमा राजनीति मात्र प्रदूषित भएको होइन, सामाजिक धरातल पनि खस्केको छ । मैले आफ्नै नाताकुटुम्ब र वरिपरिको परिवेश सम्झेँ, धूर्त, चलाक र छट्टुहरू रातारात मालामाल भैरहेका, तर योग्य भए पनि इमानदारिताको रोग लागेकाहरूको भागमा उपेक्षा मात्रै परेको देखेँ । टपरटुय्याँहरूको इज्जत ह्वात्तै बढेको, स्वाभिमानीहरू ओझेल परेको र भुइँफुट्टा संस्कृतिले छपक्क ढाकेको देखेँ । ३०–३५ वर्षअघिसम्म यही नेपालमा सामान्य चेतना पसेका मानिसहरू जीवनका आधारभूत आवश्यकता पूर्ति सँगसँगै जीवनको सार्थकताको खोजी गरिरहेका भेटिन्थे । इतिहासको विरासत तथा भविष्यको सभ्यताको बीचमा आफ्नो भूमिका निर्धारण गरिरहेका हुन्थे । लेखिँदै रहेको इतिहासको वर्तमान पृष्ठमा हाम्रो भूमिका र योगदानलाई  कुन अक्षरले लेखिएला भनेर चासो राखिरहेका पाइन्थे । विश्वलाई नै चकित पार्ने भव्य ठूला आन्दोलनहरू यही नेपालमा भए र उत्सर्ग र बलिदानका लागि तँछाडमँछाड गरिरहेका देखिए, त्यो यही दृष्टिकोण र भावनाबाट अभिप्रेरित थियो ।
‘संक्रमणकाल’ शब्द अचाक्ली प्रयोग भइरहेकाले यो शब्द देख्दा पनि झिँझो लाग्ने भइसकेको होला । यदि राष्ट्र र समाज गतिशील छ भने त्यो समाज र राष्ट्रका लागि हर क्षण संक्रमणकाल नै हुन्छ । हरेक संक्रमणकालले राष्ट्रिय नायकको माग गर्छ, त्यस्तो नायक जसलाई राष्ट्रले स्वीकार गरेको होस् । राष्ट्र र समाजले त्यसबेला गति प्राप्त गर्छ जब त्यहाँ रचनात्मक अभिप्रेरणाका तत्त्वहरू पर्याप्त हुन्छन् । समाजको साझा दृष्टिकोण, लक्ष चिन्तन र विचारलाई बुझेर राष्ट्रले अख्तियार गर्न खोजेको बाटो र दिशा प्राय: राष्ट्रका नायकमार्फत अभिव्यक्त हुन्छ । त्यस्तो नायकले राष्ट्रको मुटु छामेको हुन्छ र ढुकढुकी चिनेको हुन्छ । दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाले राष्ट्रको ढुकढुकी बुझेका थिए । ब्राजिलमा लुला (इनासियो लुला डा. सिल्भा)ले राष्ट्रको नाडी छामेका थिए । पूर्वी टिमोरका सनाना गुजमाओलाई जनताले आफ्नो बनाइसकेका थिए । भारतमा गान्धीलाई जनताले आस्थाको केन्द्रमै विराजमान गराए । बिहारमा नितिसले रोग कहाँनिर छ भनेर ठम्याए र त्यहीँ उपचार सुरु गरे । चीनमा माओत्सेतुङले राष्ट्रको ज्वरो नापेका थिए । एक जमानामा फिलिपिन्स पनि अहिलेको नेपालजत्तिकै जर्जर भइसकेको थियो । चौतर्फी विद्रोहको राँको सल्केको थियो । असुरक्षा र कुशासनले जनता पिल्सिएका र हाहाकार मच्चिएको थियो । यस्तो डावाँडोलको स्थितिमा राजनीतिमा कहिल्यै नदेखिएका रेमोन म्यागसेसेले राष्ट्रलाई लागेको रोगका लागि औषधि पेस्क्राइब गरे– सुशासनको ट्याब्लेट । सुरुमा त उनको कुरो कसैले सुनेन, तर बिस्तारै उनका कुरातिर ध्यान दिन थाले । एउटा गैरराजनीतिक व्यक्तिलाई जनताले पत्याए र राष्ट्रपतिमा निर्वाचित गरे । मात्र सुशासनमा फोकस रहेर राष्ट्रलाई वैतरणी पार लगाए । अमेरिकामा जर्ज वासिंगटनलाई जनताले राष्ट्रको अभिभावक ठान्थे । तेस्रोपटकका लागि कर नगर्ने सर्तमा मात्र उहाँले दोस्रोपटक राष्ट्रपति हुन मञ्जुर गर्नुभएको थियो । त्यहीबेलादेखि नै अमेरिकामा कुनै पनि व्यक्ति दुईपटकभन्दा बढी राष्ट्रपति हुन नपाउने थिति बसेको हो ।
अमेरिकामा जर्ज वासिंगटनले ‘दुईपटकभन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो जुन–जुन देशले थिति बसाउन खोजे र थितिमा चल्न चाहे ती देशको दिन दुगुना रात चौगुना विकास भएको छ । जनता आफैँले मूल्य, पद्धति र अनुशासनमा बस्न खोजे भने संविधान र कानुनले धेरै खट्न नपर्ने रहेछ । बेलायतमा संविधानकै पुस्तक त अहिले पनि पाइँदैन । दुई सय २५ वर्षदेखि एउटा फुच्चे संविधानलाई मार्गदर्शक मानेर अमेरिका समृद्धि र प्रगतिपथमा लम्किरहेछ । कुन देश सिस्टममा चल्न खोज्दै छ, र कुन देश अराजकतामा गइरहेछ, सामान्य लक्षणबाटै थाहा हुन्छ । जुन देशका अगुवाले मूल्य मान्यतालाई जीवनपद्धति बनाउन खोज्छन् त्यो राष्ट्र सिस्टममा चल्छ भनेर बुझे हुन्छ । जुन देशका अगुवाले संविधानले रोकेको छैन र कानुनले निषेध गरेको छैन भन्दै स्वार्थ पूर्तिका लागि र आफूखुसी गर्न अनेकौँ कुतर्क र अपव्याख्या गर्न थाल्छन्, त्यो राष्ट्र अराजकतामा धसियो भनेर बुझे हुन्छ । बेडमा श्रीमतीसँग कस्तो व्यवहार गर्नुपर्छ र आमालाई कसरी श्रद्धा जनाउनुपर्छ त्यो पनि संविधान र ऐन कानुनमा लेखिएको हुँदैन । गुरु, पिता, दाजु, काका, मामाहरूलाई कुन स्थानमा राख्नुपर्छ त्यो पनि संविधानले भन्दैन । कसैको जात, नश्ल, रङ, लिंगलाई प्रयोग गरेर होच्याउने भाषामा च्वास्स बिझ्ने गरी बोल्न र लेख्न हुन्छ कि हुँदैन, त्यो पनि संविधानले प्रस्ट बुझ्ने गरी बताउँदैन । बेलायतले ऐनकानुन र नियमको दफामा राष्ट्रिय सहमति खोजेन । त्यहाँको न्याय प्रणालीमा परम्परागत चलन पोहोरसम्म थियो, जुन ऐनकानुनमा लेखिएको थिएन । अमेरिकाका जनप्रतिनिधिहरू सिनेटभित्र एउटै भेषमा भेटिन्छन्, जुन ऐनकानुनले बाध्य बनाएको थिएन । संविधान र ऐनकानुनलाई जिम्मा लगाएर मात्रै हुँदैन । जुन राष्ट्र, समाज, समुदाय र व्यक्तिसँग लक्ष, चिन्तन, सार्थकताको खोजी र उद्देश्य प्रस्ट छैन भने कानुनका डन्डाले ठटाएर मात्र राष्ट्र उँभो लाग्दैन । सपना डढेको, मूल्य निख्रेको र आदर्श हराएको यस्तो समाजमा हामी अहिले बाँचिरहेछौँ जसले हामीभित्र न प्यास जगाउँछ, न त कुनै सम्भावना देखाउँछ, न घचघच्याउँछ, न त उल्लासित नै पार्छ । नपुंसक कालखण्डमा निस्क्रिय साक्षी भएर रहेका छौँ, जहाँ निशाचरहरू वितण्डा मच्चाइरहेछन् ।

प्रतिक्रिया