‘अध्यक्ष छलछाम र षड्यन्त्रमा’

काठमाडौं, १ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि पेस गरेको सातबुँदे प्रस्तावबारे उपाध्यक्ष मोहन वैद्य पक्षले ६ बुँदे जवाफ फर्काएको छ । संस्थापन पक्षको प्रस्ताव पार्टी एकताका लागि भन्दा पनि छलछाम गर्ने र धोखा दिने अभिप्रायमा आधारित रहेको वैद्य पक्षको ठहर छ ।

संस्थापन पक्षको प्रस्तावमाथि आºनो विचार समूहमा छलफल गरेपछि वैद्य पक्षले बिहीबार जवाफ पठाएको हो । लिखित जवाफमा पार्टीलाई एकताबद्ध बनाउनुको साटो अध्यक्ष दाहाल अहिले पनि छलछाम र षड्यन्त्र गर्नमा लागेको उल्लेख गरिएको छ । वैद्य पक्षका पोलिटब्युरो सदस्य हरिभक्त कँडेललगायत नेता अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवास पुगेर जवाफ बुझाएका थिए । ६ बुँदे जवाफमा उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाको हस्ताक्षर रहेको छ ।
संस्थापन पक्षको स्थायी समितिले तयार पारेको सातबुँदे प्रस्ताव पार्टी एकता गर्ने उद्देश्यले नआएको जिकिर वैद्य पक्षले पठाएको जवाफमा गरिएको छ । ‘सो प्रस्ताव समस्याहरूको समाधान गरी पार्टीलाई एकताबद्ध तुल्याउने उद्देश्यमा नभई फेरि पनि छलछाम गर्ने र धोखा दिने अभिप्रायमा आधारित रहेको देखिन्छ,’ पत्रमा उल्लेख छ ।
संस्थापन पक्षले विगतमा गरेका गम्भीर प्रकृतिका गल्ती, कमीकमजोरीको लिखित आत्मालोचना र त्यसको पुनरावृत्ति नहुने प्रतिबद्धतासहितको प्रस्ताव अनिवार्य रूपमा आउनुपर्ने वैद्य पक्षको माग छ । ‘अनि मात्र समस्याको सही समाधान र सम्बोधन हुन सक्छ । यसरी नै पार्टीलाई एकताबद्ध तुल्याउन सम्भव छ । सो नभएमा आगामी असार १ गतेदेखि आयोजना गरिएको राष्ट्रिय भेला यथासमय र स्थानमा सम्पन्न हुने कुरा पनि यसै साथ जानकारी गराइन्छ,’ वैद्य पक्षको जवाफमा उल्लेख छ ।
पार्टी एकताका लागि प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले भारतसित गरेको बिप्पा खारेज गर्नुपर्ने, शान्ति र संविधान निर्माण गर्ने क्रममा गरिएका सातबुँदे, चारबुँदेजस्ता सहमति खारेज गरिनुपर्ने सर्त पनि वैद्य पक्षले राखेको छ । ‘अहिले लामो समयदेखि आधारभूत कार्यदिशाका साथै पछिल्लो समयमा सरकार बन्ने प्रक्रियासँगै उत्पन्न भएका चारबुँदे तथा सातबुँदे सहमति, चाबी हस्तान्तरण तथा सेना समायोजन, बिप्पा, जग्गा फिर्तालगायत विषयमा पार्टीमा पैदा हुँदै आएका विवाद तथा समस्याको समाधान नगरी पार्टीलाई एकताबद्ध तुल्याउन सकिँदैन,’ वैद्य पक्षको जवाफमा भनिएको छ ।
नयाँ जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने पार्टीको मूल नीति नै संस्थापन पक्षले त्यागेको बताउँदै वैद्य पक्षले मूल कार्यदिशामा फर्कनुपर्ने अडान पनि राखेको छ । ‘पार्टीद्वारा माक्र्सवाद–लेनिनवाद–माओवाद विचारको पथप्रदर्शनमा नेपालमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधमा नयाँ जनवादी गणतन्त्र स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने मूल नीति तथा कार्यक्रममा आधारित कार्यदिशा निर्धारण गरिएकोमा त्यसविरुद्ध पार्टीलाई संसद्वादी तथा सुधारवादी भासमा फसाउने कसरत हुँदै आएको छ । त्यसबारे गम्भीर बन्दै पार्टीको मूल कार्यदिशाप्रति पुन: प्रतिबद्धता जाहेर गर्न जरुरी छ,’ अध्यक्ष दाहाललाई पठाइएको जवाफमा भनिएको छ ।
पालुङटार विस्तारित बैठकपछि भएको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गर्ने निर्णय गरे पनि अध्यक्ष दाहाल अहिलेकै सरकारलाई निरन्तरता दिने कसरतमा लागेको आरोप पनि वैद्य पक्षको जवाफमा उल्लेख छ । सरकारलाई जोगाउनकै लागि संविधानसभा विघटनसम्म गरिएको दाबी वैद्य पक्षको छ ।
‘माघ पहिलो साता सम्पन्न केन्द्रीय समितिको बैठकमा सर्वसम्मत रूपमा तत्कालीन सरकारलाई विघटन गरी राष्ट्रिय सहमतिको संयुक्त सरकार निर्माण गर्ने निर्णय लिइएकोमा ६ महिना बितिसक्दा पनि सो निर्णय कार्यान्वयन गरिनु त परै जाओस् उल्टो यसै सरकारलाई निरन्तरता दिने कसरत हुँदै आएको छ । त्यति मात्र होइन, यसै सरकारको रक्षाका लागि संविधानसभा र व्यवस्थापिकालाई समेत बलि चढाइएको छ,’ वैद्य पक्षको जवाफमा भनिएको छ ।
(वैद्य पक्षले पठाएको जवाफको पूर्णपाठ, पृष्ठ ७ मा)

प्रतिक्रिया