बर्दियाका कृष्णसार शुक्लाफाँटा सारिने

काठमाडौं, ३२  जेठ । सरकारले आगामी डेढ महिनाभित्र बर्दियाको खैरापुरका कृष्णसारलाई शुक्लाफाँटा वन्यजन्तु आरक्षमा स्थानान्तरण गर्ने भएको छ । दुई सय ६० भन्दा बढी संख्यामा रहेका कृष्णसार राख्न खैरापुरस्थित कृष्णसार संरक्षित क्षेत्र साँघुरो भएपछि त्यहाँका कृष्णसार शुक्लाफाँटामा सार्न लागिएको हो ।
ठूलो र फराकिलो चौरमा चाहेजति क्षेत्र ओगटेर उफ्रँदै चर्ने कृष्णसारलाई उपयुक्त वासस्थान उपलब्ध गराउन सके तिनीहरूको संख्या बढ्ने र जोगाउन सकिने भएकाले शुक्लाफाँटाको हिरापुरमा सार्ने तयारी भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । ‘उपयुक्त वातावरणमा राख्न सके संख्या बढ्ने र जोगाउन सजिलो पर्ने भएकाले कृष्णसारलाई शुक्लाफाँटा सार्न लागिएको हो,’ विभागका वरिष्ठ इकोलोजिस्ट डा. महेश्वर ढकालले सोमबार सौर्यसँग भने ‘खैरापुरमा क्षेत्र सानो भयो, डेढ महिनाभित्र सार्ने काम सुरु हुन्छ ।’
त्यसका लागि अहिले शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्रको ठूलो फाँटा हिरापुरको स्थलगत अध्ययन, पूर्वाधार निर्माणलगायत काम सुरु गरिसकिएको बताए । यसरी एकै ठाउँमा मात्रै रहेका जनावर अर्को ठाउँमा सारेर दुवैतिर राख्दा कथंकदाचित रोगब्याधी वा प्रकोपले एक ठाउँका मासिए पनि अर्को ठाउँका जोगिने सम्भावना हुन्छ । अझ कृष्णसार त अति संकटापन्न संरक्षित वन्यजन्तु हो ।
कति कृष्णसार हिरापुर सार्ने र कति खैरापुरमै राख्ने भन्ने टुंगो लागिसकेको छैन । करिब १५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको खैरापुरको कृष्णसार संरक्षित क्षेत्रभन्दा शुक्लाफाँटाको हिरापुर चार/पाँच गुणाभन्दा पनि ठूलो छ ।
अहिले नै खैरापुरका कृष्णसार सार्नुपर्ने मुख्य कारण संरक्षण र संख्यात्मक वृद्धि गराउनु भए पनि स्थानान्तरणले सन् २०२२ सम्म बाघको संख्या दोब्बर गराउनसमेत ठूलै सहयोग पुर्‍याउने विश्वास विभागले लिएको छ । ‘कृष्णसार शुक्लाफाँटामा सार्दा पर्याप्त आहाराका कारण शुक्लामा बाघको संख्या बढोत्तरी भएर सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यलाई टेवा पुग्ने विश्वास छ,’ वरिष्ठ इकोलोजिस्ट डा. ढकालले भने ।
विभागका अनुसार डेढ महिनादेखि सुरु गरेर असोज–कात्तिकसम्म खैरापुरका कृष्णसार हिरापुर सारिसक्ने र त्यसपछि हिउँदमा काठमाडौंका कृष्णसार पनि प्राकृतिक स्थानमा सार्ने योजना छ । हाल खैरापुरमा करिब दुई सय ६०, नेपालगन्जको सानो समूह र काठमाडौंको मृगस्थलीमा करिब दुई दर्जन कृष्णसार छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ मार्फत संरक्षित कृष्णसार नेपालको अति संकटापन्न वर्गमा परेको जनावर हो ।
त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका एसोसिएट प्रोफेसर एवं वन्यजन्तुविद् डा. मुकेशकुमार चालिसेका अनुसार एन्टिलोप परिवारमा पर्ने कृष्णसार घाँसमा चर्ने, खुला ठाउँमा रमाउने र चाहेजस्तो फाँटा पायो भने २५ फिटमाथिसम्म उफ्रन्छ । यसले घाँस, दुबो, खेतीपाती, चनाको मुन्टा असाध्यै रुचाउँछ । कालो रङकै कारण कृष्णसार भनिएको यो जनावरको भाले कालो र पोथी खैरो हुन्छ । अरू मृगकै सरह ६/६ महिनामा बच्चा जन्माउने कृष्णसारको बच्चा वयस्क भएर भाले लाग्ने नभएसम्म भाले र पोथी बच्चा दुवैको रङ खैरो हुन्छ । खुला ठाउँ रुचाउने भएकै कारण टाढाबाटै सिकारीलाई कृष्णसारको सिकार गर्न सजिलो पर्दा यिनीहरू मासिँदै गएको उनले बताए ।

प्रतिक्रिया