सधैँको समस्या रगत अभाव

सन् २००४ देखि विश्वभर मनाउन थालिएको विश्व रक्तदाता दिवस यस वर्ष पनि १४ जुनमा विश्वभरमा मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा यस वर्ष ‘हरेक रक्तदाता एक महाव्यक्ति हुन्’ भन्ने नाराका साथ मनाइँदै छ । रक्त समूह ‘ए’, ‘बी’ र ‘व’ पत्ता लगाई चिकित्सा विज्ञानमा नोबेल पुरस्कार विजेता डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ का दिन विश्वभरिका रक्तदातालाई धन्यवाद ज्ञापन गर्न रक्तदाता दिवस मनाउदै आइरहेको छ । संसारमा कुनै पनि प्राणी रगतविना बाँच्न सक्दैन । हाल विज्ञानले विश्वको हरेक क्षेत्रमा विकास गरेको भए तापनि कृत्रिम मानव रगत बनाउन सकेको छैन । कुनै पनि व्यक्तिलाई उपचारको क्रममा रगतको आवश्यक पर्‍यो भने हालसम्म स्वस्थ व्यक्तिबाट रक्तदान गराउनुबाहेक अर्काे विकल्प छैन । यस्तो समस्याको निराकरणका लागि स्वयंसेवी रक्तदाताहरूको संख्या बढाउनु अत्यन्त आवश्यक छ । हाल नेपालभर स्वयंसेवी रक्तदाताहरूले दिएको रगत मात्र संकलन हुन्छ । तर, अझै पनि यो संख्या उल्लेख्य रूपमा वृद्धि हुन सकेको छैन । स्वयंसेवी रक्तदानबारे जनचेतना जगाई रगत संकलन कार्यमा सुधार र वृद्धि ल्याउने र यसरी संकलन गरिएको स्वच्छ र रोगमुक्त रगत सरल तरिकाबाट बिरामीहरूको उपचारार्थ उपलब्ध गराउने कार्यमा स्वयंसेवीहरू लागिपरिरहेका छन् । देशमा रगतको आवश्यकता पर्ने सबैलाई विनासोधभर्ना रगत उपलब्ध गराउन सक्ने अवस्था बनाउँदै लैजाने, समाजमा छरिएर रहेका रक्तदाता संघ संस्थाहरू र स्वयंसेवी रक्तदाताहरूमा आपसी सहयोगमा वृद्धि गर्दै लाने, रक्तदानसम्बन्धी विभिन्न उत्प्रेरणाका कार्यक्रमहरू सञ्चालन गर्ने–गराउने, रक्तदानसम्बन्धी चेतना जनमानसमा अभिवृद्धि गराउने कार्यमा रक्तदाता स्वयंसेवीहरूको संस्था ब्लोदान लागिरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक आवश्यक रगत आपूर्तिका लागि लगभग दुई सयदेखि तीन सय युनिटसम्म होल ब्लड र ५० देखि ६० युनिटसम्म रक्ततत्त्व  को आवश्यक पर्दछ । हरेक दिन रक्तदान कार्यक्रमको आयोजना हुँदैन । अहिलेको जस्तो राजधानी केन्द्रित उपचार पद्धति, उपचारमा आएको सुविधा, अस्पताल तथा नर्सिङहोम, हर्ट सेन्टर, किड्नी सेन्टरजस्ता स्वास्थ्य उपचार केन्द्रहरूको संख्यामा आएको वृद्धि तथा जनसंख्या वृद्धिका साथै दुर्घटनामा वृद्धि आदि कारणले रगतको माग बढिरहेको छ । दैनिक आवश्यकताअनुसार रगत नहुने र रक्तदान कार्यक्रम आयोजना नभएको दिनमा रगत संकलन कार्य नहुने हुँदा त्यस्ता दिनहरूमा बिरामीको आफन्त आफैँले रक्तदाताको खोजी गर्नुपर्नेसम्मको असहज र जटिल परिस्थिति दिनहुँ सामना गर्नुपरेको छ । हालको यस्तो विषम परिस्थितिमा पनि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले यस विषयमा दीर्घकालीन योजनाहरू अगाडि ल्याएको पाइँदैन । आज रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाका व्यक्तिले भोलि रगत लिन गएमा रगत नपाउने अवस्था भएकाले रक्तदान कार्यक्रमको आयोजना गर्न संघसंस्थाहरू पछि हट्ने गरेको पाइएको छ, जसको कारणले रगत आपूर्तिको समस्या झन् बढिरहेको छ । रगत सिफारिसपत्रको कारणले रक्तदाता र रक्तदान कार्यक्रम आयोजक संस्थाबीच सम्बन्ध सुमधुर रहने गरेकामा अहिले त्यस्तो छैन, जसको कारणले रगतको आवश्यक परेको बेला रक्तदाताको खोजी गर्न पनि कठिनाइ भएको छ । सरकारी तबरबाट यस्तो जटिल विषयमा नसोचिए पनि स्वयंसेवी रक्तदाताहरूले भने गम्भीर रूपमा यो समस्यालाई बुझेको छ । रगतको अभाव समाधान गर्न ब्लोदानले कार्यक्रमहरू विस्तार गरिरहेको छ । तर पनि सधँै रगतको अभाव देखिइनै रहेको छ । रगतको अभाव समाधान गर्न सरकारले विस्तृत कार्यक्रम ल्याउन जरुरी छ । केन्द्रीय रक्तसञ्चार सेवाले आफ्नो वार्षिक प्रतिवेदनमा रगत संकलन तथा आपूर्तिहरूको मात्र जानकारी गराउँदै आएको छ । सो प्रतिवेदनमा वार्षिक आम्दानी तथा खर्चको विवरण पनि पारदर्शी हुनुपर्दछ । विश्व स्वास्थ्य संगठन, युएनडिपीजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्दै आएको भए तापनि त्यसको पारदर्शिता नहुनु दु:खलाग्दो र आश्चर्यको विषय भएको छ ।
विभिन्न संक्रमित रोगहरू बढिरहेको बेला सुरक्षित रगत उपलब्ध गराउनु चूनौतीपूर्ण भएको छ । जनचेतनात्मक तथा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोतको अभावमा कार्यक्रम सञ्चालन गर्न गार्‍हो भएको छ । त्यस्तै बिदाको दिन मात्र रक्तदान कार्यक्रम राख्ने परम्परा हटाई अरू दिन पनि रक्तदान गर्ने अभियान अगाडि बढाउनुपर्ने देखिन्छ । विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कम्तीमा मुलुकको २ प्रतिशत नागरिकले मात्र रक्तदान गरेमा मागअनुसार आपूर्ति सजिलै गर्न सकिन्छ । वर्तमान अवस्थामा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको क्रियाकलाप एक विशुद्ध व्यापारिक संस्थाकोजस्तो देखिनु दु:खको कुरा हो । केन्द्रीय रक्तसञ्चार सेवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूको आर्थिक सहयोगमा रक्तदाता उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्दै आइरहेको भए तापनि कार्यक्रमको फितलो कार्यान्वयन र खर्चको अनुपातमा प्रतिफल कम भएको कारणले रगतको मागअनुसार आपूर्ति हुन सकेको छैन । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत देशको विभिन्न स्थानमा सञ्चालित रक्तसञ्चार केन्द्रहरू र केन्द्रीय रक्तसञ्चार केन्द्रको सञ्चालनमा एकरूपता नहुनु, केन्द्र र जिल्लाका कार्यक्रमहरू र सञ्चालन प्रक्रिया एक आपसमा बाझिनु, केन्द्रीय रक्तसञ्चार सेवाले केन्द्रको हैसियतमा काम गर्न नसक्नु, त्यसैगरी विभिन्न जिल्लामा सञ्चालित रक्तसञ्चार केन्द्रहरूको रक्त परीक्षण शुल्क फरक–फरक हुनु र जिल्ला शाखाको एकल निर्णयले रक्त
परीक्षण शुल्क तोक्ने कार्य हुनुलगायतका कार्य व्यवस्थित रक्तदान अभियानका तगारो हुन् ।
(लेखक ब्लड डोनर्स एसोसिएसन नेपाल काठमाडौं अध्यक्ष हुन् )

प्रतिक्रिया