युरोप यात्रामा सुकी

यंगोन, ३२  जेठ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी बुधबार युरोप भ्रमणमा निस्किएकी छन् । करिब २४ वर्षपछि उनी पहिलोपटक युरोप भ्रमणमा निस्किएकी हुन् ।
नर्वेको राजधानी ओस्लोमा हुने नोबेल पुरस्कारसम्बन्धी एक विशेष समारोहलाई सम्बोधन गर्न उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । नर्वे पुग्नुअघि उनी स्विट्जरल्यान्ड पुग्ने तय भएको छ । विश्लेषकले सुकीको भ्रमण म्यानमारको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण साबित हुने उल्लेख गरेका छन् । करिब दुई दशकदेखि विश्व समुदायबाट एक्लिएको म्यानमारलाई विश्व समुदायमा पुन: जोड्न सुकीको यो भ्रमण उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।
म्यानमारको यंगोन विमानस्थलबाट विमान छुट्नुअघि नेत्री सुकीले भनिन्, ‘युराप भ्रमणका क्रममा मैले गर्ने सबै काम म्यानमारका नागरिकका लागि हुनेछ ।’ सुकीले स्विट्जरल्यान्ड, नर्वे, बेलायत, फ्रान्स र आयरल्यान्डको पनि भ्रमण गर्ने तय भएको छ । उनको युरोप भ्रमण दुई साताको हुनेछ । उनले नर्वेको राजधानी ओस्लोमा गर्ने भाषण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
सन् १९९१ मा नोबेल शान्ति पुरस्कार विजेता सुकीले नोबेल पुरस्कारबारे सम्बोधन गर्नेछिन् । नोबेल पुरस्कार प्राप्त गरेपछि यसबारे उनले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।
आगामी साता उनले बेलायती संसद्लाई पनि सम्बोधन गर्ने समाचारमा जनाइएको छ । बेलायतीे संसद्लाई सम्बोधन गर्ने अवसर निकै कम विदेशीलाई प्राप्त हुन्छ ।
नजरबन्दमै रहेकी ६६ वर्षीया सुकीलाई म्यानमार सरकारले ८ मेमा राहदानी उपलब्ध गराएको थियो । गत महिना सुकीले नर्वे र बेलायतको भ्रमण गर्ने बताएकी थिइन् । (एएफपी)

प्रतिक्रिया