फितलो छ सहकारी अनुगमन


काठमाडौं, ३२  जेठ । सहकारी विकाससँगै यसमा देखिएको विकृतिको अनुगमन हुन सकेको छैन ।
देशभर २४ हजार सहकारी संघ/संस्था स्थापना भए पनि ती सहकारीको खासै अनुगमन हुन सकेको छैन । दुई वर्षको अवधिमा सहकारी विभागले एक सय ६ सहकारी संघ/संस्थाको अनुगमन गरेको छ । अनुगमनले सहकारीको नाममा ठगीधन्दा फस्टाएको देखिएको विभागका अधिकारीले बताए । ‘फितलो अनुगमन संयन्त्रका कारण सहकारी मापण्डविपरीत सञ्चालन भएको छ,’ सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुर्दशनप्रसाद ढकालले भने,
‘ऐन कमजोर भएका कारणले पनि यस्तो
भएको हो ।’
दक्ष जनशक्ति अभाव र फितलो ऐनका कारण सहकारी अनुगमनमा बाधा पुगेको ढकालले जानकारी दिए । ‘हालसम्म सहकारी विभागले एक सय ६ सहकारी अनुगमन गरेको छ ।’ उनका अनुसार चालु  आर्थिक वर्षमा करिब ६० ठूला सहकारीको अनुगमन भएको छ । सहकारी अनुगमन र नीति निर्माणमा मन्त्रालयले विशेष जोड दिने पनि ढकालले बताए । करिब २४ हजार सहकारी संघ/संस्था रहेकाले पनि अनुगमनमा कठिनाइ भएको सहकारी विभागले जनाएको छ ।
देशकै सबैभन्दा बढी सहकारी काठमाडौं रहे पनि अनुगमन भने खासै नभएको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । ‘जुनरूपले अनुगमन गर्नु पर्ने हो सोहीअनुसार अनुगमन हुन सकेको छैन,’ सहकारी अधिकृत शर्माले भने, ‘सहकारी बढी र अनुगमन गर्ने निकाय कमजोर छ ।’
बचत तथा ऋण सहकारीमा विभिन्न समस्या उत्पन्न हुने गरेको भए पनि आवश्यकता अनुरूप अनुगमन हुन नसकेको शर्माल बताए । ‘डिभिजन कार्यालयमा ठगीको केस आयो भने प्रहरीसमक्ष उजुरी दिने गरेका छौँ,’ शर्माले भने, ‘सबै संस्थामा गएर अनुगमन गर्ने कर्मचारी नै अभाव छ ।’
चालु आवमा काठमाडौंमा मात्रै आठवटा सहकारीका सञ्चालकले निक्षेपकर्ताको करोडौं रकम लिएर फरार भएका छन् । सहकारी विभागले खुरूखुरू दर्ता गरे पनि अनुगमन गर्न नसक्दा यस्तो समस्या आएको सहकारी आन्दोलनका अगुवा बताउँछन् । सरकारी सेवा सुविधा पाउने लोभमा परिवारका सदस्य मात्र मिलेर सहकारी दर्ता गर्ने क्रम रहेको छ । दुई सय २५ जिल्ला संघ, १४ वटा केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघमा करिब ३२ लाख सेयर सदस्य छन् ।

प्रतिक्रिया