चेकको जित, पोल्यान्डको सम्भावना कायमै


वार्सा, ३२ जेठ । आयोजक टोली पोल्यान्डले कमब्याक गर्दै १–१ को बराबरी गरेपछि युरोकप–२०१२ को क्वार्टरफाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने रुसको चाहना अधुरो रहेको छ । मंगलबार नै भएको खेलमा ग्रीसलाई २–१ ले पराजित गर्दै चेक गणतन्त्रले क्वार्टरफाइनल प्रवेशको सम्भावनालाई जीवित नै राखेको छ ।
२००४ को युरोकप सेमिफाइनलमा भएको पराजयको बदला लिनसमेत चेक सफल भएको छ । चेकलाई जित दिलाउने पिटर जिरासेक र भासलाभ पिलरले सुरुआती ६ मिनेटमै दुई गोलको अग्रता दिलाएका थिए । गोलरक्षक पिटर चेकको गल्तीको फाइदा उठाउँदै वैकल्पिक खेलाडी फानिस जेकसले ५३आंै मिनेटमा गोल गरे । उनले चेक गणतन्त्रको खेलाडीको रूपमा खेलेका चार खेलमा यो पहिलो जित हो । जर्मन प्रशिक्षक ओटो रेहगललाई पोर्चुगलका फर्नान्डो सान्टोसले प्रतिस्थापन गरेपछि खेलिएका २३ खेलमा ग्रीसको यो दोस्रो पराजय हो । २०१० मा सान्टोस ग्रीसका प्रशिक्षक बनेका थिए । रेहगलले ग्रीसलाई २००४ को युरोकपको उपाधि दिलाएका थिए । ग्रीसका अन्तिम रक्षकको जोडी नै चोट र प्रतिबन्धका कारण खेलमा उपलब्ध थिएनन् । १९ वर्षीय किरियाकोस पापाडोपुलोसलाई सानटोसले सुरुआतमा नै अवसर दिएका थिए । यसैगरी, मिडफिल्डर कोस्टास काटसाउरानिस रक्षकको रूपमा खेलेका थिए ।
पोल्यान्डसँगको खेलमा घुँडाको चोटका कारण मंगलबारको खेलको दोस्रो हाफ गुमाएका चेक गोलरक्षक पिटर चेक खेल्ने या नखेल्ने भन्नेचाहिं द्विविधा नै छ । राष्ट्रिय दिवसका दिन बराबरीमा चित्त बुझाएको रुसका लागि भने क्वार्टरफाइनल प्रवेशका लागि ग्रीससँग हुने खेलमा बराबरी नै पर्याप्त हुनेछ । २१ वर्षीय एलान जागोयेभले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएपछि रुस एक खेल बाँकी रहँदै क्वार्टरफाइनल प्रवेश गर्ने सम्भावना देखिएको थियो । तर, पोल्यान्डका कप्तान क्युवा ब्लाजकोवोसकीले ५७औं मिनेटमा सनसनीपूर्ण गोल गर्दै टोलीलाई अंक दिलाए ।
रुसका प्रशिक्षक डिक एडभोकेटले पोल्यान्डले गरेको प्रदर्शनको खुलेर प्रशंसा गर्दै आफ्नो टोली एक अंक पाउँदा पनि खुसी भएको बताएका छन् । ‘पराजयपछि बाहिरिने सम्भावना भए पनि पोल्यान्डले असाध्यै राम्रो खेल्यो,’ एडभोकेटले भने । उनले आफ्नो टोलीले राम्रो मौकाको सृजना गरे पनि रक्षापंक्तिमा केही सुधारको आवश्यकता भएको बताए । उनका समकक्षी प्रतिद्वन्द्वी पोलिस प्रशिक्षक फ्रानसिस्ज स्मुडाले आफ्नो टोलीको प्रशंसा गर्दै सबै मैत्रीपूर्ण खेलको शृंखलाले टोलीको स्तर बढेको बताए । ‘२०११ देखि हामी हरेक दिन राम्रो गर्दै आएका छांै,’ स्मुडाले रुससँगको खेलले पोल्यान्डसँगको खेलपछि आफ्नो  टोली चेकसँग विजयी हुन सक्ने आधार देखिएको दाबी गरे । चेक प्रशिक्षक माइकल बिलेकले आफ्नो टोलीले दबाबमा सामना गरेको बताउँदै मिलान बारेसलाई उपस्थित गराउने प्रशंसकको चाहना भए पनि त्यो अवस्था नरहेको जनाउँदै क्षमायाचना गरेका छन् ।
चेकलाई गोलरक्षक मात्र होइन मिडफिल्डर टोमास रोसस्कीको इन्जरीले पनि सताएको छ । चोटसँग संघर्ष गर्दै प्रतियोगितामा उपस्थित रोसस्की ग्रीससँगको खेलमा पनि पहिलो हाफमा खेलेका थिए । तिघ्राको चोट दोस्रो हाफमा बल्झेपछि उनले दोस्रो हाफमा मैदान छाडेका थिए । चेकले भने मैदान छाड्नुअघि नै अक्षम्य गल्ती गर्दै ग्रीसलाई गोलको मौका दिएका थिए ।
प्रिमियसरसिपको खेलमा इन्जरीपीडित रोसस्कीले एकैपटक युरोकप खेलेका हुन् । उनका चिकित्सकले उनका बारे बिहीबार मात्र सबै भन्न मिल्ने जनाएका छन् ।

प्रतिक्रिया