पाकिस्तान–अमेरिका वार्ता असफल

वासिंगटन, ३१ जेठ । पाकिस्तानी भूमि हुँदै अफगानिस्तानमा तैनाथ नेटो सैनिकका लागि आवश्यक पर्ने खाद्यान्न तथा तेल आपूर्ति गर्ने विषयमा पाकिस्तान र अमेरिकाबीच भएको वार्ता असफल भएको छ । वार्ता सफल नभएपछि अमेरिकाले आफ्नो वार्ताटोलीलाई फिर्ता बोलाएको छ ।
गत वर्षको नोभेम्बर महिनामा नेटो सैनिकले अफगानिस्तानबाट पाकिस्तानी भूमिमाथि अन्तरसीमा हवाई आक्रमण गर्दा २४ जना पाकिस्तानी सैनिकको मृत्यु भएपछि पाकिस्तानले नेटो सैनिकका लागि आफ्नो भूमिमार्फत हुने आपूर्तिमा रोक लगाएको थियो । केही सातअघि अमेरिकाको सिकागो सहरमा नेटो शिखर सम्मेलन हुनुअघि पाकिस्तानले नेटोका लागि आपूर्ति मार्ग खुला गर्ने सैद्धान्तिक सहमति गरेको थियो । यसै विषयमा दुई देशबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि अमेरिकाले वार्ताटोली फिर्ता बोलाएको हो ।
अफगानिस्तानमा तैनाथ नेटो सैनिकका लागि आवश्यक अधिकांश सामग्री पाकिस्तानी मार्गमाफर्त उपलब्ध गराइँदै आइएको थियो । पाकिस्तानले मार्ग बन्द गरिदिएपछि मार्ग खुलाउन अमेरिकाले पाकिस्तानसँग बारम्बार आग्रह गरेको थियो ।
करिब ६ सातादेखि दुई देशका अधिकारीबीच मार्ग खुलाउने विषयमा वार्ता जारी थियो । पाकिस्तान पुगेका अमेरिकी वार्ताकारहरूले आपूर्तिमार्ग खुलाउनेबारे अनेक प्रयत्न गर्दा पनि उनीहरू असफल भएको समाचारमा जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जर्ज लिटिलले वार्ता सफल नभएको पुष्टि गरे । अर्काे वार्ताको मिति पनि तय हुन नसकेको जानकारी उनले दिए । ‘हाम्रो वार्ताटोलीलाई हामीले फिर्ता गरिसकेका छौँ तर उनीहरूलाई सदाका लागि बोलाइएको भने होइन । आगामी केही दिनमा पुन: वार्ता हुनसक्छ तर यसको मिति भने तोकिएको छैन ।’ आगामी दिनमा वार्ताको प्रयास जारी राख्ने जानकारीसमेत उनले दिए ।
यसअघि पाकिस्तानले नेटोका लागि आपूर्ति मार्ग खुला गरेबापत अमेरिकाले पाकिस्तानी भूमिमा ड्रोन आक्रमण बन्द गर्नुपर्ने सर्त राखेको थियो । पाकिस्तानले नाका खुला गर्ने सैद्धान्तिक सहमति गरे पनि अमेरिकाले पाकिस्तानी भूमिमा ड्रोन आक्रमणको शृंखला बढाएपछि दुई देशबीच तनाब बढेको थियो ।
सोमबार मात्रै पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीले अमेरिकामा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा राजनीतिक लाभ हासिल गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति बाराक ओबामाले ड्रोन आक्रमणको सिलसिला बढाएको आरोप लगाएका थिए । त्यसैगरी, पाकिस्तानी सेनाप्रमुख अस्फक पर्वेज कायानीले पाकिस्तान भ्रमणमा रहेका अमेरिकी उपसहायक प्रतिरक्षामन्त्री पिटर लेभोयसँग भेट गर्न अस्वीकार गरेर अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया