यौन व्यवसाय गर्न नमानेपछि यातना

सिन्धुपाल्चोक, ३१ जेठ । चीनको खासास्थित जगंलमा अलपत्र परेका दुइ नेपाली चेलीलाई माइती नेपाल कोदारीले उद्धार गरेको छ ।
खासा बजारमा होटल तथा रेष्टुरेण्टमा यौन व्यवसायका लागि लगिएका दुई नेपाली चेली भागेर जंगलमा लुकेर वसेको अवस्थामा मंगलबार प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।
काठमाडौ तिलगंगा घर बताउने १७ वर्षीया गीता (नाम परिबर्तन) र सर्लाही घर भएकी १६ बर्षीया रीता (नाम परिबर्तन) लाई ५ महिना अघि मानव तस्करी असिम तामाङले खासा पुराएका थिए । खासाको व्यापारिक मेसमा मासिक १० हजार रुपियाँको जागिर मिलाईदिने भन्दै असिमले उनीहरुलाई काठमाडौंवाट ल्याएको पीडित गीताले बताईन् ।
‘मेरोे असिमकी पत्नीसँग राम्रो सम्वन्ध थियो,’ उनले भनिन्, ‘राम्रो जागिर लागाईदिन्छु भनेपछि खासा गएँ ।’
गीताले टेलिफोन सम्पर्कमा भनिन्, ‘त्याहाँ गएपछि मात्रै थाहा भयो, मलाई त बेच्न पो लगेको रहेछ ।’
खासा लगेपछि मेसमा काम नलगाई होटलमा यौन कार्य गर्न लगाएपछि दुवै जना भागेका थिए ।
होटलमा आफूलाई अपरिचित व्यक्तिहरुले जबरजस्ती गर्ने गरेको उनीहरुले वताएका छन् ।
‘पैसा पनि दिदैनथ्यो, कसै कसैले त उल्टो कुटेर हिंड्थें,’ उनीहरुले दुःखेसो पोखे ।
काठमाडौंको एक गलैचा कारखानामा काम गर्दै गरेकी रीतालाई भने आफ्नै एक जना साथीले असिमसँग चिनाएकी थिइन् । उनले साथीको नाम भने भन्न चाहिनन् ।
चिनजानपछि असिमले रीतालाई ब्यापारिक मेसमा मासिक १० हजार रुपियाँको खाना वनाउने काम लागाईदिने भन्दै खासा पुरायाएको रीताले बताईन् ।
खासामा राम्रो पैसा कमाउने भन्दै दुवैलाई जंगलको बाटो हुँदै त्याहाँ पुरायाईएको थियो ।
खासामा रीतालाई पनि भनेको काम नदिएर यौन पेशामा लगाएको र भनेको नमाने गालिगलौज र कुटपिट गर्ने गरेकोे उनको भनाई छ ।
पीडित चेलीहरुका अनुसार खासा पुराएपछि दुवैको ‘पास’ र ‘नागरिकता’ समेत होटवालाले खोसेर राखेको छ ।
जर्बजस्ती यौनकार्यमा लगाएपछि दुवै जनाको सल्लाहमा होटलबाट भागेर नेपाल आउन खोजेपनि बाटो नदेखेर दुई दिन जंगलमा नै बसेको युवतीहरुले बताएका छन् ।
नेपाली साना व्यापारीले उनीहरुलाई खासाको जंगलमा अलपत्र अवस्थामा देखेपछि माइती नेपाल कोदारीलाई खवर गरेका थिए ।
माइती नेपालले, सीमा प्रहरी चौकी लार्चा, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेको थियो ।
उद्धार गरिएका दुवैलाई माइती नेपाल केन्द्रीय कार्यालय, काठमाडौंको संरक्षणमा राखिएको माईती नेपाल कोदारीका फिल्ड संयोजक सहदेव तिवारीले जानकारी दिए ।
राजधानीमा ज्यालादारी र विभिन्न होटलहरुमा काम गर्ने युवतीहरुलाई खासामा राम्रो काम लगाउने भन्दै तस्करहरुले खासामा बिक्री गर्ने गरेका छन् ।
अन्य देशमा बिक्री गर्न झन्झटिलो हुने भएपछि मानव तस्करहरुका लागि खासा अहिले चेलीवेटी बेचबिखनको उपयुक्त गन्तव्य भएको छ ।
खासामा रहेका चिनियाँ रोष्टुरेन्टहरुमा करिब एक हजार महिलाहरु यौनकार्यमा संलग्न छन् ।
खासामा नोपाली चेली लैजानका लागि अध्यायगमन कार्यालयका कर्मचारीहरुको समेत मिलेमतो हुने गरेको स्रोतको दाबी छ ।
अध्यायगमन कार्यालयले दिने एक दिनको पासमा नेपाली चेलीहरुलाई खासा लैजाने गरेका छन् । माईती नेपाल कोदारीका अनुसार एक दिने पास बनाएर खासा पुराएपछि तस्करहरुले नेपाली चेलीहरुलाई उतै बन्धक बनाउने गरेका छन् ।
तातोपानी हँुदै खासामा नेपाली चेलीको बेचबिखन बढ्न थालेपछि छ महिनाअघि माइती नेपालले कोदारीमा कार्यालय स्थापना गरेको थियो ।
खासा लैजादै गरेका २० नेपाली चेलीहरुलाई नेपाल चीन सीमाको मितेरी पुलबाट फर्काएको फिल्ड संयोजक पुरीले जानकारी दिए ।

प्रतिक्रिया