चेलालाई चलचित्र

काठमाडौं, ३१ जेठ । १२ वर्षअगाडि निर्माण तयारी गरेर पनि अड्किएको चलचित्र सिमलको फूल अब भने बन्ने पक्कापक्की भएको छ । उति बेला निर्देशक प्रताप सुब्बाले निर्देशनको तयारी गरेको यो चलचित्र अब उनकै चेला टासी लामाले निर्देशन गर्ने भएका छन् । निर्देशक सुब्बाकै पटकथा–संवाद रहेको स्क्रिप्टलाई अहिलेको समय सुहाउँदो बनाउन केही परिवर्तन गरिएको टासीले बताए । ‘बाह्र वर्षअघिको समाजलाई हेरेर लेखिएको स्क्रिप्ट केही मोडिफाइ गरिएको छ,’ उनले भने । चलचित्रसम्बन्धी अध्ययनका लागि लामो समय अमेरिकामा बसेर फर्किएका टासी यसैमार्फत नेपाली चलचित्र निर्देशनमा प्रवेश गर्न लागेका हुन् ।

‘गुरुको लेखन रहेको चलचित्रबाटै आफ्नो निर्देशनयात्रा सुरु गरौँ भनेरे सिमलको फूल छानेको हुँ,’ लामाले भने, ‘गुरुप्रति सम्मान व्यक्त गर्न उहाँको अधुरो सपना पूरा गर्ने सोच छ ।’ पुरानो समयलाई लक्षित कथावस्तु रहे पनि यसलाई समयअनुसार मोडिफाइ गरेर अहिलेको परिवेशअनुरूप निर्माण गर्ने उनले सुनाए । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अनु शाहले यसमा लगानी गर्ने भएकी छन् । अहिले नेपाली चलचित्र ट्रयाक छोडेर निर्माण हुने क्रम बढिरहेकाले आफूले मेन ट्रयाकको चलचित्र निर्माण गर्न यो चलचित्र रोजको बताइन् । भनिन्, ‘यो कथा राम्रो छ, अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’ विगतमा उपयुक्त कलाकार नपाएर बन्न नसकेको भनिएको यो चलचित्रमा अहिले पनि अन्य पक्ष फाइनल भइसके पनि कलाकार भने छनोट भइसकेका छैनन् । ‘तर, यसपालि हामीले कलाकार मेन्टल्ली फाइनल गरिसकेका छौँ, अझ राम्रो कोही पाए चेन्ज गरौँला भनेर सार्वजनिक नगरेका हौँ’, निर्मात्री शाहले भनिन् ।
परालको आगो, भीष्मप्रतिज्ञा, चट्टानजस्ता सफल चलचित्र निर्देशन गरेका प्रताप सुब्बाले सिमलको फूललाई आफ्नो ड्रिम प्रोजेक्ट बताएका छन् । त्यसो भए उनी आपैँmले किन निर्देशन नगरेका त यो चलचित्र ? ‘टासीले यो कथामा न्याय गर्न सक्ने देखेर उसैलाई जिम्मा लगाएको हुँ,’ सुब्बाले भने, ‘निर्देशन उसले गर्ने भए पनि लेखन सबै मेरो नै हो ।’ आफू अहिले अर्कै चलचित्रको तयारीमा लागेको जानकारी दिँदै उनले सिमलको फूलले अहिलेलाई पनि सान्दर्भिक लाग्ने कथावस्तु बोकेको उल्लेख गरे । नोबेल फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र सम्पूर्ण तयारी सकेर केही दिनमै छायांकनमा निस्कने सुरसारमा रहेको निर्माण समूहले बतायो । चलचित्र कर्णाली, सोलुखुम्बु, काठमाडौं र भारतका विभिन्न सहरमा छायांकन हुने भएको छ ।

प्रतिक्रिया