निकुञ्ज सुरक्षामा ड्रोनको प्रयोग

चितवन, ३० जेठ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुको संरक्षणका लागि अत्याधुनिक ड्रोनको प्रयोग हुने भएको छ ।
निकुञ्जभित्र अवैध रुपमा हुने वन्यजन्तु तस्करी रोक्न ब्याट्रीको माध्यमबाट चल्ने मानव रहित सानो विमान जस्तै आकाशमा उड्ने उपकरणको निकुञ्जले प्रयोग गर्न लागेको हो ।
सोही क्रममा आज ड्रोनको सफल परीक्षण समेत गरिएको छ । ड्रोनबाट सुरक्षा प्रणाली अपनाउदा आकाशबाट जमिनमा फोटो तथा भिडियो खिच्न सकिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीले जानकारी दिए ।
ईन्डोनेसियाका प्राध्यापक लियान र प्राध्यापक सेर्जले सो उपकरणको परीक्षण गरेको निकुञ्ज प्रमुख कार्कीले बताए ।
उक्त उपकरणको सञ्चालन प्रकृया तथा प्राविधिक पक्षका बारेमा निकुञ्जका कर्मचारीले तालिम लिएपछि त्यसको प्रयोग हुने कार्कीको भनाई छ ।
निकुञ्ज दुर्लभ एकसिंगे गैंडाको प्रमुख वासस्थान हो । दुर्लभ पाटेबाघ लगायतका जनावर पनि निकुञ्जमा रहेका छन् ।
निकुञ्जको संरक्षणका लागि उक्त प्रविधी प्रयोग पछि चोरी शिकार नियन्त्रणमा सहयोग पुग्ने निकुञ्जले आशा लिएको छ । (फाईल तस्बिर)

प्रतिक्रिया