भाइरल ज्वरोको सङ्क्रमण

इलाम, ३० जेठ । इलामको जोगमाईमा भाईरल ज्वरोको सङ्क्रमण फैलिएको छ ।
एक सातादेखि फैलिएको भाईरल ज्वरोका कारण जोगमाई–२ र ३ का करिब डेढ सय बिरामी परेका छन् । प्रत्येक घरका एकदेखि दुईजना बिरामी परेको स्थानीय जीतबहादुर खड्काले जानकारी दिए ।
‘सबैलाई ज्वरो आउने, टाउको दुख्ने समस्या छ’ उनले भने, ‘स्थानीय उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी छैनन्, अन्यत्रबाट ल्याउनुपर्ने भएकाले स्थानीयलाई अझ समस्या भएको छ ।’
उपस्वास्थ्य चौकीमा अहेब समेत नभएकाले अन्य स्वास्थ्यकर्मी सहित नयाँ बजारबाट बिरामी जाँच गर्न अहेब रतन राजवंशी लगायतले स्वास्थ्य शिविर स्थापना गरी जाँच गरिरहेको खड्काले बताए ।
उपचारमा संलग्न अहेब राजवंशीका अनुसार बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने लगायतका लक्षणहरु देखिएका छन् ।
‘यो रोग एक व्यक्तिबाट अर्कोमा अत्यन्त छिटो सर्छ’ अहेब राजवंशीले भने, ‘भाईरल इन्फेक्सन भयो भने निमोनिया, पिनास, टाईफाईट लगायतका रोग हुन्छ ।’
जोगमाई उपस्वास्थ्य चौकीमा तीन महिना यता अहेबको उपस्थिति छैन । तत्कालिन अहेब देवलाल मण्डल सरुवा भई अन्यत्र गएपछि नवनियुक्त अहेब परमेश्वर यादव बिदा लिएर घरमा बसेका छन् ।
स्वास्थ्यकर्मी नहुँदा बिरामीले अनुमानका भरमा स्थानीय जडीबुटीको प्रयोग गरिरहेकाले थप समस्या भएको स्थानीय शिक्षिका सुकमाया राईले बताइन् ।
एक सातादेखि फैलिएको संक्रमण दिनदिनै अन्य वडातिर समेत फैलिने अवस्थामा रहेकाले स्थानीय त्रसित भएका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालय इलामले एच.ए. गणेश सम्बाहाम्फेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली र औषधि पाठाईसकिएको जनाएको छ ।

प्रतिक्रिया