सारापोभालाई जितको अर्थ

पेरिस, ३० जेठ । मारिया सारापोभाले प्रेmन्च ओपन जितेर प्राप्त गरेको सफलता उनले पहिलो ग्रान्डस्लामका रूपमा सन् २००४ मा जितेको विम्बल्डनभन्दा महत्त्वपूर्ण भएको बताएकी छन् ।  महिला टेनिसमा थोरै सफल खेलाडीमध्येकी एक यी रसियन सुन्दरीले शनिबार इटालीकी सारा एरानीलाई सोझो सेटमा हराएर फ्रेन्च ओपन जितेकी थिइन् र यसले उनको सबै ग्रान्डस्लाम प्रतियोगिता जित्ने धोको पूरा भएको थियो ।
अर्थात्, २५ वर्षीया सारापोभाका लागि यो पहिलो प्रेmन्च ओपन उपाधि थियो र समग्रमा चौथो ग्रान्डस्लाम उपाधि । यसअघि उनले सन् २००६ मा युएस ओपन र २००८ मा अस्ट्रेलियन ओपन पनि जितेकी थिइन् । काँधमा रहेका चोटका कारण केही समययता सारापोभा खेलजीवनकै संकटकालीन मोडबाट गुज्रिरेहकी थिइन् ।
‘यो क्षण एकदम ‘युनिक’ लागिरहेको छ । सबै ग्रान्डस्लाम उपाधि जित्छु भनेर मैले कहिल्यै सोचेकी थिइन ।’ सारापोभाले भनिन्, ‘जब मैले १७ वर्षको उमेरमा विम्बल्डन जितें, मलाई लागेको थियो यो नै मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो । तर आज त्यो क्षणभन्दा पनि बढी खुसी लागिरहेको छ ।’ सन् २००८ को अस्ट्रेलियन ओपन जितेपछि सारापोभा काँधको चोटका कारण करिब १० महिनाभन्दा बढी समय कोर्टबाहिर रहनुपरेको थियो । यसैकारण उनी विश्व नम्बर–१ बाट वरीयताक्रममा १२७आंै स्थानसम्म पुगिन् र महिला टेनिसमा केही गुमनाम रहिन् ।
गत वर्षको विम्बल्डनमा फाइनलसम्म पुगे पनि पेट्रा केभिटोभासँग उपाधि भिडन्तमा पराजित भएकी उनी यस वर्षको अस्ट्रेलियन ओपनको पनि फाइनलमा पुगेकी थिइन् र पुन: उपाधि भिडन्तका क्रममा निराश भइन् । तर यसपटक उनलाई हराउन खेलाडी भिक्टोरिया अजारेन्का थिइन् । अस्ट्रेलियन ओपन जितेर अजारेन्का विश्व नम्बर–१ भएकी थिइन् भने सारापोभा पनि प्रेmन्च ओपन जितेर वरीयताक्रमको शीर्षस्थानमा पुगिन् । यस वर्ष स्टुटगार्ट र रोममा उपाधि जितेर पाएको सफलताले सारापोभालाई प्रेmन्च ओपन जित्न सक्ने महिला खेलाडीमा आँकलन गरिएको थियो । विलियम्स दिदी बहिनीको चोट, किम क्लाइस्टर्सको सन्न्यास लिने समय र क्यारोलिना बोज्निएकी र भिक्टोरिया अजारेन्काको अस्थिर प्रदर्शनका कारण सारापोभा अझै आफू केही ग्रान्डस्लाम उपाधि थप्ने जिकिर गर्छिन् ।
‘लामो यात्रा पार गरिसकेकी छु । धेरै सानो उमेरदेखि खेल्न थालें । तर यात्रा अझै पूरा भएको छैन, गन्तव्य अझै टाढै छ,’ उनले अगाडि थपिन्, ‘मैले अझै धेरै गर्न बाँकी छ । मैले जहिले पनि आफ्नै प्रदर्शनमाथि विश्वास गरें । त्यसैले अझै सबै कोर्टमा म सफल हुन सक्छु जस्तो लाग्छ ।’ आफूलाई मानिसले विश्वास नगर्दा आफैले आफैलाई विश्वास गरेर मनोबल बलियो बनाएको उनले अनुभव सुनाइन् । (एजेन्सी)

प्रतिक्रिया