परमाणुरहित क्षेप्यास्त्र प्रवद्र्धन गर्न चीन अग्रसर

बेइजिङ, ३० जेठ । आफ्ना शस्त्रागारमा रहेका परमाणुरहित क्षेप्यास्त्रहरूको क्षमाता प्रवद्र्धन गर्न चीन अग्रसर भएको चीनका एक वरिष्ठ सैन्य अधिकारीले जनाएका छन् । दक्षिणपूर्वी एसियाका छिमेकी राष्ट्र र भारतसहित अमेरिकासँग सैन्य तनाब बढिरहेका बेला क्षेप्यास्त्रको क्षमता प्रवद्र्धन गर्न चीन अग्रसर भएको ती अधिकारीले स्वीकार गरेका हुन् ।
अमेरिकाले आफ्नो नौसैनिक सामथ्र्य एसिया–प्रशान्त क्षेत्रमा लक्षित गर्ने जनाएपछि यस्तो समाचार सार्वजनिक भएको हो । गत साता अमेरिकी प्रतिरक्षामन्त्री लियोन पनेटाले कुल नौसैनिक क्षमताको करिब ६० प्रतिशत सामथ्र्य एसिया–प्रशन्त क्षेत्रमा तैनाथ गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै उनले दक्षिणपूर्वी एसियाली राष्ट्र फिलिपिन्स र दक्षिण एसियाली राष्ट्र भारत भ्रमण गरी दुवै देशसँग रणनीतिक तथा फौजीसम्बन्ध विस्तार गर्न अमेरिका आतुर रहेको बताएका थिए । सुरक्षासँग सम्बन्धित विविध विषयमा चीनसँग फरक मत राख्ने राष्ट्रसँग अमेरिकाले बढाउन खोजेको सैन्य हिमचिम चीनविरुद्ध लक्षित रहेको विश्लेषण भइरहेका बेला चीनले क्षेप्यास्त्रका क्षमता प्रवद्र्धन गर्ने तयारी गरेको सार्वजनिक भएको हो ।
चिनियाँ जनमुक्ति सेनाको सेकेन्ड आर्टिलरी फोर्सका कमान्डर तान विहोङले राज्यसञ्चालित पत्रिका ‘चाइना डेली’लाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् । विहोङलाई उद्धृत गर्दै चाइना डेलीले मंगलबार लेखेको छ, ‘आधुनिक युद्धमा विजय हात पार्ने भनेको परमाणुरहित क्षेप्यास्त्रबाटै हो । त्यसैले हामीले यस्ता क्षेप्यास्त्रलाई तत्पर अवस्थामा राख्नुपर्छ । आक्रमण भए तुरुन्त जवाफ फर्काउन, लक्षित ठाउँमा सही निसाना साध्न र यसलाई पूरै ध्वस्त गराउन परमाणुरहित क्षेप्यास्त्र आवश्यक हुन्छ ।’ विहोङले चीनको परमाणु र परमाणुरहित क्षेप्यास्त्रसम्बन्धी मामिला हेर्दै आएका छन् । चिनियाँ सेनाका चार विभागमध्ये क्षेप्यास्त्रसम्बन्धी विभाग रहस्यमय मानिन्छ । यस विभागका अधिकारीले अंग्रेजी अखबारलाई अन्तर्वार्ता दिएको यो पहिलोपटक हो । अमेरिकासँग चीनको नौसैनिक होडबाजी चलिरहेका बेला राज्यनियन्त्रित पत्रिकामा प्रकाशित विहोङको अन्तवार्तालाई अत्यन्त महत्त्वका साथ हेरिएको छ ।
अन्तर्वार्तामा विहोङले चिनियाँ सेनाले नयाँ क्षेप्यास्त्र प्रणाली विकास गरिएको जानकारी दिए । ‘नयाँ प्रणालीले एकै समयमा धेरै प्रक्षेपणको व्यवस्थापन गर्न सक्नेछ । विगतमा यस्तो असम्भव थियो,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया