सञ्चिताको भान्सामा निखिलको सरसफाइ


नायिका सञ्चिता लुइँटेललाई हिजोआज सुटिङको चटारो छैन । नायक निखिल उप्रेतीसँग बिहे गरेर आमा बनेकी उनी प्राय: दिनभरि घरमै बिताउँछिन्, भान्सामा खटिइरहेकी हुन्छिन् । त्यसो त उनलाई अर्कोखालको चटारो थपिएको छ पछिल्लो समयमा । दसमहिने छोराको लालनपालन त गर्नुछ नै, गर्भमा रहेको बच्चालाई पनि ध्यान दिनुछ । पति निखिल मुम्बईतिर छन् । त्यसैले अहिले छोरा नीलेश र आफ्ना लागि भान्सामा सीप खर्चिइरहेकी हुन्छिन् ।
पेटमा बच्चा रहेकोले डाक्टरले आराम गर्न भनेका छन् उनलाई । त्यसैले अहिले भान्सामा कमै जान्छिन् । बिहेपूर्वचाहिँ उनी भान्सामा पसेका दिन विरलै थिए रे । ‘त्यतिबेला रुचि थिएन, भान्सामा पस्नै मन लाग्दैनथ्यो,’ उनले सुनाइन्, ‘अहिले त छोराकै कारण पनि भान्साले तानिहाल्छ ।’ भान्छामा उनीहरूको रुटिन रहेछ । बिहानको पालो जेठानी दिदीको, साँझको जिम्मेवारीचाहिँ सञ्चिताको ।
भान्टा र करेलाको तरकारी सञ्चितालाई पटक्कै मन पर्दोरहेनछ । तर छोरा जन्मिएपछि भने आफ्नो रोजाइभन्दा पनि छोराको फाइदामा ध्यान दिन्छिन् रे † ‘यो खाँदा छोरालाई फाइदा हुन्छ भन्ने लाग्यो भने मनै नपरेको खाना पनि खाइदिन्छु,’ उनले सुनाइन् । निखिल भने अन्डा मन पराउँदैनन् रे † ‘तर उहाँलाई मैले पकाएको तरकारीचाहिँ साह्रै मन पर्छ,’ सञ्चिताले भनिन् । दम्पती नै शाकाहारी हुन्, त्यसैले सादा खाना पाक्छ उनीहरूको भान्सामा । निखिल खानमा त्यति सौखिन रहेनछन्, त्यसैले पनि घर आएका बखत धेरैथरि परिकार जुटाउनुपर्ने झन्झट उनलाई रहेनछ, ‘उहाँ त धेरैथरि खानेकुरा नपकाऊ है, नत्र म के खाने भनेर अलमलिन्छु भन्नुहुन्छ ।’
दाल उनको भान्साको अनिवार्य परिकार रहेछ, त्यो पनि फ्रेस बिहान–बेलुकै पकाउनुपर्ने । फ्रिजमा राखेको पनि हुँदैन । उनको मन पर्ने खाना हो रे दाल । अचारमा चाहिँ उतिसाह्रो रुचि राख्दिरहिनछन् । पति निखिलचाहिँ अचार मन पराउँछन्, त्यो पनि तिलको धूलोमा खुर्सानी र कागती राखेर बनाएको ।
सञ्चितालाई आफूले पकाइरहँदा अरू कसैले आएर भान्सामा डिस्टर्ब गरेको मन पर्दोरहेनछ । तरकारी काटकुट गर्दासम्म अरूले सघाउन ठीकै मान्छिन् । ‘भान्सा प्राय: सानै हुन्छ, एकजना नै काफी हुन्छ,’ उनले आफ्नो भान्से अनुभव सुनाइन्, ‘भान्सामा धेरै भिडभाड हुनु राम्रो होइन ।’
सञ्चितालाई आफ्नी आमा र बहिनीले पकाएको खाना असाध्यै मीठो लाग्छ रे † पति निखिलचाहिँ भान्से कलामा कत्तिको सिपालु होलान् त ? उनलै भनिन्, ‘उहाँले पकाएको चिया र खिर मलाई साह्रै मीठो लाग्छ, उहाँको फेबरेट परिकार पनि खिर नै हो ।’ सँगै हुँदा सञ्चितालाई सधैँ बेड–टी तयार पारेर ल्याउँछन् रे उनी † तर, यी एक्सन हिरो श्रीमतीकै अगाडि उनले बनाएको खानाको प्रशंसा कहिल्यै गर्दारहेनछन् । अरूका अगाडि तथा ससुराली जाँदाचाहिँ सञ्चिताको भान्से सीपको थोरबहुत तारिफ गरेका हुन्छन् रे †
भान्साको सरसफाइ तथा आउन सक्ने सानातिना समस्याप्रति पनि केयरफुल छु भन्छिन् सञ्चिता । त्यसैले खाना डढ्ने, दूध उम्लेर खेर जाने हुँदैन रे † भान्सामा रहँदा ध्यान पूरै त्यहीँ एकत्रित गर्छिन् । सजावटभन्दा पनि सरसफाइलाई बढी प्राथमिकता दिँदिरहिछन् । उनी भन्छिन्, ‘फोहोरको व्यवस्थापनदेखि खाना राख्ने स्थानको सही छनोटले भान्सा सफा राख्न मद्दत पुर्‍याउँछ । साह्रै भद्दाभन्दा पनि सफा अनि चिटिक्क परेको भान्सामा अटाउने सामान बढी खोज्छु म त ।’ अहिलेचाहिँ सानो छोरालाई लिटो बनाउन तथा दूध तताउन भान्सामा निकै गइरहनुपर्छ उनले ।
सरसफाइका मामिलामा त निखिल अघि छन् रे उनीभन्दा पनि । भान्सा फोहोर बनाएर छोड्लान् भन्ने कुनै चिन्ता रहेनछ । पकाउने काम सकेपछि भान्सा टिलिक्क पार्ने उनै एक्सन हिरो रहेछन्, घर बसेका बखत । भान्साको सामान सञ्चिता सधैँ एउटै पसलबाट किन्दिरहिछन् । तरकारी प्रेmस मात्रै किन्नुपर्छ भन्ने उनको ध्याउन्न हुन्छ । ‘ताजा नै खोज्छु म त,’ उनले सुनाइन्, ‘घुम्रिएको काँक्रो छान्छु, यस्तोमा कीटनाशक औषधि प्रयोग गरिएको हुँदैन ।’ फेरि नायिका न परिन्, सबैले चिनिहाल्छन् । तरकारी पसलेले नै यो बासी हो, नलैजानुस् भन्छन् रे † भान्साका लागि चाहिने तेलचाहिँ सर्लाहीस्थित घरबाट आउँदोरहेछ । दैनिक सिलौटामा पिनेको मसला खाने चलन उनको भान्सामा रहेनछ, झन्झटिलो र नभ्याइने कारणले गर्दा । त्यसैले आफैले मिलमा लगेर एकैचोटि पिनेर ल्याउँछिन् ।
कहिलेकाहीँ साथीहरूले चाइनिज, इटालियनलगायत एक्स्ट्रा खाना बनाएर खाएको चर्चा गर्दा उनलाई पनि ती खाना बनाउन मन लाग्छ । तर, जान्दिरहिनछन् । उनलाई पकाउन आउने भनेको नेपाली खाना मात्रै रहेछ । अलि फुर्सद भएका बेला आलुका परिकार बनाउने सोच्दिरहिछन्, त्यसमा पनि साँधेको परिकारमा उनको मन जान्छ रे † ‘भोगटेको सिजनमा साँधेको भोगटे नखाई चित्तै बुझ्दैन,’ उनले भनिन् । – चमिना

प्रतिक्रिया