भूमाफिया पक्राउ

वीरगन्ज, ३० जेठ । बारा प्रहरीले भूमाफिया गिरोहका नाइकेलाई पक्राउ गरेको छ । सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सिमराले दीनदयाल यादवलाई पक्रेको हो । बैरिया–८ का ३५ वर्षीय यादवलाई सोमबार जितपुर बजारबाट पक्राउ गरिएको इन्स्पेक्टर केपी शर्माले बताए ।
प्रहरीले यादवको साथबाट खाली लाजपुर्जा चार थान, ११ वटा गाविस कार्यालयको लेटरप्याड, जग्गा रजिस्ट्रेसन फारम सात थान, भूमिसुधार कार्यालय र मालपोत कार्यालयको छाप, नायब सुब्बाको छापलगायत सामग्री बरामद गरेको छ । यादवको साथबाट इनर्वासीरा, जितपुर, छातापिपरा, डुमरवाना, अमलेखगन्ज, पिपरा सिमरालगायत गाविस कार्यालयका लेटरप्याडहरू बरामद भएको इन्स्पेक्टर शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार यादवले डेढ वर्षदेखि किर्ते लालपुर्जा बनाएर जग्गा खरिदबिक्री गर्दै आएका थिए । प्रहरीसँगको बयानमा यादवले गिरोहमा आफूसँगै अरू चार संलग्न रहेको बताएका छन् । ‘हामी अनुसन्धानकै क्रममा छौँ,’ इन्स्पेक्टर शर्माले भने, ‘माफिया गिरोहका अरू पनि समात्ने योजनामा छौँ ।’ यादवको गिरोहमा भूमिसुधार र मालपोत कार्यालयका कर्मचारीको पनि संलग्नता रहेको प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया