इलाममा डेढ महिने शिशुको हत्या

इलाम, २९ जेठ । इलामको सोयाकमा डेढ महिने शिशुको हत्या भएको छ । घरपरिवारमा कोही नभएको समयमा सोयाक–७ का नरेन्द्र पौडेलको डेढ महिने छोरी हिमा पौडेलको हत्या भएको हो ।
छोरीलाई कोक्रामा सुताएर करेसाबारीमा सागसब्जी टिप्न गएकी आमा बालिका पौडेल फर्कदा कोक्रामा बच्चा नभएपछि रोइकराई गरेकी थिइन् ।
घरमा रुवाबासी चलेको थाहा पाएपछि जम्मा भएका परिवारका सदस्य र छरछिमेकले खोजी गर्दा नजिकै रहेको पानीको ड्रमभित्र शिशुलाई हत्या गरी फालिएको अवस्थामा फेला पारेका थिए । परिवारका अन्य सदस्यहरु भने काममा गएका थिए ।
घटनापछि शिशुकोआमा बालिका बेहोस भएकी थिईन् । उनलाई अहिले उपचारका लागि झापाको कन्काई हस्पिटलमा लगिएको परिवारजनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका निरीक्षक गणेश बाँस्तोलाले शिशुको हत्या कस्ले र किन ग¥यो भन्ने बारेमा हालसम्म खुल्न नसकेको बताए । ‘घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको छ’ उनले भने, ‘थप अनुसन्धानका लागि एक टोली घटनास्थल तर्फ गएको ।’ मृतक शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।
यसैगरी इलामको चुलाचुलीमा माछा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । चुलाचुली–६ का डेढ वर्षीय बालक कञ्चन लिम्बूको खेल्ने क्रममा घर नजिकैको माछापोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया