नौ महिनापछि देउवा पक्ष केन्द्रीय बैठकमा सहभागी हुँदै


काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरू नौ महिनापछि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । सातवटा भ्रातृसंगठन विघटन गर्ने केन्द्रीय समितिको निर्णयपछि केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका देउवा पक्ष विवाद समाधान हुने भएपछि बैठकमा सहभागी हुने भएका हुन् ।
सभापति सुशील कोइराला नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको केन्द्रीय समिति पुनर्गठन गर्न तयार भएपछि देउवा पक्ष बैठकमा सहभागी हुन सहमत भएको हो । ३ असोजमा नेविसंघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति संघ, प्रजातान्त्रिक सेनानी संघ, नेपाल मगर संघ र नेपाल किसान संघ विघटनपछि देउवा पक्षले बैठक बहिष्कार गर्दै आएको थियो ।
तीनवटा भ्रातृसंगठनको केन्द्रीय समितिमा देउवा पक्षका केन्द्रीय सदस्य थप गर्न सभापति कोइराला सहमत भएका छन् । स्रोतका अनुसार विवाद समाधानका लागि कोइरालाले महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य चन्द्र भण्डारीमार्फत नेविसंघमा २०, महिला संघ र तरुण दलमा देउवा पक्षका १०/१० केन्द्रीय सदस्य थप्ने प्रस्ताव पठाएका थिए ।
कोइरालाको प्रस्तावसहित आइतबार साँझ सिटौला र भण्डारी देउवा निवास पुगेका थिए । विवाद सुल्झाएर अघि बढ्न सकारात्मक देखिएका देउवाले सोमबार बिहान साढे ८ बजे आफ्नै निवासमा आफूनिकट नेताहरूको बैठक बोलाएका छन् । देउवाले आफूनिकट केन्द्रीय सदस्य र नेताहरूको रायपछि कोइरालासमक्ष प्रस्तावको जवाफसहित थप गर्ने व्यक्तिका नाम सिफारिस गर्ने स्रोतको दाबी छ । सोहीअनुसार सोमबार नै नेविसंघ, महिला संघ र तरुण दल पुनर्गठन गर्ने सहमति भएको छ ।
देउवानिकट नेता विमलेन्द्र निधिले आफूहरू आन्तरिक विवाद समाधान गरेर अघि बढ्न तयार रहेको बताए । ‘हामी मिल्न तयार छाँै,’ उनले भने, ‘तर अहिले नै कुनै ठोस प्रगति भइसकेको छैन ।’
तीन भ्रातृसंगठनमा देउवा पक्षका केन्द्रीय सदस्य थप गरेपछि मंगलबारदेखिको बैठकमा सहभागी हुने सहमति भएको एक नेताले जानकारी दिए । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सोमबार ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सुरु गरेर मंगलबारसम्मका लागि स्थगन गर्ने पनि सहमति भएको छ ।
गत २ वैशाखमा विस्तार गरिएको महिला संघ र तरुण दलमा संस्थापन पक्षका २२ जना र देउवा पक्षका अध्यक्षसहित १७ केन्द्रीय सदस्य छन् । ५ चैतमा गठन गरिएको एक सय एकजनाको नेविसंघमा अध्यक्षसहित संस्थापन पक्षका ७२ छन् भने देउवा पक्षका २९ सदस्य मात्र थिए । देउवा पक्षले २२ माघको सहमतिविपरीत कोइरालाले एकपक्षीय ढंगले केन्द्रीय समिति विस्तार गरेको आरोप लगाउँदै आएको थियो ।
सभापति कोइरालाले आइतबार बिहान वरिष्ठ नेता देउवालाई टेलिफोन गरी विवाद समाधान गरेर अघि बढ्न आग्रह गरेका थिए । विवाद समाधान गरेर अघि बढ्न आफू तयार रहेको उल्लेख गर्दै उनले सोमबार सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवालाई आग्रह गरेका थिए ।
देउवाले आन्तरिक विवाद मिलाउन आफू तयार रहे पनि भ्रातृसंगठन विघटनपछि उत्पन्न विवाद समाधान नभई केन्द्रीय समिति बैठकमा सहभागी हुन नसक्ने धारणा राखेका थिए । देउवाले विगतको सहमतिअनुरूप प्याकेजमा सबै विषय टुंगो लगाएर अघि बढ्न कोइरालालाई आग्रह गरेका थिए । कोइरालाले अन्य विषय छलफल र सहमतिमा टुंगो लगाउँदै जाने आश्वासन दिँदै देउवालाई भ्रातृसंगठनका केन्द्रीय समितिमा सन्तुलन कायम गर्न आफू तयार रहेको बताएका थिए ।
उनले पार्टीका पदाधिकारीसँग बिहान आफ्नै निवासमा छलफल गरी देउवासँग छलफल गर्न सिटौला, भण्डारीका साथै अर्जुननरसिंह केसीलाई जिम्मेवारी दिएका थिए ।
१८ वैशाखमा आदिवासी जनजाति संघ ४५, प्रजातन्त्र सेनानी संघ ४१, किसान संघ ३५ र मगर संघको ३३ सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो । २२ माघमा देउवा पक्षको समेत सहमतिमा नेपाल विद्यार्थी संघको अध्यक्षमा रञ्जित कर्ण, तरुण दलमा उदयशमशेर राणा, महिला संघमा डिला संग्रौला, आदिवासी जनजाति संघमा इन्द्रबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा टंकप्रसाद शर्मा कँडेल, नेपाल मगर संघमा गणेशबहादुर थापा र नेपाल किसान संघमा भानु सिग्देल चयन भएका थिए । राणा, गुरुङ, संग्रौला र थापा देउवानिकट हुन् भने कर्ण, कँडेल र सिग्देल कोइरालानिकट हुन् ।
संस्थापन पक्षले तरुण दलसहितका भ्रातृसंगठन विघटन गर्ने संकेत पाएपछि देउवा पक्षका नेताहरू पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशनमा बसेका थिए । आमरण अनशन तोड्न ११ असोजमा देउवाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । तर, सभापति कोइरालाले २६ कात्तिकमा देउवाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा अस्वीकार गरेको पत्र पठाएका थिए ।

प्रतिक्रिया