ठूलो परिमाणमा लागू औषध बरामद

 काठमाडौं, २८ जेठ । प्रहरीले काठमाडौंको चाल्नाखेलबाट हाल सम्मकै ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ ।
लागू औषधसँगै प्रहरीले सो कारोबारमा संलग्न पाँच जनालाई पनि नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँबानेश्वरबाट खटिएको अप्रेशन समूहले लागू औषध चरेश (चिप्पड) २ हजार ६ सय ४० किलोग्राम सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला सरिखेत पलासे–२ घर बताउने २९ बर्षीय हस्त बहादुर रुम्बा, २१ बर्षीय चन्द्र बहादुर गोले, सोही गाविस–७ घर बताउने २८ बर्षीय कुमार लामा, मकवानपुर जिल्ला मनहरी–५ घर बताउने २९ बर्षीय तिर्थ बहादुर राई र सोही गाविस–३ घर बताउने २२ बर्षीय बीरे लामा रहेका छन् ।
उनीहरुलाई प्रहरीले सेतीदेवी गाविस–९ चाल्नाखेलबाट ८८ वटा सेतो प्लाष्टिकको बोरा भित्र प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश (चिप्पड) सहित फेला पारेको थियो ।
बरामद अवैध लागू औषध चरेश (चिप्पड) हाल सम्म पक्राउ परेको चरेशहरु मध्ये कै सवैभन्दा ठूलो परिमाण भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरु विगत लामो समयदेखि लागू औषध कारोवारमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरुले स्थलमार्ग हुँदै भारत लगायत अन्य मुलुकहरुमा कारोवार गर्ने गरेको जनाएको छ ।
उता, मकवानपुरको मनहरी–७, ज्यमिरेबाट प्रहरीले आजै ६० किलो गाँजा बरामद गरेको छ ।
गाँजा सहित डाँडाखर्क गाविस–४ बस्ने ४३ बर्षीय गौरीशंकर मोक्तान, ३३ बर्षीय ईन्द्रबहादुर थिङ, ३० बर्षीय प्रताप सिंह थिङ र अक्कल बहादुर थिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया