सेयर बजारमा बियरिस ट्रेन्ड

काठमाडौं, २८ जेठ । संविधानसभा विघटनपछि सेयर बजार ओरालो गतिमा लागेको छ । संविधानसभालाई आमनागरिकले आशाको दियोका रूपमा हेरेका थिए । यसको अवसानसँगै ओरालो लागेको सेयर बजारमा घटने क्रम जारी छ ।
लालसी र आलसी सभासद्को कारण मुलुक अन्योलतातर्फ गएका कारण नेप्सेसँगै निजी क्षेत्र पनि अन्योलतर्फ अघि बढिरहेको छ । यस्तो अवस्थामा पनि राजनीतिक दलहरूले सहमतिको सरकार निर्माणमा गरेको ढिलाइले अर्थव्यवस्था कता जान्छ भन्नसक्ने अवस्था छैन । सोही कारण पनि नेप्से घट्ने क्रमले निरन्तरता पाइरहेको हो ।
कामचलाउ सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिएर सहमतिका लागि मार्ग प्रशस्त गरेमा मात्रै ओरालो लाग्न थालेको सेयर बजार रोकिनसक्ने एकथरी विश्लेषकको भनाइ छ । किनकि २७ राजनीतिक दलले बालुवाटारबाट हट्न माग गरे पनि सरकार अझै पनि सत्ता लोलुपतामा रहेका कारण सेयर बजार थप अन्योल देखिएको छ ।
जबसम्म समितिको सरकार बन्दैन तबसम्म सेयर बजारमा देखिएको बियरिस ट्रेन्ड कायमै रहने दाबी एक लगानीकर्ताले गरेका छन् । माओवादी नेतृत्वसँगै ओरालो लाग्न थालेको सेयर बजारमा गत १४ जेठअघि सहमतिको सरकार बन्ने आशासँगै केही सुधार आएको थियो । तर, १४ जेठमा संविधानसभा विघटनपछि लगानीकर्ता थप निराश भएका छन् । लगानीकर्ता बजारतर्फ आकर्षित हुन राजनीतिक अन्योल हट्नै पर्छ । जबसम्म दलहरूबीच खिचातानीको अवस्था रहन्छ तबसम्म बजारमा सुधार आउने लक्षण देखिंदैन ।
गत साता स्टक एक्सचेन्जमा एक सय नौ कम्पनीहरूको कारोबार भएको छ, जसमा सात हजार ६ सय ६६ कारोबारबाट ३० करोड १३ लाख ५० हजार रुपियाँ बराबरका १२ लाख ९६ हजार १८ कित्ता सेयर खरिद–बिक्री भएका छन् । गत साता एक सय २० कम्पनीको कारोबार भएको थियो । जसमा पाँच हजार तीन सय २१ कारोबारबाट २४ हजार रुपियाँ बराबरका ६ लाख ८७ हजार तीन सय २५ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा २५ दशमलव ५५ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’वर्गका कम्पनीको मात्र २१ करोड १२ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ७०.०९ प्रतिशत हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ दशमलव २१ अंकले ह्रास भई अन्तिम दिन तीन सय ६९ दशमलव ७८ अंकमा पुगेको छ ।
‘क’वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा पाँच दशमलव ७० अंकले ह्रास भई ९३ दशमलव १३ अंकमा झरेको छ । यो साता कारोबार रकम पाँच करोड ७४ लाख रुपियाँ तथा कारोबार भएको संख्या पाँच सय ८६ वटाको आधारमा बैंक अफ काठमाडौं अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर तीन लाख ७२ हजार ९८ कित्ताको आधारमा नारायणी नेसनल फाइनान्स अग्रस्थानमा रहेको छ ।
साताको उत्कृष्ट कम्पनीहरूमा बंैक अफ काठमाडौं, चिलिमे हाइड्रोपावर कम्पनी, एभरेस्ट बंैक, नबिल बैंक र नारायणी नेसनल फाइनान्स रहेका छन् ।

प्रतिक्रिया