वातावरण जोगाउने जिम्मेवारी

गत जुन ५ तारिखमा विश्व वातावरण दिवस नेपालमा पनि मनाइयो । यसपालिको नारा थियो– हरित अर्थतन्त्र दिगो विकासको मूलमन्त्र । वातावरणमा आएको प्रतिकूल परिवर्तनले विश्वका मानिसलाई विभिन्न प्राकृतिक जोखिमको सम्भावना बढाउँदै लगेको छ । यिनै जोखिम घटाउन प्रकृति एवम् वातावरण संरक्षण गर्नु अहिलेको महत्त्वपूर्ण जिम्मेवारी बनेको छ हाम्रो ।
यही उद्देश्यले नेपालमा राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखानाको संयोजकत्वमा आइयुसिएन र ललितपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा दिवसका अवसरमा कार्यक्रम सञ्चालन गरिएको थियो । जहाँ काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका ४० विद्यालयका चार हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । तिनैमध्येको एक सहभागी म पनि हु । विद्यार्थी अनि अरू वातावरणीय क्षेत्रका व्यक्तित्व सम्मिलित र्‍यालीले बिहान जावलाखेल, पुल्चोक, मंगलबजार, कुमारीपाटीमा प्रभातफेरी गर्दै पुन: जावलाखेल मैदानमा भेला भई सभामा परिणत भएको थियो ।
‘जल, जमिन, जंगल, जलाधार, जनावर जोगाऊँ’ जस्ता वातावरणीय संरक्षणसम्बन्धमा जनचेतना जगाउने विभिन्न नारासहितका प्लेकार्ड बोकेका विद्यार्थी साथीहरू आफ्नो अनुहारमा समेत ‘सेभ द इन्भाइरोमेन्ट’ लेखेर हिँडेका थिए । यो दृश्य निक्कै दर्शनीय थियो ।
अर्को आकर्षणका रूपमा मिस नेपाल अर्थ नाजमा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्काले सबैलाई मन, वचन र कर्मले वातावरण संरक्षणमा लाग्न प्रतिबद्धता गराएका थिए । वन मन्त्रालयका सचिव नवीनकुमार घिमिरे प्रमुख अतिथि थिए । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव जुद्धबहादुर गुरुङले सहभागीहरूलाई स्वागत गरेका थिए । सोही कार्यक्रममा वातावरणीय संरक्षणसम्बन्धी विषयवस्तुलाई लक्षित गरी आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत पनि गरियो ।
निबन्ध प्रतियोगितातर्फ म प्रथम भएछु, मलाई एकदमै हर्ष लागेको छ । एभरेस्ट इस्कुलकी स्नेहा हाडा दोस्रो, रिलायन्स स्कुलका सन्जोग कार्की तेस्रो र मेघा स्कुलकी ऋचा गिरी सान्त्वना घोषित भए । एफओजेड टिचरतर्फ हाम्रै स्कुलका भक्ति सर प्रथम हुनुभयो । लोकनृत्यतर्फ माउन्ट ओलिभ स्कुल प्रथम, अमरज्योति मावि द्वितीय, पारिजात स्कुल तृतीय, जनविकास स्कुल सान्त्वना भए ।
सेन्टमेरिजकी इशा पौडेल र शुभतारा स्कुलकी प्रार्थना श्रेष्ठले एकदमै रोचक एवम् आकर्षक शैलीमा सञ्चालन गरेको कार्यक्रम मलाई साह्रै मन पर्‍यो । सबैभन्दा बढी एफओजेड सदस्य बनाएर सेन्टमेरिज स्कुलले उत्कृष्ट विद्यालयको उपाधि हात पार्‍यो । चित्रकलातर्फ डिएभीका सुमन शाक्य प्रथम, सलटिल स्ज्नल स्कुलका रोबी गुरुङ द्वितीय, गणेश माविका विनोद राई तृतीय भए । कार्यक्रममा पुरस्कार पाएकोमा मलाई खुसी त लागेको छ नै, वातावरण संरक्षण बारेका महत्त्वपूर्ण जानकारी पनि प्राप्त भएका छन् ।
रुकमणी खरेल
ज्ञानोदय बालबाटिका स्कुल, सानेपा ललितपुर

प्रतिक्रिया