चेकविरुद्ध रुसको प्रभावकारी जित


वार्सा, २८ जेठ । शुक्रबार राति सुरु भएको युरोकप फुटबल प्रतियोगिता–२०१२ मा चेक गणतन्त्रमाथिको ४–१ को जितसहित रुसले सानदार सुरुआत गरेको छ । त्यसअघि भएको तनावपूर्ण उद्घाटन खेलमा पोल्यान्डले सहआयोजक ग्रीसलाई १–१ को बराबरीमा रोक्यो । पहिलो खेलमा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । दोस्रो खेलमा भने रुसलाई जित दिलाउने क्रममा कप्तान आन्द्रेइ आर्सभिनले मिडफिल्डमा प्रेरणादायी खेल खेलेका थिए । समूहअन्तर्गत रुसले अब अर्को खेल पोल्यान्डसँग खेल्नेछ भने चेकले एक गोलले पछि परेर पनि कमब्याक गरेको ग्रीसको सामना गर्नेछ ।
वार्सा सन्धि संगठनको विलयपछि पूर्वी युरोपमा भएको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन खेल भने अत्यधिक तनावयुक्त र रोमाञ्चक दुवै रहयो । ग्रीस र पोल्यान्डका खेलाडीले वार्मअप गर्नुअघि वार्सा राष्ट्रिय रंगशालामा तामझामका साथ प्रतियोगिताको उद्घाटन भएको थियो । २०औं मिनेटमा वैकल्पिक गोलरक्षक प्रिम्सली टाइटनले ग्रीस कप्तान जर्जियस कारागुनियसको पेनाल्टी नबचाएको भए यो खेल आयोजक पोल्यान्डका लागि अझ पीडादायक हुन सक्थ्यो ।
ग्रीसका फरवार्ड दिमित्री साल्पिन्गिडिसलाई फल प्रहार गरेपछि पोलिस टिममा नियमित गोलरक्षक वोज्सेक स्जेन्सीले रातो कार्ड पाए भने ग्रीसले पेनाल्टी अवसर पायो । त्यसपछि ५६ हजार घरेलु दर्शकलाई निराश हुन नदिन टाइटनले सानदार बचाउ गरे । १७औं मिनेटमा लेवान्डोस्कीले हेड गोल गर्दै पोल्यान्डलाई जितउन्मुख गराएका थिए । पहिलो हाफको अन्त्यतिर रक्षक सोक्रेटस पापास्थोपोलुसले रातो कार्ड पाएपछि ग्रीस १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफको छैटांै मिनेटमा साल्पिन्गिडिसले गोल गर्दै ग्रीसलाई खेलमा फर्काएका थिए । टाइटन भने पेनाल्टी बचाउने युरोपियन च्याम्पियनसिपकै पहिलो गोलरक्षक बने । ‘ठूला प्रतियोगितामा प्राय: उद्घाटन खेलमा बराबरी हुने गर्छ । यसकारण नहार्नु नै महत्त्वपूर्ण हो,’ खेलको समाप्तिपछि पोल्यान्डका प्रशिक्षक फ्रान्जिसेक स्मुडाले भने ।
दोस्रो खेलमा भने १५औं मिनेटमा एलन जागायाभ र २४औं मिनेटमा रोमन सिरोकोभको गोलमा रुस पहिलो हाफ सकिंदा २–० ले अघि थियो । दोस्रो हाफमा भास्काभ पिलरले गोल गर्दै चेकलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७९औं मिनेटमा जागायाभले अर्को गोल थपे भने खेल सकिन आठ मिनेट बाँकी रहँदा रोमन पाब्लुचेन्कोले टोलीको चौथो गोल गरे ।
सन् १९८९ मा बर्लिनको पर्खाल भत्किएको दुई वर्षपछि सोभियत संघ पनि विघटन भएपछि विश्वका हरेक गतिविधिबाट टाढिएको पूर्वी युरोपका लागि यो प्रतियोगिता पुरानै प्रभाव कायम राख्ने एउटा अवसर बनेको छ । पश्चिम युरोपसँग अझै प्रतिस्पर्धा गर्नलायक ठानेर युक्रेनले प्रतियोगिता आयोजनाको दाबी गरेको थियो । प्रतियोगिता सुरु हुँदासम्म पनि दुवै राष्ट्र बाहय राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नै संघर्ष गरिरहेका थिए ।
यति मात्र होइन रंगभेदका कारण पनि यो प्रतियोगिता विवादमुक्त हुन सकेको छैन । डच टोलीका प्रवक्ताले यसै साता उनको टोली प्रशिक्षणमा रहँदा रंगशालामा नै उपस्थित दर्शकले अभद्र व्यवहार गरेका थिए भन्ने टिप्पणी सार्वजनिक भएको छ भने पोलिस क्लब विस्ला क्राकोओ रंगशाला डच टोलीलाई अभ्यासका लागि उपलब्ध गराइएको छ । यो व्यवहार हुँदा डच प्रशिक्षक बर्ट भान मर्जवी र अन्य थुप्रै सञ्चारकर्मी त्यहाँ उपस्थित थिए । युरोपेली फुटबलको सर्वोच्च संस्था युएफाले कुनै पनि समय रंगभेदसम्बन्धी अपाच्य व्यवहार खेलको दौरान भए खेल रोकिने चेतावनी दिइसकेको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले अश्वेत विधायिका जोन गडसनसँग यो मुद्दा उठ्न नदिन अनुरोध गरेका छन् । युक्रेनका प्रधानमन्त्री माइकोला अजारोभले युक्रेनमा यसखाले कुनै पनि हर्कत नहुने बताइसकेका छन् ।

इङल्यान्डले बहिष्कार गर्ने
लन्डन : इङल्यान्डको विदेश विभागले युरोकप– २०१२ को एक सहआयोजक युक्रेनमा न्याय व्यवस्थाको स्थिति अत्यन्तै नराम्रो रहेकोले पोल्यान्ड–युक्रेनको सहआयोजनामा भइरहेको युरो–२०१२ बहिष्कार गर्ने निर्णय गरेको छ ।
जर्मनी, फ्रान्स र जर्मनीका राजनीतिज्ञहरूले युरो–२०१२ को अवधिमा युक्रेनको भ्रमण नगर्ने जनाएका छन् । उनीहरू सबैले हाल युक्रेनको कारावासमा रहेकी विपक्षी नेत्री युलिया तायमोसेन्कोविरुद्ध स्थानीय सरकारले नराम्रो व्यवहार गरिरहेको आरोप लगाउँदै त्यसको विरोध गर्ने निर्णय गरेका हुन् ।
यही कुरालाई आधार बनाई बेलायतका कुनै पनि मन्त्री समूहचरणमा हुने इङल्यान्डको म्याच हेर्न युक्रेन जानेछैनन् । नकआउट चरणका लागि इङल्यान्ड छनोट हुन सफल रहयो भने त्यतिबेला अर्को नीति अख्तियार गरिने जनाइएको छ । त्यतिबेला सम्बन्धित म्याच पोल्यान्ड अथवा युक्रेन कुन ठाउँमा हुने हो भन्ने हेरेर निर्णय हुनेछ । ब्रिटिस विदेश विभागका प्रवक्ताले इमेल–बयान जारी गर्दै भनेका छन्, ‘हाम्रा कुनै पनि मन्त्री युरोकप हेर्न युक्रेन जानेछैनन् । तर यसको अर्थ बेलायत सरकारले इङल्यान्ड टोलीलाई समर्थन अथवा सहयोग गर्दैन भन्नेचाहिं होइन । सरकार युरोकपमा इङल्यान्ड टोलीको सहभागितालाई पूर्ण समर्थन र सम्मान गर्छ ।’
रुसी समर्थकद्वारा हातपात
किभ : युरो–२०१२ को क्रममा हिंसा हुन सक्ने अनुमान चर्कंदै गइरहेका बेला यसको सुरुआत रुस–चेक गणतन्त्रबीचको म्याच सकिएपछि भएको छ । उक्त म्याच भएको व्रोक्लास्थित स्टाडियन मेज्स्की रंगशालामा कर्मचारी र अधिकृतहरूमाथि रुसी समर्थकहरूले शुक्रबार राति हातपात गरे ।
रुसले चेकलाई ४–१ ले पराजित गरेपछि ४० हजार दर्शक अट्ने रंगशालाको मुख्य द्वारभित्र दर्जनौं रुसी समर्थकले मुठ्ठीभरका कर्मचारीमाथि हातपात गरेका थिए । यो रंगशाला पोल्यान्डको क्लब स्लास्क व्रोक्लाको घरेलु मैदान पनि हो ।  स्थानीय प्रहरीले त्यहाँ हिंसा भएको र त्यसका कारण रुसी भाषा बोल्ने समर्थकहरूले गर्दा उत्पन्न भएको बताएको छ । घटनापछि चारजना कर्मचारीलाई अस्पताल लगिएको र खासै घाउचोट नदेखिएकोले तत्कालै फिर्ता पठाइएको थियो । तीनजनालाई भुइँमा लडाइएको र एकजनालाई टाउकोमा किक प्रहार गरिएको बताइएको छ ।
यसैगरी शनिबार बिहान पनि अर्को युक्रेनी सहर लिभमा करिब डेढ दर्जन रुसी समर्थकले ‘फ्यान जोन’ को सिमाना नाघेर बाहिर आई सानो समूहमा रहेका युक्रेनीविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि दुवै समूहबीच केहीबेर मुक्कामुक्की भएको थियो जसलाई तत्काल घटनास्थल पुगेर स्थानीय प्रहरीले रोकेको थियो ।

प्रतिक्रिया