अझै पत्ता लागेन सेतीमा बाढीको कारण

काठमाडौं, २८ जेठ । एक–दुई दिन हैन, साता पनि हैन, एक महिना बितिसक्यो सेती नदीमा भीषण बाढी आएको । तर, सुख्खायाममा पनि भीषण बाढी कसरी आयो भनेर पत्ता लाग्न सकेको छैन ।

सरकार तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था आफ्नै अड्कलबाजीमा छन् । सुख्खायाममा ७० जनाको ज्यान जाने गरी गएको बाढीले एकाएक विश्वकै ध्यान खिंचे पनि क्षतिको विवरण अपडेट गर्नबाहेक सरकारले केही गर्न सकेको छैन ।
बाढी गएको २५ दिनपछि जल तथा ऊर्जा आयोगका सहसचिव श्रीरञ्जन लाकौलको संयोजकत्वमा कारण पत्ता लगाउन र सुझाव पेस गर्न गठन गरिएको टोलीले काम सुरु गर्दैछ । विज्ञले विभिन्न अड्कलबाजी लगाए पनि बाढी जानाको कारण पत्ता लाग्न नसकेको टोली संयोजक लाकौलले बताए । ‘कसैले हिमपहिरो, कसैले ल्यान्डमास मुभ, कसैले जमिनमुनिबाटै नदी थुनिएर फुटेको लगायत विभिन्न दाबी गरिरहेका छन्,’ उनले सौर्यसँग भने, ‘एक दुई दिनमा छलफल हुँदैछ, छलफलको निचोड र स्थलगत अध्ययन नगरी ठ्याक्कै कारण पत्ता लाग्दैन ।’
आ–आफ्नो अड्कल दाबी गर्नेमा खानी विभाग, नापी विभाग, त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका विज्ञ छन् । सरकारले १० दिनअघि १७ जेठमा सहसचिव लाकौलको संयोजकत्वमा एक महिनाभित्र सेतीमा बाढी आउनाका कारण र पूर्व सूचना पद्धतिका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न टोली गठन गरेको हो ।
२३ वैशाखमा बाढी आएर विध्वंस मच्चाएपछि सरकार, अल्ट्रालाइटका प्रमुख चालक र इसिमोडले बाढी आउनाको छुट्टाछुट्टै कारण बताएका थिए । सोही दिन हेलिकोप्टरबाट सेती नदीको माथिल्लो भागको अवलोकन गरेको सुरक्षाकर्मीको टोलीले पहिरोका कारण सेती नदी थुनिएको र पछि एक्कासि फुट्दा ठूलो बाढी आएको बताएको थियो । त्यसैदिन बिहानै अल्ट्रालाइट जहाज उडाएर पर्यटकलाई अन्नपूर्ण र माछापुछ्रे क्षेत्र घुमाइरहेका एभिया क्लबका प्रमुख चालक अलेक्जेन्डर म्याक्सिमोभले ठूलो हिमपहिरो देखेको अनुभव सुनाउँदै हिमपहिरोकै कारण सेतीमा बाढी आएको ठोकुवा गरेका थिए । इसिमोडका विज्ञले पहिरो गएर सेती नदी थुनिनु र हिमपहिरो जानु एकैसाथ हुँदा ठूलो परिमाणमा पानी जम्मा भएको बाँध एक्कासि फुट्दा सेतीमा बाढी आएको बताएका थिए ।
हेलिकोप्टरबाट हेर्ने र अड्कल गर्ने बाहेक बाढी आएको दुई दिनसम्म बजार बगाएर बगर बनाएको खारापानीभन्दा माथि कोही पनि पुगेका थिएनन् । तेस्रो दिन नेपाल वातावरण पत्रकार समूहको टोली र सेना पहिलो पटक खारापानीभन्दा माथि तल्लो एवाङसम्म पुगेको थियो । त्यसको केही दिनपछि सुरक्षाकर्मीको एक टोली तीन दिनसम्म हिँडेर सेती नदी खोचैखोच माथि पुगे पनि नयाँ केही पत्ता नलागेको कास्कीका सिडिओ चेतनाथ भट्टराईले बताए । ‘उतिबेलै केही माथिसम्म सुरक्षाकर्मी पुगेको भए पनि कुन ठाउँमा पहिरो गयो वा के कारणले बाढी आयो भन्ने यकिन अहिलेसम्म पत्ता लागेको छैन,’ उनले सौर्यसँग भने, ‘अहिलेसम्म हेलिकोप्टरबाट हेर्नेको अड्कलबाजी मात्रै छ ।’

प्रतिक्रिया