राजा फर्काउने चेतावनी

काठमाडौं, २८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट नारायणहिटीमा फर्काउने चेतावनी दिएका छन् । उनले पूर्वराजालाई आफूहरुले केही समय धैर्य गर्न सल्लाह दिएको पनि बताए ।

राप्रपा नेपालले शनिबार काठमाडौंको खुलामञ्चमा आयोजना गरेको सभामा थापाले चुनाव नभएको खण्डमा राजतन्त्र पुन:स्थापना गर्ने चेतावनी दिएका हुन् । संविधानसभाको आयु नथप्न र जनमतसंग्रहमा जान सो पार्टीले विगतदेखि आन्दोलन गर्दै आएको थियो ।
‘चुनाव गर, होइन भने ०४७ सालको संविधान पुन:स्थापना गर,’ थापाले भने, ‘अन्यथा जनताले राजालाई नागार्जुनबाट नारायणहिटीमा पुर्‍याउने छन् ।’ निष्पक्ष र स्वतन्त्र चुनाव गर्न पूर्व या बहालवाला प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न उनले माग गरे । चुनावबाट नभाग्न दलहरुलाई आग्रह गर्दै उनले मृत भइसकेको संविधानसभा कुनै पनि अवस्थामा पुन:स्थापना नहुने ठोकुवा गरे ।
‘संविधानसभा मृत भइसकेको छ । मृत भइसकेको संविधानसभा कुनै पनि अवस्थामा पुन:स्थापना हुन सक्दैन । यसलाई पुन:स्थापन गर्ने कुनै आधार छैन,’ उनले भने । निष्पक्ष चुनावी सरकार गठन गरेर ताजा जनादेशका लागि चुनावमा जानु नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको थापाको भनाइ छ ।
अध्यक्ष थापाले आफ्नो पार्टी अहिले नयाँ शक्तिका रुपमा स्थापित भएको दाबी गरे । नयाँ शक्तिसँग सरसल्लाह नगरी राष्ट्रपतिले कुनै कदम चाले भने त्यसले देशमा दुर्घटना निम्ताउने उनको चेतावनी थियो । राष्ट्रपतिलाई इंगित गर्दै उनले भने, ‘तपाईंले नयाँ शक्तिसँग सरसल्लाह नगरेर र चार दलसँग मात्र सरसल्लाह गरेर केही कदम चाल्नु भयो भने त्यसले दुर्घटना निम्त्याउन सक्छ, त्यसलाई जनताले मान्नेवाला छैनन् ।’
संविधानसभा विघटन भइसकेको स्थितिमा सबै दलको हैसियत बराबर भएको दाबी थापाले गरे । उनले भने, ‘अब देशमा चार दल मात्र शक्ति होइनन्, नयाँ–नयाँ शक्ति उदाइसकेका छन् ।’
संविधानसभा विघटन भइसकेपछि मुलक संविधानसभाभन्दा अगाडिको स्थितिमा पुगेको उनले बताए । ‘वैधानिक रुपमा राजसंस्था स्थापित भइसकेको छ,’ थापाले भने । संविधानसभाको चुनावपछि शान्ति र संविधानको नाममा देशमा एक खर्ब रुपियाँ खर्च भएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्ने प्राय: सबै नेताले संविधानसभाले संविधान बनाउन नसकेकाले दलहरु पूर्णरुपमा असफल भएको दाबी गरेका थिए । सभा सुरु हुनुभन्दा पहिले राप्रपा नेपालका कार्यकर्ताले विभिन्न ठाउँबाट जुलस निकालेका थिए ।

प्रतिक्रिया