देवकोटाका लेखनदास श्यामदास

सवत् १९८१ मा काठमाडौंको लाजिम्पाटमा जन्मेका साहित्यकार/प्राज्ञ श्यामदास वैष्णवको बाल्यकाल ब्राह्मण संस्कारअन्तर्गत विष्णु पुजकको परम्परामा हुर्कियो । बाबुबाजे अलि दरबारमुखी थिए । वैष्णवका बाबुबाजे नारायणथानका पुजारी थिए । हरेकदिन नारायणथान र पशुपतिको प्रसाद दरबारमा पुर्‍याउनुपथ्र्यो, उनका अग्रजले । ‘बढी आवतजावत र आश्रित जहाँ भयो, स्वभावैले त्यहाँको असर पर्ने नै भयो’, वैष्णवले यस्तै अनुभव सँगालेका छन् । नारायणथानको पुजारी परिवारका नाताले श्यामदास पनि बाल्यकालमा नारायणथानअगाडिको गरुडको मूर्तिमा सेवकजस्तै देखा पर्थे । भक्तजनले चढाएका रुपियाँ, पैसा, धातु पुजारी आफ्ना कान्छा बाजे बलभद्रदासलाई बुझाउने गर्थे वैष्णव ।
श्यामदासको बालापन मिठाइ र नैवेद्य खाएरै बित्यो । घरको एक्लो नाति भएको मजा खुबै लुटे । बाजे जगन्नाथदासको स्वर्गवासपछि उनी बाबुसँग छुट्टै बस्न थाले । अनि भने दु:खका दिन सुरु भए वैष्णवको जीवनमा । काकाहरूसँग अंश मुद्दा चल्यो । ठूलो र खुकुलो घरमा हुर्किएको बाल्यकाल बाबुआमासँगै साँघुरो डेरामा च्यापियो । उनलाई बिफरले सतायो । भन्छन् –‘त्यतिबेला अहिलेजस्ता अस्पताल थिएनन् त्यसैले पूजापाठ गरेरै बाँचेको हुँ ।’ बुबाको सामान्य जागिर थियो । आर्थिक संकटले उनको परिवार आन्तरिक शरणार्थीजस्तो भयो । बुबा १९९५ मा बिते । पति मर्दा पत्नीले सती जाने चलनअनुसार आमालाई घाटमा लगेर पशुपतिको दर्शन गराइयो । आमाले ‘छोराछोरी सानै छन्, फर्कन पाऊँ’ भनी मन्दिरमा अनुनय गर्नुभो र घाटबाट फर्किनुभयो । त्यसपछि आमाकै संरक्षणमा साहित्यकार श्यामदास हुर्किए ।
वैष्णवले १९९७ सालतिर श्रेस्ता पाठशालाबाट प्रथम श्रेणीमा पाँच कक्षा पास गरे । उनका साहित्यका गुरु थिए गोपाल पाँडे ‘असीम’ । पाँडेको ‘रहर’ शीर्षकको कविता सुनेपछि उनलाई साहित्य लेख्ने रहर लाग्यो र पछि उनी डिल्लीबजारको नाटक मण्डलीतिर लागे ।
आफूले लेखेको नाटक देखाउन उनी महाकवि देवकोटाकहाँ पुगे । महाकविलाई वैष्णवको हस्ताक्षर औधी मन पर्‍यो र भने, ‘तिमी मेरा कृति सार्न सघाउँछौ ?’ श्यामदासले ‘हुन्छ’ भनेपछि महाकविले नै उनलाई जागिर लगाइदिए भाषानुवाद परिषद्मा । वैष्णव महाकविका गणेश बने । देवकोटाको मासिक तलब ८० रुपियाँ हुँदा उनले १५ रुपियाँ पाउँथे । देवकोटाले ‘शाकुन्तल’ महाकाव्य लेखे, उनले सारे, ‘सुलोचना’ महाकाव्य लेखे उनले सारे ।
भाषानुवाद परिषद् त्यसबेला ग्रन्थ निर्माण परिषद्जस्तै भएको थियो । त्यहाँ बद्रीनाथ भट्टराई पनि थिए, पूर्णप्रसाद ब्राह्मण पनि थिए । उनीहरूसित वैष्णवको हिमचिम बढ्यो । त्यसबखत भाषानुवाद परिषद्ले ग्रन्थ तयार पार्ने र नेपाली भाषा प्रकाशनी समितिले प्रकाशन गर्ने जोहो मिलाइएको थियो । घन्टाघरको पछाडिपट्टि रहेको भाषानुवाद परिषद्मा पुष्करशमशेर र उनका भाइ बालकृष्ण समको हाकिमी चल्थ्यो । त्यहाँ लेखकहरू भेला हुन्थे । लेखकहरूको जमघटमा राजनीतिक चर्चापरिचर्चा हुने गथ्र्यो । त्यतिबेलै घन्टाघरअगाडि सरस्वती सदन बन्यो । परिषद् र समिति त्यसैमा सर्‍यो । सरस्वती सदन बनेपछि २००४ मा त्यहाँ साहित्य सम्मेलन भयो । वैष्णवले पनि गद्य र पद्यमा कविता वाचन गरे । त्यही सम्मेलन २००७ सालको क्रान्तिका लागि जागरणको सूचक बनेको वैष्णवको ठम्याइ छ । साहित्य स्रोत पनि त्यसै बखत प्रकाशित भएको थियो ।
देवकोटाको बनारस प्रवासपछि वैष्णव बालसाहित्य र कोष निर्माणमा संलग्न भए । कोष निर्माणका प्रमुख हरिचन्द्र न्यौपाने थिए । यता गोपालप्रसाद रिमालले ग्रन्थ रच्नुका साथै पशुपति र शोभा भगवतीमा जागृतिसूचक गायनको अभियान चलाए । वैष्णव त्यता पनि लागे । यसोउसो गर्दागर्दै २००७ सालको क्रान्तिको लहरले छोयो । बालकृष्ण सम पनि क्रान्तिमा ओर्ले, मोहन शमशेरको शासनको विरुद्धमा । क्रान्तिको लहर दुई–तीन महिनासम्म चल्यो ।
००७ सालको परिवर्तनपछि जनार्दन सम र वैष्णव रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्न थाले । राष्ट्रिय जागरणका धेरै कामहरू त्यहीँबाट हुन थाले । एमएको पाठ्यसामग्री नभएको समय थियो, रेडियो नेपालबाटै एमएका लागि उपयोगी ग्रन्थ पनि तयार भयो । ‘सम्झना’ शीर्षकको सो ग्रन्थमा नेपालका ख्यातिप्राप्त लेखकहरूका रचना छापिएका थिए । पछि बद्रीनाथ भट्टराईले पाठ्यपुस्तकको खोजी गर्दा एमएका लागि त्यही उपयुक्त ठहरियो । परिवर्तनपछि विश्वविद्यालय र कलेज खोल्ने लहरै चल्यो । अन्तत: त्रिभुवन विश्वविद्यालय पनि खडा भयो । यसको स्थापनार्थ साहित्यिक योगदान दिन विजय मल्लद्वारा रचित नाटक पनि वैष्णवहरूले प्रस्तुत गरे ।
उनको रेडियो नेपालको १८ वर्षे जागिर सुनौलो रह्यो  । त्यही सक्रियता देखेर राजा महेन्द्रले  उनलाई प्रज्ञाप्रतिष्ठानमा नियुक्त गरे । पद्मकन्या आदि क्याम्पसहरूमा पनि संगीत नाट्यका कार्यक्रमहरू सुरु भए । विजय मल्ल र उनको प्रयासमा नाटक र गीतिनाटक सुरु गरियो । वैष्णवलाई यसै दौरान स्वर्ण पदक पनि प्रदान गरियो । चार वर्षसम्म प्रज्ञाप्रतिष्ठानमा रहे उनी कानुनको हेरफेर भयो, उनी प्रज्ञाप्रतिष्ठानबाट अलग्गिए । वैष्णवका नाटक, कविता गरी थुप्रै कृति प्रकाशित छन् । साहित्यको दुनियाँमा विचरण गर्दै उनी नब्बेको यात्रामा छन् । श्यामदासको जीवन सुख र दु:खको, सन्तुष्टि र असन्तुष्टिको दोभान हो । नेपाली साहित्यमा देखिएको विकासप्रति वैष्णव सन्तुष्ट पनि छन् र गुणस्तरको हकमा भने अलि असन्तुष्ट पनि ।

प्रतिक्रिया