रंग‍-विविध

बिहेअघि डेटिङ नै जान पाइएन”

सौर्य अनलाइन २०६९ जेठ २६ गते २:४७ मा प्रकाशित

किशोरावस्थामा म कुपोषण लागेको जस्तो जिलिगान्टे थिएँ, त्यसैले केटीहरू छेउ नै पर्दैनथे । बरु डेटिङ गएका अरू केटाकेटीलाई तर्साइदिएर रमाइलो गरिदिन्थेँ । साथीहरूका चिठी केटीलाई पुर्‍याइदिने काम पनि अलिअलि गरेकै हो । मलाई मन पराउने केटीचाहिँ थिएनन् । फेरि मेरी आमा म सात वर्षकै छँदा बित्नुभएकाले जीवन त्यति सहज पनि थिएन । जन्मस्थान मकवानपुरमा सात कक्षासम्मको अध्ययन पूरा गरी ललितपुरको भट्टे डाँडाको स्कुलबाट नौ कक्षा पास गरेँ । तर, त्यहाँ पनि आफूलाई मन पराउने केटी पाएको भए मरिजाऊँ †
पछि हेटौँडाबाटै एसएलसी सकेर कानुन पढ्न काठमाडौं आएँ । काठमाडौंमा संघर्ष गरिरहँदा घरबाट ‘बिहे गर’ भनेर निकै दबाब आउन थाल्यो । सकेसम्म पन्छाउने उपाय खोज्थेँ । बुबा भन्नुहुन्थ्यो– ‘तलाईं मैले पल्लो गाउँको केटी हेरेर आएको तर अलि नाक लामो रहेछ । सम्पत्ति यत्ति रहेछ, पढाइ पनि यत्ति पुर्‍याएकी रहिछ । लौ हेर्न हिँड ।’ तर, म यस्ती केटी चाहन्थेँ, जो गाउँमा दु:ख गर्न जान्ने र परेका बखत काठमाडौंमा पनि भिज्न सकोस् । फेरि अर्को अप्ठेरो † अर्काकी छोरीलाई नहेर्नु हेरिसकेपछि यो मन परेन त्यो मन परेन भनेर उम्कनु पनि कसरी ? त्योभन्दा उनलाई थाहै नदिई इन्डाइरेक्ट्ली हेर्नु ठीक भन्ने लाग्यो । उनी अर्थात् सीता तिमल्सिना ।
एक दिन एउटा भाइको बिहे थियो, जहाँ उनी पनि आउनेवाला थिइन् । त्यहीँ उनलाई इन्डाइरेक्ट्ली हेर्ने निधो गरियो । म टिलिक्क टल्किएर सफाचट बनेर त्यहाँ पुगेँ, मैले पहिलोचोटि देख्दा उनी सेलरोटी बोकेर आइरहेकी थिइन् । हाम्रा लमी एक्कासि बोले– ‘हामीले भेट्न खोजेकी केटी उनै हुन्, मज्जाले हेर ।’ त्यसपछि त हामी दुईलाई मात्र छोडेर उनी गायब भए । अब परेन फसाद † यत्तिको असजिलो त मलाई जीवनमै लागेको थिएन । उनीसँगको त्यो पहिलो भेट हेराहेरमा मात्र सीमित भयो । उनी साह्रै लजाइरहेकी थिइन् । तैपनि त्यो लजाइले कताकता मप्रति मायाको आभास छरेको अनुभूति हुँदै थियो । रूप त उनको मैले सोचेकैजस्तो थियो । तर, बाहिरी रूपलाई मात्र झट्ट विश्वास गरिहाल्ने कुरा पनि भएन । मान्छेको खास गुण भनेको भित्र हुन्छ । ती कुरा नबुझी प्याच्च केही निर्णय गरिहाल्ने कुरा पनि भएन । त्यसैले त्यो दिन त दुवै जना चुप नै भइयो । उनी परिवारकी जेठी छोरी भएकाले घरव्यवहार धेरै थाहा हुनुपर्छ भन्ने पत्तो भने लगाइसकेको थिएँ । म २४ वर्षको थिएँ, उनी २२ वर्षकी । उनी एसएलसी पास गरेकी, म आइएल ब्याक लागेर बसेको । पढाइ लगभग उस्तै हो । हेराहेर नै भइसकेपछि लमीदाइले प्रेसर दिन थाले– ‘उनलाई हेर्न अन्तबाट पनि मान्छे आएका आयै छन्, के गर्ने त, कस्ती लागी केटी ? मन नपरे अब अन्ततिर माग्न जानुपर्‍यो †’ मलाई पनि जीवनको पहिलो हेराइ नै मन परेछ, ओके गरिदिएँ ।
हाम्रो विवाह वज्रबाराही मन्दिरमा गरियो । एकदमै साधारण बिहे, पिकनिकजस्तो । एउटा नरमाइलो चाहिँ के पनि लाग्छ भने उनीसँग बिहेअगाडि मायाप्रीतिका गफ साट्नै पाइएन, डेटिङको मौकै जुरेन । डेटिङ वा जे भने पनि सबै बिहेपछि । बिहेपछि माइली फिल्म हेर्न ३५ रुपियाँको टिकट काटेर गुण सिनेमा गएका थियौँ । लभस्टोरी फिल्म भएकाले हामी यति डुबेछौँ कि म आफैँ त्यसको नायक अनि उनीचाहिँ नायिकाजस्तो लागिरहेको थयो । अहिले पनि सम्झना आउँछ– त्यति बेला मैले उनलाई अँगालो हालेँछु । त्यो क्षण अहिले पनि उनी सम्झाइरहन्छिन् । विवाह भएकै दिन हामी मकवानपुरको घर जानुपरेको थियो । हाम्रो सम्बन्ध अहिले सोचेभन्दा पनि सुमधुर पाउँछु म । सम्बन्धको प्रतीकका रूपमा ११ वर्षको छोरा र छोरी छन् । सीताको साथ पाएर अकाशमा उडिरहेको अनुभूति हुन्छ मलाई सधैँभरि ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय