आन्दोलनबाटै तह लगाउने उद्घोष

काठमाडौ ,२६ जेठ । सरकारबाहिर रहेका २२ राजनीतिक दलले माओवादीको सर्वसत्तावादी सोचलाई आन्दोलनबाटै असफल बनाउने दाबी गरेका छन् । शुक्रबार राजधानीमा हुने संयुक्त सभा आन्दोलनको सुरुवात मात्र भएको भन्दै उनीहरूले संविधानसभाको निर्वाचन गर्ने असंवैधानिक कदमविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए ।
संयुक्त सभाको विषयमा बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा २२ राजनीतिक दलका शीर्ष नेताहरूले आन्दोलनकै बलबाट माओवादीलाई सत्ताकब्जा गर्नबाट रोक्ने दाबी गरे ।
‘शुक्रबारको आमसभा आन्दोलनको सुरुवात मात्र हो,’ एमाले अध्यक्ष झलनाथ खनालले पत्रकार सम्मेलनमा भने, ‘यसले बहुआयामिक सन्देश दिनेछ र माओवादीको सत्ताकब्जा गर्ने रणनीतिलाई असफल बनाउँछ ।’ अन्तरिम संविधानले अर्को संविधानसभाको निर्वाचनमा जाने परिकल्पनासमेत नगरेको उल्लेख गर्दै दलहरूले सर्वोच्च अदालतको फैसलाले देखाएका ३ विकल्पमध्ये उत्तम विकल्प रोज्ने अधिकार जीवित संविधानसभाको क्षेत्राधिकार भएको दाबी गरेका छन् ।
‘दलहरूको सहमतिविपरीत एकलौटी ढंगबाट सरकारले घोषणा गरेको नयाँ संविधानसभा निर्वाचनविरुद्ध राजनीतिक र संवैधानिक आन्दोलन सुरु भएको छ,’ कांग्रेस सभापति सुशील कोइरालाले पत्रकार सम्मेलनमा भने, ‘भोलि(शुक्रबार)बाट राजनीतिक संघर्ष सुरु हुन्छ, आन्दोलनबाटै माओवादीको रणनीतिलाई परास्त गर्नेछाँै ।’
माओवादी र उसले नेतृत्व गरेको सरकारले सभासद्, संसद्मा रहेका दलहरू, सभामुखका साथै आºनै पार्टीभित्र समेत छलफल नगरेर असंवैधानिक र अप्रजातान्त्रिक निर्णय गरेको उनले आरोप लगाए । ‘हामी माओवादीलाई सहमतिको बाटोमा ल्याउनका लागि आन्दोलन गरिरहेका छौँ,’ कोइरालाले भने, ‘माओवादीलाई सहमतिको बाटोमा ल्याउनु अहिलेको आवश्यकता हो ।’
नेताहरूले निर्वाचनको आवरणमा चालिएको असंवैधानिक कदमले शान्ति, लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान लेखनकार्य एकसाथ गम्भीर खतरामा परेको दाबी गरे । ‘सरकारले दलहरूसँग कुनै सहमति नगरी अँध्यारो कोठामा बसेर संविधानसभाको नयाँ निर्वाचन घोषणा गर्‍यो,’ कांग्रेस सभापति कोइरालाले भने ।
माओवादीले चार वर्षको कार्यकालका लागि नयाँ निर्वाचन घोषणा गरेर मुलुकलाई लुट्ने र फेरि पनि दसाँै अर्बको व्ययभार बोकाउने बदनियत छर्लंग भएको नेताहरूले आरोप लगाए । निर्वाचनको नाममा माओवादीले मुलुकमा मुठभेड निम्त्याउन खोजेको पनि उनीहरूले दाबी गरे ।
‘सत्तारूढ दलहरूले देशलाई मुठभेडतर्फ लैजान कोसिस गरेका छन्, त्यसलाई रोकेर आमसहमति निर्माण गर्न आन्दोलन गर्नुपरेको हो,’ एमाले अध्यक्ष खनालले भने, ‘माओवादीलाई राष्ट्रिय सहमतिमा ल्याउनका लागि आन्दोलन जरुरी भएको छ ।’ उनीहरूले दलहरूबीच भएको पाँचबुँदे सहमतिअनुसार अघि बढ्न माओवादीलाई आग्रह गरेका छन् । उनीहरूले सहमतिका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् ।
‘दलहरूबीच भएको पाँचबुँदे सहमतिअनुसार माओवादी अघि बढ्नुपर्छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘दलहरूबीच भएको सहमतिमै सबै समस्याको समाधान छ तर माओवादी एक्लै अघि बढ्ने सोच रहेकाले त्यसलाई रोक्न यो आन्दोलन हो ।’
सभालाई व्यवस्थित गर्न एक हजार बढी स्वयंसेवक परिचालन गर्ने दलहरूले जनाएका छन् । उनीहरूले साढे १२ बजे कांग्रेसले सुन्धारा, एमालेले भृकुटीमण्डप, साना विभिन्न १६ राजनीतिक दलले भद्रकाली, चुरेभावरले न्युप्लाजा, राप्रपा र राजपाले नक्साल, नेकपा मालेले गौशालाका साथै लैनचौर, पुरानो बानेश्वरसहितका विभिन्न स्थानमा जम्मा हुने जनाएका छन् ।
उता, नेपाली कांग्रेसनिकट आदवासी जनजाति संघले भने शुक्रबार हुने संयुक्त सभामा सहभागी नहुन आदिवासी जनजातिलाई आह्वान गरेको छ । संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबारको सभामा संघीयताविरोधीसमेत सहभागी रहेको उल्लेख गर्दै आदिवासी जनजातिलाई सहभागी नहुन आह्वान गरेका हुन् ।

प्रतिक्रिया