फरार अभियुक्त प्रहरीकै वरिपरि

बाग्लुङ, २६ जेठ । चार दशकअघिदेखि दोषी ठहर गरिएका अभियुक्त प्रहरीकै वरिपरि घुमिरहँदा पनि प्रहरीले समात्न सकेको छैन ।
अञ्चल र जिल्ला प्रहरी कार्यालय तथा आसपासमा ०२९ सालदेखिका अभियुक्त प्रहरीकै वरिपरि ओहोरदोहोर गर्दा पनि प्रहरीले पक्राउ नगरेपछि सर्वसाधारणले असुरक्षाको महसुस गरेका हुन् ।
अदालतले कैद सजाय तोकेका, विभिन्न मुद्दामा कैद फैसला सुनाइएका बाग्लुङका दुई सय ७०, पर्वतका ८१, म्याग्दीका ४० र मुस्ताङका १६ गरी धवलागिरि अञ्चलमा चार सय नौ अभियुक्त फरार सूचीमा रहेको अञ्चल प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । ‘जबर्जस्ती करणीदेखि कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका व्यक्ति प्रहरीकै वरिपरि बजारमै निर्धक्क हिँड्छन,्’ वकालत मञ्च धौलागिरिका संयोजक राम शर्माले भने, ‘प्रहरी देखेर पनि नदेखेझैँ गर्छ ।
२३ कात्तिक ०२९ मा अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला सुनाइएका पैयुथन्थाप–४ का थमप्रसाद ढुंगाना, ०३० सालको आगलागी मुद्दामा ६ वर्ष कैद सजाय पाएका कुस्मिशेरा–६ का शक्तिप्रसाद भुषाल, १० फागुन ०४५ मा कर्तव्य ज्यान मुद्दामा १० वर्षको सजाय पाएका भकुण्डे–७ का कर्णबहादुर थापा अहिलेसम्म पक्राउ परेका छैनन् । अदालतले जबर्जस्ती करणीको अभियोगमा पाँच वर्ष कैद सजाय सुनाएका बाग्लुङ नगरपालिका–५ का चन्द्रबहादुर केसीलाई समेत पक्राउ गर्न सकेको छैन । फरार हुनेमा बढी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलेका अभियुक्त छन् ।
आर्थिक चलखेल, दबाब र राजनीतिक अस्थिरताले अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चासो नदिएको पीडितहरू बताउँछन् । देशको राजनीतिक अवस्था तरल रहेकाले अपराधी खोज्न भन्दा शान्तिसुरक्षामा केन्द्रित हुनु परेकाले फरार अभियुक्तलाई पक्राउ गर्न नसकिएको बाग्लुङका डिएसपी कृष्ण सिवाकोटीले बताए । विगतमा अदालतले फैसलाबारे प्रहरीलाई जानकारी नगराउँदा पनि पुराना मुद्दाका अभियुक्त पक्राउ पर्न नसकेको प्रहरीको भनाइ छ । अदालतले फरार अभियुक्तको सूची जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला मालपोत कार्यालयलाई समेत उपलब्ध गराएको छ तैपनि अभियुक्त पक्राउ परेका छैनन् ।
चार दशकसम्म पनि पक्राउ गर्न नसक्नु प्रहरीको फलो अप कम भएको एसएसपी लक्ष्मण न्यौपानेले बताए । ‘फरार अभियुक्तका बारेमा अध्ययन अनुसन्धान हुनुपथ्र्यो,’ उनले भने, ‘तर, प्रहरी भैपरी आउने घटनामा केन्द्रित हुँदा फरार अभियुक्त पक्राउ परेनन् ।’

प्रतिक्रिया