बोक्सीको आरोपमा कुटपिट

राजविराज,२५ जेठ । बोक्सीको आरोपमा सप्तरी बसबिट्टी–८ मा एक महिलामाथि कुटपिट भएको छ । स्थानीय ३५ वर्षीया निलमदेवी दासमाथि कुटपिट भएको हो । उनलाई आफ्नै नाताका व्यक्तिले बोक्सी र डायनको आरोप लगाउँदै मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
नातामा देवर पर्ने २८ वर्षीय नरेन्द्र र २५ वर्षीय वीरेन्द्रलगायत युवाले हिर्काएको पीडितले बताइन् । ‘बालबच्चासँग बसेकी थिएँ, अचानक आएर हिर्काएपछि बेहोस भएँ,’ पीडित महिलाले भनिन्, ‘टाउको, तिघ्रा र हातमा समेत चोट लागेको छ ।’ कुटपिटपछि घाइते घाइते दासलाई राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
विवाह भएर गएकी काका–ससुराकी छोरी मञ्जु बिरामी परेपछि बोक्सीको आरोपमा कुटपिट भएको पीडितले बताइन् । ‘बोक्सीको आरोप लगाउँदै ममाथि अभद्र व्यवहार गर्न थालेपछि छोरा नन्दनकुमारले प्रतिकार गर्‍यो,’ उनले भनिन्, ‘उनीहरूले छोरालाई पनि आक्रमण गरे र छुट्याउन जाँदा मलाई निर्घात कुटपिट गरे ।’
पीडित महिलाले अरू बेला पनि परिवारका सदस्य बिरामी पर्दा टुनामुना गरेर बिरामी पारेको आरोप लगाउने गरेको सुनाइन् । ‘आरोप लगाए पनि कुटपिट भएको थिएन, यसपटक पति घरमा नभएको मौका पारेर कुटे,’ उनले भनिन्, ‘उनीहरूमाथि कारबाही होस् ।’ घटनाका विषयमा अनुसन्धान भइरहेको डिएसपी गोविन्द अधिकारीले बताए । आरोपीहरू भने पक्राउ परेका छैनन् ।

प्रतिक्रिया