डाक्टर नै निजीमा पठाउँछन् बिरामी


वीरगन्ज, २५ जेठ । नारायणी उपक्षेत्रीय अस्पतालका डाक्टरले कमिसनको लोभमा अस्पतालका बिरामीलाई निजी अस्पतालमा पठाउने गरेको रहस्य खुलासा भएको छ ।
उपक्षेत्रीय अस्पताल परिसरका निजी क्लिनिक र अस्पतालका दलालमाथि प्रहरीले निगरानी गर्न थालेपछि डाक्टर स्वयंले बिरामीलाई निजी अस्पतालमा पठाउन थालेका हुन् ।
मंगलबार उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आएकी बारा बैरियाकी प्रतिमादेवीलाई स्त्रीरोग विभागका प्रमुख डा रणवीर सिंहले भिडियो एक्सरे गर्न अस्पताल छेउमै रहेको गणपति डाइग्नोस्टिक सेन्टरमा पठाएका थिए । प्रसूति गराउन अस्पताल आएकी प्रतिमालाई डा. सिंहले अस्पतालकै पुर्जीमा गणपति सेन्टरमा भिडियो एक्सरे गराउन पठाएका थिए ।
डा सिंहले लेखेको पुर्जी लिएर बिरामीकी आमा सुर्जीदेवी सेन्टरमा जाँदा अस्पतालमै रहेको प्रहरी बिटका असइ प्रदीप चौधरीले सोधपुछ गरेपछि डाक्टरले गरेको कर्तुत खुलासा भएको हो । उपक्षेत्रीय अस्पतालमै भिडियो एक्सरेको सुविधा भए पनि डा. सिंहले कमिसनका लोभमा बिरामीलाई बाहिर पठाएका हुन् ।
उपक्षेत्रीय अस्पताले चार सय रुपियाँमा भिडिओ एक्सरे सुविधा दिइरहेको छ । बाहिरका संस्थाले आठ सय रुपियाँसम्म लिने गरेका छन् । बिरामीकी आमा सुर्जीदेवीले अस्पतालका डा. सिंहले भिडियो एक्सरेका लागि बाहिर जाँचघरमा पठाएको बयान दिएपछि प्रहरीले डा. सिंहलाई नियन्त्रणमा लिएको थियो । डा. सिंहले आइन्दा यस्तो नगर्ने भन्दै माफी मागेपछि छाडिएको असइ चौधरीले बताए ।
सौर्यसँगको कुराकानीमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट झाले डा. सिंहमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरे । उनले दोषी पाइए कारबाही गरिने बताए । १२ जेठमा झाले अस्पतालका प्रहरी बिटलाई औपचारिकरुपमै पत्र लेखेर अस्पताल परिसरमा भइरहेको दलाली रोक्न निर्देशन दिएका थिए ।
अस्पताल  व्यवस्थापनको निर्देशनमा प्रहरीले दलालमाथि निगरानी राख्न सुरु गरेपछि डाक्टरले नै बिरामीलाई बाहिर पठाउन थालेका हुन् । निजी जाँचघर र डाइग्नोस्टिक सेन्टरका सञ्चालकले बिरामीलाई स्वास्थ्य परीक्षणका लागि सिफारिस गरिदिएबापत अस्पतालका डाक्टरलाई ५० देखि ७० प्रतिशतसम्म कमिसन दिने गरेका छन् । सिफारिस गरिदिएबापत अस्पतालका आधा दर्जन डाक्टरलाई विभिन्न जाँचघर र डाइग्नोस्टिक सेन्टरले मोटरसाइकलसमेत उपहार दिएको पाइएको छ ।
बिर्तास्थित एक डाइग्नोस्टिक सेन्टरका सञ्चालकले भने, ‘आधाभन्दा बढी कमाइ डाक्टरलाई बुझाउनुपर्छ, कमिसन नदिए सेन्टर नै बन्द हुने अवस्था छ ।’ कमिसन र उपहारका लोभमा सरकारी अस्पतालका डाक्टरले अस्पतालमै भएका सुविधा लिन पनि बाहिर पठाउने  गरेका छन् ।
उपक्षेत्रीय अस्पतालका डाक्टरले औषधि पसलसँग पनि कमिसन लिएर बिरामीलाई त्यस्ता पसलमा औषधि खरिद गर्न पठाउने गरेका छन् । अस्पतालमा ४५ डाक्टर कार्यरत छन् । उपक्षेत्रीय अस्पतालमा कार्यरत अधिकांश डाक्टरले अस्पताल छेउछाउमा निजी क्लिनिक पनि सञ्चालन गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट झाले अस्पतालमा आउने सेवाग्राहीमाथि दलाली भइरहेको स्विकारेका छन् । तर, कमिसनको लोभमा डाक्टरले नै यस्तो काम गरिरहेको घटनाले आफू पनि लज्जित भएको उनले बताए ।

प्रतिक्रिया