शिक्षा अधिकारीद्वारा मनलागी सरुवा

काभ्रे,२४ जेठ । गृहजिल्लामा सरुवा भएर गएका शिक्षा अधिकारी दीनानाथ गौतमले विद्यालयको सहमतिविना र शिक्षा ऐनविपरीत शिक्षक सरुवा गरेका छन् । सरुवा भएका शिक्षकले विद्यालयमा हाजिर गर्न पाएका छैनन् भने शिक्षा कार्यालयका वरिष्ठ कर्मचारीहरू बिदामा बसेर सरुवा माग्न थालेका छन् ।
शिक्षा नियमावलीमा शिक्षक सरुवा गर्दा सरुवा हुन चाहेको विद्यालय र अध्यापन गराइरहेको विद्यालय व्यवस्थापन समितिको सहमति पत्र चाहिने व्यवस्था भए पनि शिक्षा अधिकारीले एकलौटी शिक्षकको सरुवा गरेका हुन् । उनले सिन्धुपाल्चोक मेलम्चीस्थित श्रीकृष्ण उच्चमाविका रोहिणी गौतमलाई काभ्रेको कोसीपारीस्थित माझीफेदाको बुद्ध हिमालय माविमा सरुवा गरेका छन् । सरुवा भएका गौतमले दुवै विद्यालय र जिल्लाको सहमति पाएका छैनन् । शिक्षा अधिकारी गौतमले बुद्ध हिमालय माविमा हाजिर गराउन दबाब दिए पनि विद्यालयले आइतबारसम्म हाजिर गराउन मानेको छैन ।
यस्तै, काभ्रे अनेकोटको कालिका माविबाट वसन्त केसीलाई भुग्देउ महाँगलचौरको कालिदेवी माविमा सरुवा गरिएको छ । मथुरापाटी मावि, श्यामपाटीका भगवती पाण्डेलाई नमोबुद्ध माविमा सरुवा गरिएको छ । भूमेस्थान मावि सिसाखानीका प्रदीप अधिकारीलाई मथुरापाटी मावि श्यामपाटीमा सरुवा गरिएको छ । सरुवा भएका शिक्षकले विद्यालयको सहमति नपाए पनि शिक्षा अधिकारी गौतमले मनोमानी ढंगले २० भन्दा बढी शिक्षकको सरुवा गरेको पाइएको छ ।
शिक्षा अधिकारी गौतम द्वितीय श्रेणीका हुन् भने शिक्षा कार्यालयमा उनी भन्दा सिनियर आठ कर्मचारी छन् । जुनियर शिक्षा अधिकारी र सिनियर कर्मचारी भएपछि शिक्षा कार्यालयको कामकाज पनि लथालिंग भएको छ । सिनियर कर्मचारीहरू घरबिदा भन्दै सरुवा मिलाउने काममा लागेका छन् ।
कार्यालयमा गौतमभन्दा सिनियर द्वितीय श्रेणीका कर्मचारीहरू भरत त्रिपाठी, नारायण न्यौपाने, यमनारायण घिमिरे, फटिकबहादुर केसी, खेमनाथ पोखरेल, उषा हमाल र खगेन्द्र प्रसाईं छन् । प्रसाईं झापाबाट सरुवा भएर आएका हुन् भने अन्य सात जना गौतमभन्दा पहिला नै जिल्लामा कार्यरत थिए । जुनियर रहेका शिक्षा अधिकारीले अनावश्यक निर्देशन दिन थालेपछि त्रिपाठी नुवाकोट सरुवा भएका छन् भने घिमिरे सिन्धुपाल्चोक सरुवा भएका छन् । त्यस्तै, न्यौपानेले काठमाडौंमा सरुवा मिलाएका छन् ।
शिक्षा अधिकारी गौतमले आफूमाथि लगाइएको आरोप सत्य नभएको बताए । उनले शिक्षा नियमावलीअनुसार नै शिक्षकहरूको सरुवा भएको दाबी गरे । उनले सहमति भएको भने पनि सरुवा भएका शिक्षकले विद्यालयमा हाजिर गर्न पाएका छैनन् ।

सहमतिपछि विद्यालय सुचारु
धनकुटा, २३ जेठ । विद्यालयका प्रधानाध्यापकलाई स्थानीयले दुव्र्यवहार गरेको विरोधमा पाँच दिनदेखि बन्द रहेको महाभारत–१ गोलखाडीस्थित गोलखाडी माध्यमिक विद्यालय सोमबारदेखि सञ्चालनमा आएको छ ।
विद्यालयमा पढाइ भइरहेको समयमा विद्यालय कम्पाउन्डभित्रबाट सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दा स्थानीय महेन्द्र राईले प्रधानाध्यापक हरिलाल शाहलाई कुटपिट गरेका थिए । कुटपिटपश्चात् दुवै पक्ष सहमतिमा आए पनि राईले पुन: धम्की दिन थालेपछि असुरक्षाको कारण देखाउँदै शिक्षकहरूले विद्यालय बन्द गरेका थिए । विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक र स्थानीयबीच आइतबार भएको सर्वपक्षीय छलफलमा नौबुँदे सहमति भएपछि सोमबारबाट विद्यालय सञ्चालनमा आएको प्रधानाध्यापक शाहले बताए । विद्यालयमा चार सय २० विद्यार्थी अध्ययनरत थिए ।

प्रतिक्रिया