जो पुरुषतिर कहिल्यै आकर्षित भइनन्

पञ्चायतकालको राजनीतिमा सुश्री भद्र घलेको पनि नाम थियो । मन्त्री पनि भइन् तर कहिल्यै बिहे गरिनन् । अहिले काठमाडाँमा गाई पालेर दिन काट्ने भद्र घरेलु रङको प्रयोग गरेर पेन्टिङ पनि गर्छिन्, कविता पनि लेख्छिन् । बिहेको प्रसंग आउँदा उत्तेजित हुन्छिन्, अनिच्छुक थिएँ भन्छिन् । बेलामा केटाहरुले घेरिएकी उनी बिहेमा किन आकर्षित भइनन् ? के उनलाई कुनै पुरुषले आँखा लाएन ? कि उनले नै टेरपुच्छर लाइनन् ? यस उमेरमा कतै उनलाई एकल महिला रहनाको पीडा र पछुतो छैन ? सौर्यकर्मी चमिना भट्टराईले यसपटक उनको अविवाहित रहनुका कारण खोज्ने प्रयास गरिन् ।

सुश्री भद्र घले । धेरैले थाहा नपाएर ‘भद्रा’ भनिदिन्छन् । उनको उमेरका महिला र पुरुषका सन्तान तेस्रो–चौथो पुस्तामा गइसके तर उनको नाम अगाडिको सुश्री हटेको छैन । भरपुर बैंसकी भद्रलाई हेर्न खोज्ने धेरै थिए तर त्यतिबेलाकी मुखियाकी छोरीलाई मुख खोलेर प्रस्ताव राख्ने साहस भने कसैले गर्न सकेन । यस्तैमा समाजसेवा, राजनीति र पढाइमा बित्यो भद्र घलेको उमेर ।
पहिलो विश्वयुद्ध लडेर आएका बाजेले सधैँभरि अंग्रेजका छोरी यस्तो लुगा लगाउँछन्, यस्तो जुत्ता लगाउँछन्, यसरी हिँड्छन् भनेको सुन्दासुन्दा भद्रको मनमा अंग्रेजकी छोरीजस्तै बन्ने भुत सवार भएको थियो ।
गाउँघरमा लोग्नेमान्छेले मदमत्त भएर आफ्नी श्रीमतीलाई गोरु चुटेजसरी चुटेको देखेर उनलाई बिहे गरौं भन्ने लागेन, कसैकी श्रीमती वा कसैकी बुहारी बनौँ भन्ने लागेन । आफू जन्मेहुर्केको गाउँमा महिलामाथि भएको हंसाले उनलाई सबै लोग्नेमान्छे यस्तै हुन्छन्, दयामाया नभएका हुन्छन् भन्ने लाग्यो । उनले भनिन् – ‘मलाई त कुनै नौजवानतिर आँखा जाँदै गएन । छिछिछि…. स्वास्नी पिट्नेको पनि कोही श्रीमती भएर बस्न सक्छ ?’
उनी पाँच वर्षकी हँदा उनकी फुपूसंग मामाको बिहे भयो । मामाघर जाँदा फुपूसंगै जान्थिन् उनी– ‘बाजेले मामाहरूसँगै पढ्न भने, त्यहीँबाट मैले पढाइ के हो भन्ने बुझँ । अब त कसरी धैरै पढ्ने भन्नेबाहेक मेरो मनमा  अरू केही पनि रहेन । मामाघरको पढाइले मलाई लेखपढ गर्न आइहाल्यो ।’ हुन पनि अब त फुच्ची भद्र गाउँकै पण्डित भइन् । स्वस्थानी व्रतकथा, रामायण, महाभारत पढ्न पर्‍यो कि यी नानीको खोजी हुन थाल्यो । पण्डित्याइँ गरेबापत घिउचिउरा, चिनीचिउरा र दहीचिउरा निकै खान पाइन् ।
भद्र भारतमा पढ्न गएकी थिइन् । गान्धी आश्रममा उनको युवाकालका सुनौला क्षण बिते । बैंसकै कुरा त हो, सुरुका दिनमा उपन्यास खुब पढिन् भद्रले । उपन्यास पढ्न सुरु गरेपछि रात गएको पत्तै हँुदैनथ्यो– “अहिले यसो सम्झन्छु, त्यतिबेला बँैस पो आएको रहेछ कि मलाई †” त्यसो भनिरहँदा उनको बुढेसकालमा बैंस फर्किरहेको अनुमान गर्न सकिन्थ्यो ।
शृंगार र सौन्दर्य प्रसाधनबारे उनको भनाइ थियो, ‘सधँै सेतो लुगा लगाउने, जर्खरिएको जस्तो देखिने, चिटिक्क परेर हिँड्न कहिल्यै जानिएन । त्यसैले होला साथीसँगी कसैले पनि जिस्काउन सकेनन्, बिहे गर्नुपर्छ भन्ने आँटै गरेनन् । खै किन हो कुन्नि, काशी विद्यापीठमा गाजल भने लगाएँ है मैले  तर चुरा, टीका, लाली, पाउडर भने कहिल्यै लगाइनँ ।”
सानै उमेरदेखि सामाजिक काममा लागिन् । चौध–पन्ध्र वर्षको उमेरमा पढ्न भनेर घर छाडिन् । उनी पढ्दै गर्दा बहिनीले छोरो पाइसकेकी थिइन् । प्रेम गर्ने फुर्सद पनि नपाएको र कसैसँंग प्रेमसम्बन्ध नभएको बताउने भद्रको युवावस्था भारतमै बित्यो । आफू पढ्ने कलेजका प्रिन्सिपल, प्रोफेसर, शिक्षक, सहपाठी सबैले भद्र दिदी भन्दा रहेछन् ।
कतै उमेर र रुचि नमिलेर बिहे हुन नसकेको हो कि ? ‘दिदी भनेर नमस्कार गर्ने कुन केटासँग लभ गर्नु ? भन्नुस् त †’,  भद्रको प्रतिप्रश्न थियो ।
राष्ट्रिय पञ्चायतको सदस्य भइसकेपछि पनि फेरि उनी अन्तिम जाँच दिन काशी विद्यापीठ गइन् । राजनीतिशास्त्र पढाउने एउटा प्रोफेसरले पढाउन डेरामा बोलाएछ र औँला समाएछ भद्रको । उमेरले चालीस नाघेकी नेपालकी विधायक न परिन्, ‘के हो सर् यस्तो ? किन समाएको मेरो औँला ? भनेर जोडजोडले कराउन थालेपछि सातो गयो प्रोफेसरको । उसले अनुहार निलोकालो पार्दै आफूले पेन सम्झेर समातेको भनी नकराउन अनुनयविनय गर्न थाल्यो  । उसले त्यसरी औँला मुसार्दा आफूलाई कुनै नौलो अनुभूति भएन भन्छिन्  भद्र ।
‘आमाले बहिनीको बिहे हुने बेला भने भन्नुभयो, ‘पहिला तेरो बिहे गर्नुपर्ने †’ तत्कालै जवाफ दिएँ, ‘मेरो बिहे गर्नुपर्‍यो भने केटा म आफैँ खोज्छु, चिन्ता नलिनू ।’ त्यसपछि त आमाको मुख बन्द भयो । अब अरू कसको आँट ? हुन त वरिपरि भुसुनाजसरी घुम्नेहरू भने थिए ।’ भद्रका अविवाहित रहनाका किस्सा पनि कम थिएनन् ।
पञ्चायती व्यवस्थामा माननीयसम्म बनिसकेकी उनको हात माग्न एक मामाका छोरा पर्ने त सिन्धुलीस्थित घरसम्म पनि गएछ । ‘ठूलो बेरुवा औंठी लिएर आएको रहेछ, मैले त भनिदिएँ, ‘म राजनीति गर्ने मान्छे । कहिले कता कहिले कता पुग्नुपर्छ,  तपाईंजस्तो लाहुरेसँग बिहे गरेर के गर्ने ? म तपाईंलाई भात पकाएर खुवाउन सक्दिन, सुसार गरेर बस्न सक्दिन, म तपाईंकी श्रीमती हुन सक्दिन, जानुस्, आफूलाई सुहाउँदी श्रीमती बिहे गर्नुस्’,थपिन्‘ मैले त्यसपछि घरदेखि सिन्धुलीसम्म ल्याएर उनलाई भैरहवा पठाइदिएँ ।’
प्रस्ताव त आयो, उनीसंँग नाता जोड्न खोज्नेको पनि लस्करै थियो तर उनले अरूको भावना बुझ्ने प्रयास गरिनन् । माननीय हँदैको कुरो हो । रामेछापको एकजना धनीबाबुको बिग्रिएको छोरो वर्षदिनसम्म उनको छाया नै पो बनेछ । ‘जता गयो उतै पुग्छ । सिन्धुलीमा गाउँमा गएको त घोडा चढेर लिखिर लिखिर उहीँ पुग्छ । काठमाडाँै आयो यतै आउँछ । म चालीस पैंतालीसकीे थिएँ, हरे बाउको बिहे देखाइदियो मेरो † अहिले पनि हाँसो उठ्छ, त्यल्लाई गुन्डा लगाएर तर्साइदिएँ र ठीक पारँ, घरमा श्रीमती, बच्चा भएको मान्छे रहेछ, भन्नचाहिँ केही नभन्ने तर मेरो वरिपरि उपग्रहजस्तै घुमिरहने ।’ एक अर्का महानुभावलाई फेल बनाएको प्रसंग उक्काउँदै उनले भनिन्– ‘मेरा अगाडि केटाहरू सधँै कायल हुन्थे । चुनावको समयमा तीस पंतीस केटा लिएर हिँड्थँतर उकालो–ओरालोमा मसंग कोही हिँड्न सक्दैनथ्यो । म केटाहरूसंँग हिँडे पनि उनीहरूको मसंँगको सम्बन्ध सधैँ सम्मानजनक नै हुन्थ्यो, कसैले पनि नराम्रो नजरले हेरेनन् ।’
पहिलो पटक माननीय हँदा उनलाई आफ्नो हैसियत के हो, आफूले के गर्नुपर्छ, केही थाहा थिएन । भन्छिन् – ‘म त इन्दिरा गान्धी आउँदा पनि मञ्चमा गएर नाचेकी छु, उफ्रेकी छु  । शुभजन्मोत्सवमा पनि कविता बनाएकी छु । स्वागत गीत गाएकी छु । चुप लागेर बस्ने होइन ।’
समकालीनहरूको जोडी सँगै हिँडेको देख्दा पनि भद्रको मनमा आँधीबेहरी आउँदैन । उनलाई आफ्नो जीवनसंग खास केही गुनासो पनि छैन । उनी एकदम सन्तुष्ट छिन् । सिन्धुलीजस्तो ठाउँबाट आएर माननीय र मन्त्री हुनु सामान्य लाग्दैन उनलाई । बिहे नगरेकामा यस उमेरमा पनि, जब एकजना पुरुषको सान्निध्य आवश्यक पर्छ, उनलाई पछुतो छैन ।
‘माननीयका रूपमा सरकारले दिएको तीन सय रुपियाँले पुग्ने होइन, वरिपरि मान्छे नै मान्छे हुने, साह्रै गाह्रो ।  पछि चुनाव हारेपछि त खर्च नै छैन, नाम छ दाम छैन । यसो एउटा साथीको घरमा गयो, चिया खायो । भात खाने बेला हुन्छ, जान्छु भन्यो, भात खाएर जानू न भन्छन्, अनि लौ त भनेर भात खाएर हिँड्यो, बेलुका त्यसैको भरमा सुत्यो । त्यस्ता दिन पनि थिए ।’, भद्र सम्झन्छिन्, ‘ त्यस्तो अवस्थामा घर गएको, रित्तो हात थियो । आमालाई लागेको रहेछ, छोरीले लुगाफाटो ल्याउँछे भन्ने तर म त भात पनि खान नपाएर गएको मान्छेसँग के हुने ?  आमाले त आफूले कमाएको र आफ्नी जेठी छोरीले कमाएको खान आएकी पो भनिन् मलाई । कस्तो कस्तो लाग्यो । आमालाई खुसी पार्न बारीमा आलु गोड्न गएकी त,  बिरामी पो भएँ ।’

प्रतिक्रिया