“महिलालाई सहयोगी भूमिकामा मात्र हेर्नु हुन्न”

केले प्रेरित गर्‍यो राजनीतिमा लाग्न ?
सानैमा जनवादी गायक रामेश र मञ्जुलका गीत सुनँे । ‘हो–हो दाजु ठीकै भन्यौ चित्त बुझ्यो मेरो, सामन्त मास्न लगाऊ अब फेरो’, ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’ जस्ता गीतले छोए । उहाँहरूका राजनीतिक कुराहरूले पनि प्रभावित बनाए ।
कसैलाई गुरु पनि मान्नुहुन्छ कि ?
माविको पढाइ गर्दै गर्दा दाजु हेमराज राईले राजनीतिक कुरा सिकाउनुहुन्थ्यो । विभिन्न किताब पढ्न दिनुहुन्थ्यो । चिनियाँ राजनीतिक कथा अनि किस्सा सुनाउनुहुन्थ्यो ।
राजनीति गर्न कत्तिको गाह्रो थियो महिलालाई ?
अहिले त अप्ठ्यारो छ, झन् त्यतिबेला † घरमा थाहै दिँदैनथ्याँैं पार्टी काममा हिँडेको, लुकीलुकी जान्थ्याँैं । किसानकी छोरी भएकाले घरभित्र र बाहिरका काम सबै सकेर बुबाआमालाई खुसी पारिन्थ्यो । अनि उहाँहरू निदाइसकेपछि सुटुक्क पार्टीका काममा हिँड्थ्यौँ ।
अप्ठ्यारा कस्ता थिए ?
एक दिन राति पार्टी काममा एक्लै निस्किएकी थिएँ । बेस्सरी पानी परिरहेथ्यो, बत्ती थिएन । बाटो भुलेर घुमेको घुम्यै भइछु । एक घन्टाको बाटो पाँच घन्टामा पुगेँ । गाउँमा सुराकीहरू हुन्थे । त्यति बेलाचाहिँ आफ्नो इज्जतको चिन्ता लाग्थ्यो । प्रहरीले भेटे थुन्ला, कुट्ला वा मार्ला भन्ने होइन कि अस्तित्वरक्षाको चुनौती हुन्थ्यो । आज सम्झिँदा आङ सिरिंग हुन्छ ।
बिहे गर्न मन नलागेको कि तारतम्मे नजुरेको ?
कुनै केटीले बिहे नगरी बस्नु समाजलाई अपाच्य हुँदो रहेछ  तर मेरो ध्यान त्यतातिर कहिल्यै गएन । पार्टीले पनि प्रस्ताव गरेकै हो तर मैले यो निजी मामला हो, पार्टीले हस्तक्षेप गर्नु हँदैन भनेँ । घरमा त टीकाटालोकै तयारी गरिसकेका थिए, मैले मानिनँ ।
राजनीतिमा लागेर गल्ती गरेको अनुभूति पनि हुन्छ कि ?
पार्टीभित्रको गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र मूल्यांकनका सवालमा समानता नहुँदा कहिलेकाहीँ त्यस्तो लाग्छ । निजी स्वार्थ त्यागेर पार्टी भनेरै हिँडियो सधँ । अब त उमेर ढल्कियो, शरीर कमजोर हुँदै छ । भनेको ठाउँमा पहिलेजसरी पुग्न सकिँदैन । यस्तो देख्दाचाहिँ गल्ती गरिएछ कि जस्तो पनि लाग्छ तर पश्चात्तापै भने होइन ।
तपाईं जुन सपना बोकेर होमिनुभएको थियो, वर्तमान राजनीति त्योसँग मेल खान्छ ?
अहिलेको जस्तो दूषित अवस्था होला भन्ने थाहा भए त जीवन जोखिममा पारेर किन लागिन्थ्यो र † हिजोको संकल्प र विश्वास आज पटक्कै मेल खाँदैन । विद्यार्थी जीवनमा एउटा गीत गाएकी थिएँ,  साथीहरुले रेकर्ड गर्नुभएको रहेछ । सत्र वर्षपछि फेरि त्यो गीत सुन्दा मलाई खुब रुन मन लाग्यो । त्यसमा पूरा हुन नसकेका हाम्रा आस्था, विश्वास र संकल्प थियो । आज नेताको जीवनशैली मात्र परिवर्तन भयो, जनता जहाँको  त्यहीँ ।
महिला भएकै कारण हेपिएको अनुभूति कत्तिको हुन्छ ?
संविधानसभाको चुनाव लड्दाताका समाज अझै पनि महिलालाई नेता स्वीकार गर्न तयार रहेनछ जस्तो लाग्यो । महिलाको क्षमतालाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति कायमै छ । पार्टीहरूभित्र पनि महिलालाई जबर्जस्ती मात्र नेताका रूपमा हेर्ने चलन छ, स्वाभाविक रूपमा होइन ।
०५४ सालमा देशभरिबाटै एक्लो महिला उपसभापति चुनिनुभयो, कस्तो रह्यो अनुभव ?
जति गर्नुपर्ने हो त्यति सकिएनजस्तो लाग्छ । पहिलोपटक जनप्रतिनिधि चुनिएकाले के गर्ने भन्ने आफँलाई पनि राम्रो थाहा थिएन । आजको अवस्थामा त्यहाँ हुने हो भने धेरै गर्न सकिन्छ जस्तो लाग्छ । त्यतिबेला सबैभन्दा बढी मत मेरो नै थियो ।
त्यतिबेलाको आफ्नो जिम्मेवारीमा सन्तुष्ट हुनुहुन्थ्यो ?
मेरो काम नागरिकता र राहदानीमा सिफारिस गर्ने मात्र थियो । अरूको जस्तो जिम्मेवारी मलाई थिएन । सभापति वा जिविस सदस्यले नै सबै गर्थे ।
अहिले पनि महिलालाई सहायक भूमिकामा मात्र हेरिन्छ, हो ?
त्यस्तै लाग्छ । तर, यो हुनुहुँदैन । योग्यता, क्षमता र सक्रियता भएकाहरूलाई त्यसअनुरूपको जिम्मेवारी दिनैपर्छ । महिलालाई सहयोगीका रुपमा हेर्ने परम्परा अन्त्य हुनुपर्छ ।
माओवादी द्वन्द्वकालमा अपहरणमा पनि पर्नुभयो, होइन ?
हो, सात दिन राखे । लगिसकेपछि डर लागेन । पहिलो दुई दिन उनीहरूले अलि अपमानजनक व्यवहार गरे । एमाले ठीक छैन, हामीलाई साथ दिनू भने । मैले ‘म आफ्नो पार्टी छाड्दिनँ, बरु तपाईंका नेतासँग कुरा गर्छु, मार्ने भए मार तर अपमान नगर, यस्तो पनि जनताको सेना हुन्छ ?’ भनेर अडान लिएँ । राजनीतिक कुरा सुनेर उनीहरूले सम्माजनक व्यवहार गर्न थाले । छाड्ने बेलामा कार्यक्रम गरी भाषण गर्न लगाए । मैले आफ्नो पार्टीको धारणा राखेँ । सम्मानपूर्वक छाडिदिए ।
राजनीतिक जीवनमा सबैभन्दा दु:ख लागेको क्षण ?
जननेता कमरेड मदन भण्डारीको निधन । त्यस दिन रातभरि रोएँ । उहाँको निधनले मुलुककै लागि ठूलो क्षति भएझैँ लाग्यो ।
एमालेका जनजाति नेताहरू अर्को पार्टी खोल्ने भन्दै छन् नि ?
त्यसबारे अहिल्यै निष्कर्षमा पुगिएको छैन । जनजाति त्यसै फुट्न लागेका होइनन् । पार्टीले जनजातिको सवाललाई बेवास्ता गरेकैले संविधानसभा भंग भयो । मेरो हकमा पार्टीले जनजातिलाई हेर्ने दृष्टिकोण सच्यायो, नेताहरूको चेत फिर्‍यो भने पार्टीभित्रै बसेर अन्तर्संघर्ष गरिन्छ ।
प्रस्तुति : चमिना

प्रतिक्रिया