सवारी दुर्घटनामा एघारको मृत्यु


काठमाडौं, २३  जेठ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।
मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको जिप दुर्घटनामा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको मृत्यु भएको छ ।
काठमाडौंबाट बा ८ च ४६१८ नम्बरको निजी गाडीमा जाने क्रममा जुरिखेतबाट जिप खस्दा देवकोटाको मृत्यु भएको हो । उनीसँगै गएका डा. राकेश पन्तको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सवारीचालक राजकुमार तामाङलाई थप उपचारका लागि सोमबार नै काठमाडौं
ल्याइएको छ ।
देवकोटा बिरामी बुबालाई भेट्न रौतहटको चन्द्रनिगाहपुर जाने क्रममा दुर्घटनामा परेका हुन् । सोमबार बिहान साढे ९ बजेतिर दुर्घटना भएको थियो ।
यस्तै, पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दाउन्ने स्थित एसमोडमा सोमबार दिउँसो भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र तीनजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा रुपन्देही गंगोलिया–७ का ५० वर्षीय हरिबहादुर थारु, बसचालक रुपन्देही फर्साटिकर– ३ का ४५ वर्षीय बोधराज काफ्ले र ४५ बर्षीय अयोध्याप्रसाद चौधरी छन् । तीन जनाको सनाखत हुन सकेको छैन ।
अवलोकन भ्रमणमा आएका रुपन्देहीका किसान चढेको लु १ ख४०९४ नम्बरको यात्रुबाहक बस अनिन्यन्त्रित भइ सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइते २२ मध्ये १२ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरूको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेका बर्दघाटस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यस्तै, रौतहटमा भएको दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । हथियाही नहरको बाटो हुँदै चन्द्रनिगाहपुर जाँदै गरेको नम्बर प्लेट नराखिएको सुपर स्प्लेन्डर मोटरसाइकल दुर्घटना हुँदा पतौरा–७ का २० वर्षीय जयप्रकाश राम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा यात्रारत १२ वर्षीय लालमोहन यादव घाइते भएका छन् ।
यसैगरी, धनुषाको यज्ञभूमि–९ स्थित भिमान चोकमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । इलामबाट काठमाडांै आइरहेको ना ३ ख ८८९२ नम्बरको बस आइतबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत भिमान चोकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई महिलाको ज्यान गएको छ । उपचारका क्रममा झापाकी दिलमाया लामाको मृत्यु भएको र एकको परिचय नखुलेको प्रहरीले बताएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

यस्ता थिए स्थानेश्वर

काठमाडौं, २३  जेठ । मकवानपुरमा भएको दुर्घटनामा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको निधन भएको छ ।
झन्डै चार वर्षअघि अर्थात् गत ०६५ साउनमा गृह मन्त्रालयबाट अनिवार्य अवकाश पाएका स्थानेश्वर देवकोटा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनले यसअघि काठमाडौं, ललितपुर, खोटाङ, बैतडी, कञ्चनपुर, सर्लाही, रूपन्देही र सुनसरीमा सिडिओ रहेर काम गरेका थिए भने विभिन्न तीन जिल्लामा एलडिओ भएका थिए । सिन्धुलीको पुरानो सदरमुकाम सिन्धुलीगढीमा जन्मेका देवकोटाले माओवादी द्वन्द्वकालमा पनि विभिन्न जिल्लामा कुशल र सबैको सहयोगीका रूपमा काम गरेका थिए । आर्थिक रूपमा अत्यन्तै पारदर्शी देवकोटा सेवामा रहुन्जेल आर्थिक विवादमा मुछिएनन् ।
देवकोटाले जिल्लामा एडिओ ह‘ुदा विकास निर्माणका अत्यधिक काम गरेका छन् । सौर्य दैनिकसँग केही दिनअघि देवकोटाले भनेका थिए, ‘मैले धेरै राम्रो गर्न नसके पनि नराम्रो गरेको छु जस्तो लाग्दैन ।’ उनले सुनाएका थिए, ‘सिडिओ भएर गएको जिल्लामा राम्रो कामको सिस्टम बसाएर निस्किएको छु । विकासका काम प्रसस्तै गरेको छु, कसैमा बिझाइनँ ।’
उनले भनेका थिए, ‘पछि जिल्लामा पुगेका सिडिओले पनि केही समयका लागि भए पनि त्यसलाई फलो गरेका थिए ।’ उनले भनेका थिए, ‘सिडिओ र एलडिओ इमानदार भएर सॉच्चै काम गर्ने हो भने जिल्लामा कुनै पनि भ्रष्टाचारका घटना हुँदैनन्, कतै भए त्यसलाई सजिलै निरुत्साही गर्न सकिन्छ ।’
राम्रो काम गर्दागर्दै पनि काठमाडौंको सिडिओबाट गृहमा तानिएर भूमिकाविहीन बनाइएको दु:ख मान्दै देवकोटाले भनेका थिए, ‘पछि कारागार व्यवस्था विभागमा पठाए, त्यहाँ पनि मैले राम्रो काम गरेर देखाएँ, खुसी नै लागेको छ ।’ देवकोटा सचिव हुने लाइनमा थिए । तर, कुनै पार्टीको सदस्य नभएकाले तत्कालीन सरकारले सचिव बनाएन । ‘मैले राजनीतिक शक्ति देखाउन सकेको भए सचिव पनि हुन्थे‘ होला,’ उनको भनाइ थियो, ‘तैपनि म खुसी छु, सचिव हुन नपाएकोमा पश्चात्ताप छैन ।’ उनले बोर्डमा रहेर विदेसिएका धेरै नेपालीको उद्धार गरेका थिए । खरिदार पदबाट सरकारी सेवामा प्रवेश गरेका देवकोटा सहसचिवसम्म बनेका थिए, आफ्नै मिहिनेत र इमानदारिताले । तर, उनको मिहिनेत र इमानदारिताले सचिव बन्ने बाटो सधैँका लागि बन्द गरिदिएको थियो ।

प्रतिक्रिया