विदेशबाट आक्रमण भइरहेको छ : असद

दमास्कस, २२ जेठ । सिरियाली राष्ट्रपति बासर अल असदले सिरियाले देशबाहिरबाट गरिएको युद्धको सामना गरिरहेको बताएका छन् । सिरियाली सरकारले नागरिकको नरसंहार गरे
को आरोप पश्चिमी राष्ट्रले लगाइरहेका बेला सिरियाली संसद्मा आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राजनीतिक सुधारका बाबजुद मुलुकमा आतंकवाद बढिरहेको जिकिर उनले गरेका छन् । हौला नगरमा सयजनाको ज्यान जानेगरी हालै भएको हमलामा सिरियाली फौजको कुनै हात नरहेको उनले प्रस्ट पारेका छन् । सिरियाली जनतामाझ विभाजन ल्याउन अन्तर्राष्ट्रिय शक्ति लागिपरेको आरोप उनले लगाएका छन् ।
‘अन्तर्राष्ट्रिय समुदायसहित यस क्षेत्रकै कतिपय मुलुकले सिरियाका सडकमा शान्तिपूर्ण प्रदर्शन जारी रहेको र राज्यले हिंसा मच्चाएको छ भन्ने सोच्ने गरेका छन् । तर, बिस्तारै सबै कुरा छर्लंग भएको छ, मुखुन्डो खसेपछि सबै उदांगिएको छ,’ असदले भने ।
१५ महिनादेखि सिरियामा राष्ट्रपति असदको राजीनामा माग गर्दै विद्रोह जारी छ । गत अप्रिल १२ का दिनमा सिरियामा युद्धविराम गरिएको भनिए पनि त्यसपश्चात् भिडन्तमा परी दुई हजार तीन सय जनाको मृत्यु भइसकेको छ । सन् २०११ को मार्च महिनामा सुरु भएको विद्रोहमा अहिलेसम्म नौ हजारको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । (एएफपी)

प्रतिक्रिया