बुढ्यौली ‘इन्जोय’ गर्दै मुखिया

एउटै हातका औँला भाँचेर गन्न भ्याइने कुनै बेलाका दुई–चार चित्रकारमध्ये एक वरिष्ठ चित्रशिल्पी टेकवीर मुखिया नेपाली ललितकला फाँटमा अझै ठाँट मच्चाइरहेका छन् । एक छोरा र एक छोरीलाई पढ्न विदेश पठाएपछि ७५ वर्षीय मुखिया भैँसेपाटीको नयाँबजारमा लेट म्यारिजको आनन्द उठाइरहेका छन् ।
उनी सानैदेखि लुकीछिपी चित्र बनाउँथे, त्यो देखेर बाआमाले कत्ति सम्झाउँथे, ‘यो दुखिया काम नगर है बाबु †’ पढाइमा लद्दू, तर चित्रकलामा अब्बल मुखिया आफ्नो बालवय यसरी सम्झिरहेका थिए ।
चित्रकलामा कहीँ र कतै औपचारिक डिग्री नलिएका मुखियाले २०२२ देखि जोरगणेश प्रेसमा आफ्नो जागिरे जीवन सुरु गरेका रहेछन् । अचम्म के भने आफ्नो जागिरे जीवनको पहिलो महिनाको पहिलो तलब तीन सय रुपियाँ बगलीमारलाई चढाउन पुगेका रहेछन् । मुखिया नेपाली खुफिया शैलीमा भन्दै गए, ‘मैले अहिलेसम्म करिब पाँच हजार पुस्तकको आवरण बनाएँ ।’ तर, पहिलो पुस्तक कुन र कसको हो भन्ने भुसुक्कै बिर्सिएछन् । उनले पुन: निरीह हुँदै छोटकरीमा भने, ‘बडो हुस्सु र होस्ल्याङे पो भइएछ ।’
खाने र ख्वाउने कुरामा उनी हुरुक्कै हुँदा रहेछन् । घरमा श्रीमतीको छुट्टै र उनको छुट्टै परिकार पकाउने मेनु हुँदो रहेछ । दुवैका खाने आइटम पनि आ–आफ्नै रहेछन् । अंग्रेजी सिनेमाका घोर प्रेमी मुखियालाई अहिलेसम्म कुनै रोगले छुन सकेको छैन । हो, अचेल भोकचाहिँ बढी लाग्न थालेको बताउँछन् । शाकाहारी उनी भुटेको भातसँग मकै भएपछि तीन त्रिलोक चौध भुवन पनि बिर्सिन्छन् अरे † आफूले कहिल्यै अम्मल नबेहोरेका मुखियाले थुप्रै परिचित अम्मलीहरूको अम्मललाई कम्बलमा पोको पारेर टुकुचातिर हुत्याइदिने बहादुरी देखाइसकेका छन् अरे ।
चित्रकारीको स्रोत र मुडका बारेमा लामो सुँड निकाल्दै भने, ‘मानवीय यो धर्ती चित्रैचित्रले भरिएको चित्रमय विचित्र चित्रशाला हो । यहाँ आफ्नो माटो, बाटो, टोल छरछिमेक–साहित्य, संस्कृति, उन्नति–अवनति, दु:ख–सुख, मानसम्मान आदि यावत् क्रियाकलापको जसले कुनै हत्तार नगरी तीक्ष्ण आँखाले जति विस्तारपूर्वक निरीक्षण गर्‍यो, आफ्नो घैँटोमा त्यति नै भर्ने त हो नि, हैन र ?’ यो उनको मात्र हैन, हरेक सर्जकबारे स्वयंसिद्ध कुरा हो ।
आफ्नो दैनन्दिनीबारे यसो भन्छन् उनी– ‘बिहान ३ बजे उठेर करिब १ घन्टा प्राणायाम, ४ बजे श्रीमतीसहित जोडीमा प्रात: भ्रमण, फर्केर टोल र छिमेकका परेवालाई एक माना चामल चारो ख्वाएर स्नान अनि पूजापाठ । त्यसपछि टोलका भुस्याहा कुकुरलाई दैनिक चालीस रुपियाँको बिस्कुट ख्वाएर, भान्छामा पिठो मुछिदिएर चित्र बनाउन थाल्छु ।’
करिब १० बजेतिर श्रीमतीले पाएको भातजस्तै नाना पकवान खाजा खाएर उनी पुन: चित्र बनाउन थाल्छन् । चित्र बनाउँदा बनाउँदै पुस्तक पढ्न थाल्छन् । रातिको खाना ५ बजे बेलुका खाएर लोडसेडिङलाई सराप्नुभन्दा त्यस समयको सही उपयोग गर्दै उनी हवाइन गिटार, बाँसुरी र माउथ अर्गेन बजाउन थाल्दा रहेछन् । राति १२–१ बजेतिर बल्ल सुत्दा रहेछन् । जवानीदेखि नै कामको चापले गर्दा कम सुत्ने बानी रहेछ उनको ।
आफ्नो ठट्टा आफैँ गर्दै एउटा पुरानो ट्रेड सेक्रेट खोल्छन् उनी, ‘साँझाको बालपुस्तकमा गाईको कथा थियो । गाईका चित्र बनाउनुपर्ने, मैले पनि गाईकै चित्र बनाएँ । कथाअनुसार गाईले मुत्रत्याग गरेको देखाउनु पर्ने थियो । मलाई यादै भएन, भूलवश गोरुले मुत्रत्याग गरेको चित्र बनाउन पुगेँछु । पुस्तक छापिएपछि त्यस चित्रबारे लेखक पाठक र साझाका हाकिमहरूले समेत चालै पाएनन् । अर्को संस्करणमा मैले हतार–हतार खुसुक्क चित्र परिवर्तन गरिदिएँ ।’
राति अबेरसम्म टिभी हेर्ने मुखियादम्पतीको बानी रहेछ । जब अरू सुतिसक्छन् अनिलाई आवाजले डिस्टर्ब नहोस् भनेर मुखिया बिस्तारै झ्याल थुन्छन्, पर्दा चेक गर्छन् र भान्सामा गएर पटट्ट र पुटुटु पार्न थाल्छन् । पाँच मिनेटमा स्वादिष्ट पपकर्न तयार । अनि बलमा खन्याएर हलमा बसेर मध्यरातमा खाँदा रहेछन् ।
नकर्मी, डकर्मी, सिकर्मी सूचीकार, अकुप्रेसर अरू के–के थुप्रै काम घरमा आफैँ गर्दा रहेछन् । आफूले आवरण बनाएको लेखक पुरस्कृत हुँदा उनी साह्रै चमत्कृत हुँदा रहेछन्, तर आजसम्म कुनै पुरस्कृत लेखकले उनलाई धन्यवादसम्म भनेको छैन अरे † भुलक्कड बानीले गर्दा एउटै पावरका छ–सातवटा चस्मा बनाएर राख्नुपर्ने बाध्यता पनि रहेछ उनको । लुगा धुने मानिस आएर के भयो ? उनी आफ्नो लुगा आफैँ धुन पल्केका रहेछन् । भाँडा माझ्ने प्रतियोगितामा महिलालाई पल्लै फाँटमा छाडेर उनी पहिला हुन्छन् अरे । जीवन इन्ज्वाए गरेर बाँच्नुपर्छ भन्ने सोच भएका मुखियाले एकपटक कुनै माग्नेलाई गोजीमा भएको सबै पैसा दिएछन् । माग्नेले त्यो पैसा उल्टो उनकै मुखमा हुर्‍याइदियो । जिल्ल परेर एकैछिनपछि कम्बल लिएर गएछन् तर त्यो ठाउँमा त्यति बेला न माग्ने थियो न पैसा नै । लोप्रेकान लगाएर उनी घर फर्केछन् ।
मुखियाले बनाएको आलु–मासु, चप खाएमा पाँचतारेको कुक पनि आफू कुक भएकामा पछुतो मान्दै तावामै धावा बोल्दै चाटीचुटी खान्छ अरे † उनको जडीबुटीको स्वच्छ र सफा संग्रह देखेर वैद्यपसले पनि आफूले व्यर्थै पसल खोलेर बिकामे र फोहोर जडिबुटी बेचेकामा आत्मग्लानि गर्दै मुखियाको जडिबुटी किन्न उनको पछि लाग्छ होला तर उनी बेच्नेवाला छैनन् । त्यसबाट औषधि बनाएर छिमेक र टोलका अशक्त र बूढाबूढीलाई ढेवा नलिई सेवा गर्ने बडो काइदाको बानी पनि रहेछ उनको † उनी आफू मात्रै स्वस्थ रहने व्यक्ति होइनन्, अरूलाई पनि स्वस्थ रहन सघाउने व्यक्ति रहेछन् ।

प्रतिक्रिया