राजस्व असुली लक्ष्यनजिक

काठमाडौं, २१ जेठ । चालु आर्थिक वर्षको राजस्व असुली लक्ष्य हासिल हुनेमा अर्थ मन्त्रालय विश्वस्त छ । बजेटले चालु आवमा दुई खर्ब ४१ अर्ब ७७ करोड ४२ लाख १४ हजार रुपियाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयअन्तर्गतका मुख्यमुख्य भन्सार नाका र कर कार्यालयहरूको प्रारम्भिक जानकारीका आधारमा सो असुलीलक्ष्य पूरा हुने अनुमान गरिएको हो ।
चालु आवको वैशाखसम्म एक खर्ब ९२ अर्ब ५५ करोड राजस्व असुली गर्ने लक्ष्य राखिएकामा एक खर्ब ९० अर्ब आठ करोड रुपियाँ असुुली भएको छ । यो लक्ष्यका तुलनामा ९८ दशमलव सात प्रतिशत हो र पहिलो १० महिनाको लक्ष्यभन्दा दुई अर्ब ४७ करोड रुपियाँ कम राजस्व असुली भएको छ । गत आवको यसै अवधिमा एक सय ५८ अर्ब ९८ करोड रुपियाँ राजस्व असुली भएको थियो । जसका तुलनामा हालको असुली वृद्धिदर १९ दशमलव ६ प्रतिशत रहेको छ । विगत पाँच वर्षको पहिलो १० महिनाको राजस्व असुलीलाई नियाल्दा आव ०६२/६३ मा ५२ अर्ब दुई करोड, आव ०६३/६४ मा ६३ अर्ब ७१ करोड, आव ०६४/६५ मा ७८ अर्ब ९९ करोड, आव ०६५/६६ मा ११० अर्ब ५१ करोड र आव ०६६/६७ मा १३८ अर्ब ५६ करोड रुपियाँ असुली भएको थियो ।
राजस्व असुलीका दृष्टिकोणले मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगंजको वार्षिक लक्ष्य ४९ अर्ब ३२ करोड रुपियाँ रहेको छ । यसमध्ये पहिलो १० महिनाको लक्ष्य ३९ अर्ब ७३ करोड रहेकामा ४० अर्ब ४८ करोड रुपियाँ असुली भई लक्ष्यको तुलनामा दुई दशमलव ७८ प्रतिशत बढी असुली भएको छ । जेठ महिनाको हालसम्ममा उक्त कार्यालयले थप दुई अर्ब ३८ करोड राजस्व असुली गरी वार्षिक लक्ष्य सजिलै पुर्‍याउने विश्वास दिलाएको छ ।
वीरगंजपछि भैरहवा र विराटनगर भन्सार कार्यालय ठूला भन्सारमा पर्दछन् । यी दुई भन्सार कार्यालयको वार्षिक लक्ष्य क्रमश: १२ अर्ब ६५ करोड र १० अर्ब ८७ करोड रहेको छ । पहिलो १० महिनाको १० अर्ब ३१ करोड रहेको लक्ष्यमा भैरहवा भन्सार कार्यालयले १० अर्ब १९ करोड असुली गरी लक्ष्यभन्दा केही कमी असुली गरेको छ भने जेठको हालसम्मको अवधिमा ४८ करोड असुली गरी वार्षिक लक्ष्य पुर्‍याउने सुनिश्चितता तय गरेको छ । यसैगरी, विराटनगर भन्सार कार्यालयको पहिलो १० महिनाको लक्ष्य आठ अर्ब ७६ करोड रहेको मा आठ अर्ब ९४ करोड असुली गरी लक्ष्यको तुलनामा २.०६ प्रतिशत बढी असुली गरेको छ । साथै, जेठको हालसम्मको अवधिमा ५५ करोड असुली गरी निर्वाध वार्षिक लक्ष्य पुग्ने जनाएको छ ।
वार्षिक एक अर्बभन्दा बढी राजस्व असुलीको लक्ष्य रहेका अन्य भन्सार कार्यालयहरूमा सुख्खा बन्दरगाह भन्सार कार्यालय, त्रिवि भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय र मेची भन्सार कार्यालय पर्दछन् । सुख्खा बन्दरगाह भन्सार कार्यालयले १० महिनाको सात अर्ब ६२ करोडको लक्ष्यमा आठ अर्ब दुई करोड असुली गरिसकेको छ भने त्रिवि भन्सार कार्यालयले तीन अर्ब ८३ करोडको लक्ष्यमा चार अर्ब २४ करोड, तातोपानी भन्सार कार्यालयले दुई अर्ब ७१ करोडको लक्ष्यमा तीन अर्ब ८ करोड, नेपालगंज भन्सार कार्यालयले एक अर्ब ९४ करोडको लक्ष्यमा दुई अर्ब १० करोड र मेची भन्सार कार्यालयले एक अर्ब ४३ करोडको लक्ष्यमा दुई अर्ब असुली गरिसकेको छ ।
ती भन्सार कार्यालयको जेठ महिनाको हालसम्मको असुली पनि उत्साहजनक रहेको छ । ०६८ जेठको १४ गतेसम्म राजनीतिक कारणले बन्दहडताल भई प्राय: सबै भन्सार कार्यालयको राजस्व असुलीमा प्रतिकूल असर परी लक्ष्यभन्दा न्यून असुली भइरहेकामा क्रमश: स्थितिमा सुधार आई ०६८ जेठ १८ गतेसम्ममा नेपालभरिका भन्सार कार्यालयको कूल लक्ष्यभन्दा १२ लाख २४ हजार बढी असुली भएको छ । जेठ १९ देखि लक्ष्यभन्दा उल्लेख्यरूपमा बढी राजस्व हुनेछ । यसलाई पुष्टी गर्न प्रत्येक भन्सार नाकाको गोदाममा खचाखच आयातीत र निकासीका माल–बस्त छन् भने सीमावर्ती क्षेत्रबाट सामान आयातीत हुने कम बढेको छ ।
आन्तरिक राजस्व कार्यालयतर्फ सर्वाधिक बढी राजस्व असुली ठूला करदाता कार्यालयबाट हुने गरेको छ । चालु आवमा सो कार्यालयको लक्ष्य ४९ अर्ब ७५ करोड रहेको छ । जसअनुसार पहिलो १० महिनाको ३७ अर्ब ७३ करोडको लक्ष्यमा ३७ अर्ब ६८ करोड असुली भई लगभग लक्ष्यको नजिकमा रहेको स्थिति छ । बक्यौता असुलीमा जोड गर्ने, असारमा आयकरको तेस्रो किस्ता प्राप्त हुने र अन्य अनुसन्धानमूलक परीक्षणलगायतका प्रयासबाट वार्षिक लक्ष्य पूरा हुने अवस्था छ । वार्षिक लक्ष्य एक अर्बभन्दा बढी भएका अन्य आन्तरिक राजस्व कार्यालयको पहिलो १० महिनाको स्थिति विश्लेषण गर्दा आन्तरिक राजस्व कार्यालय, काठमाडांै एक को ६ अर्ब १९ करोडको लक्ष्यमा पाँच अर्ब ५७ करोड असुली भए तापनि जेठमा विशेष उत्साहजनक असुली हुने गरी नयाँ स्रोतको पहिचान भएको छ । यसैगरी, सिमराको चार अर्ब ८८ करोडको लक्ष्यमा चार अर्ब ५७ करोड असुली भई लक्ष्य मेटाउन मुस्किल परेको अवस्था छ । जसअनुसार आन्तरिक राजस्व कार्यालय काठमाडांै क्षेत्र–३ को चार अर्ब १९ करोडको लक्ष्यमा चार अर्ब ५० करोड, आन्तरिक राजस्व कार्यालय भरतपुरको तीन अर्ब ५७ करोडको लक्ष्यमा तीन अर्ब ८७ करोड, आन्तरिक राजस्व कार्यालय वीरगंजको दुई अर्ब १२ करोडको लक्ष्यमा दुई अर्ब ४९ करोड र आन्तरिक राजस्व कार्यालय विराटनगरको दुई अर्ब १३ करोडको लक्ष्यमा दुई अर्ब ३० करोड असुली भएको छ । यसैगरी, आन्तरिक राजस्व कार्यालय ललितपुरको दुई अर्ब ११ करोडको लक्ष्यमा दुई अर्ब ५७ करोड, आन्तरिक राजस्व कार्यालय पोखराक एक अर्ब १२ करोडको लक्ष्यमा एक अर्ब ३९ करोड र आन्तरिक राजस्व कार्यालय भैरहवाको एक अर्ब तीन करोडको लक्ष्यमा एक अर्ब एक करोड र आन्तरिक राजस्व कार्यालय हेटौंडाको ९२ करोडको लक्ष्यमा ८८ करोड असुली भएको छ ।
अर्थसचिव कृष्णहरि बाँस्कोटाका अनुसार चालु आवको पहिलो १० महिनामा भन्सार महसुलतर्फ लक्ष्यभन्दा ८० करोड बढी असुली भइसकेको छ । यसैगरी अन्त:शुल्कतर्फ लक्ष्यभन्दा तीन करोड बढी असुली भएको छ । साथै, आयकरतर्फ लक्ष्यभन्दा एक अर्ब १५ करोड बढी असुली भइसकेको छ । तर, मूल्य अभिवृद्धि करतर्फ लक्ष्यभन्दा ६० करोड कम, रजिस्ट्रेसन दस्तुरतर्फ ५७ करोड, सवारी साधन करतर्फ ७५ करोड र गैरकरतर्फ दुई अर्ब ५१ करोड लक्ष्यभन्दा कम असुली भएको छ । यसरी समग्रमा पहिलो १० महिनामा लक्ष्यको तुलनामा कम असुली भएको दुई अर्ब ४७ करोडसहित ०६९ जेठको लक्ष्य १९ अर्ब ३७ करोड र ०६९ असारको लक्ष्य २९ अर्ब ८५ करोड असुली हुनसकेमा वार्षिक लक्ष्य पुग्नेछ ।
२०६९ वैशाख मसान्तसम्मको राजस्व असुलीको प्रवृत्तिलाई गत आवको सोही अवधिका असुलीसँग तुलना गर्दा भन्सार महसुलको असुली वृद्धिदर साढे १६ प्रतिशत छ भने मूल्य अभिवृद्धि कर असुलीको वृद्धिदर १५ दशमलव सात प्रतिशत छ । यसैगरी, अन्त:शुल्कको वृद्धिदर १३ दशमलव दुई प्रतिशत, आयकरको वृद्धिदर २३ दशमलव दुई प्रतिशत, रजिस्ट्रेसन दस्तुरको वृद्धिदर ३६ दशमलव १९ प्रतिशत, सवारीसाधन करको वृद्धिदर ३७ दशमलव ६७ प्रतिशत र गैरकरको वृद्धिदर ३० दशमलव एक प्रतिशत छ । यसको औसत वृद्धिदर १९ दशमलव ६ प्रतिशत हो । चालु आवको लक्ष्य भेटाउन २०.६ प्रतिशतको वृद्धिदर आवश्यक पर्ने अर्थसचिव बाँस्कोटाले बताए ।
गत आवको अन्त्यसम्म कुल गार्हस्थ उत्पादन
(जिडिपी)सँग राजस्व असुलीको अनुपात १५ दशमलव तीन प्रतिशत रहेकामा यो वर्ष वार्षिक लक्ष्य पुगेको र यस्तो अनुपात १६ प्रतिशतको हाराहारीमा पुग्नेछ । जिडिपीको अनुपातमा राजस्व असुलीलाई आगामी तीनदेखि पाँच वर्षको अवधिमा २० प्रतिशत पुर्‍याउनु पर्ने अर्थसचिव बाँस्कोटाको धारणा छ ।
चालु आवको राजस्व असुलीको लक्ष्य पूरा गर्न भन्सारतर्फ मूल्यांकनमा कडाई गर्न, वस्तु वर्गीकरण र परिणाममा फरक पर्न नदिन निर्देशन दिइएको, राजस्व अनुसन्धान विभाग र स्थानीय प्रशासन एवं सुरक्षा निकायबाट राजमार्गमा गस्ती बढाउन, चेकजाँच गर्ने ढाटमा कडाई गर्नसमेत भनिएको बाँस्कोटाले जानकारी दिए । आन्तरिक राजस्वतर्फ घर बहाल करलाई अभियानको रूपमा लगिएको बताउँदै उनले बक्यौता असुलीमा कडाई गर्न, पेसाविद्लाई करको दायरामा ल्याउन र करको दायरामा आउनुपर्ने क्षेत्रहरूको सूक्ष्म अध्ययन गरी काम गर्नसमेत निर्देश गरिएको जानकारी दिए ।

प्रतिक्रिया