चीनलाई ठेगान लगाउँछौँ : भाजपा नेता

वासिंगटन, १९ जेठ । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता यशवन्त सिन्हाले चीनले भारतमाथि ‘मनौवैज्ञानिक दबाब’ थोपरेको भन्दै चर्को आलोचना गरेका छन् । चुनावमा विजयी भएर भाजपाको नेतृत्वमा सरकार बने चीनलाई ‘मुहतोड जवाफ’ दिने चेतावनी उनले दिएका छन् ।
भारतका पूर्व विदेशमन्त्री सिन्हाले अमेरिकास्थित प्रतिष्ठित ‘ब्रोकिङ इन्स्टिच्युट’मा बुधबार आयोजित कार्यक्रममा भने, ‘मुढेबललाई बलकै सहायताले रोक्नुपर्छ भन्नेमा हामी (भाजपा) विश्वस्त छौँ ।’ निजी भ्रमणका लागि भन्दै अमेरिका पुगेका सिन्हाले विदेश नीतिजस्तो संवेदनशील विषयमा प्रस्तुत गरेको आक्रमक भनाइलाई गम्भीरतापूर्वक लिइएको छ ।
चीनले भारतविरुद्ध अन्तरसीमा आक्रमकता प्रदर्शन गरेको र ‘साउथ चाइना सी’ मा भारतले सञ्चालन गर्न लागेको तेल उत्खनन परियोजनाविरुद्ध चेतावनी दिएको भन्दै सिन्हाले चीनको आलोचना गरे । ‘हाम्रा पानीजाहाजले साउथ चाइना सीमा हाइड्रोकार्बनको खोजी गरिरहेका छन् । तर, चीनले यसबारे अनेक अफहाव फैलाइरहेको छ । समयसमयमा उनीहरूले ‘भारतको यो भूमि हाम्रो हो, भारतको त्यो भूमि हाम्रो’ हो भन्ने गरेका छन्,’ उनले आरोप लगाए ।
चीनसँग हतोत्साही नभई ‘डिल’ गर्ने नीतिमा भाजपा अडिग रहेको दाबी उनले गरे । ‘चीनले सुरु गरेको मनोवैज्ञानिक युद्धबाट हामी लर्बराउँदैनौँ । मुढेबललाई बलकै सहयोगले प्रतिरोध गर्न हामी प्रतिबद्ध छौँ,’ सिन्हाले भने ।
चीनसहित पाकिस्तानले पनि भारतीय भूमिमा आँखा गाडेको आरोप उनले लगाए । ‘पूरै अरुणाचल प्रदेश राज्यमाथि चीनले स्वामित्व दाबी गरिरहेको छ । भारतलाई सीमित गर्न उसले सबैतिरबाट घेरा हालिरहेको छ । सीमामा घुसपैठ गर्ने कार्यलाई पनि उसले निरन्तरता दिएको छ,’ सिन्हाले भने ।
भारत र चीनको सीमा विवाद सैन्य टकरावबाट नभई वार्ताबाट मात्र सुल्झिनसक्ने विश्वास उनले व्यक्त गरे । ‘पाँच दशकयता भारतको उदय भइरहेको छ । विश्व परिवेश पनि बदलिइरहेको छ । यस्तो अवस्थामा भारतले झैँ चीनले पनि सीमा विवाद सैन्य टकरावबाट नभई वार्ताबाट मात्रै सुल्झिन सक्छ भन्ने बुझेको छ,’ उनले भने ।
सन् २०१४ मा हुने निर्वाचनपछि भाजपा शक्तिमा आए उसले कस्तो विदेश नीति अनुसरण गर्ला भनी सोधिएको प्रश्नमा सिन्हाले भने, ‘हामी पाकिस्तानसँग ‘जाँच र विश्वास’ को नीति अवलम्बन गर्नेछौँ र भारतको सुरक्षा मामिलामा छिमेकी राष्ट्रबाट हुने कुनै
प्रकारको हस्तक्षेप अथवा अस्पष्टता स्वीकार नगर्ने नीति लिनेछौँ ।’ पाकिस्तानसँग ‘इङ्गेज’ हुने नीति लिए
पनि यसका लागि पाकिस्तानले भारतविरुद्ध ‘राज्य प्रायोजित आतंकवाद’ बन्द गर्नुपर्ने भनाइ उनले राखेका छन् । (पिटिआई)

प्रतिक्रिया