नयाँ पुस्ता भन्छ छ्या… राजनीति

सम्भवत: मुलुकको राजनीतिमा सबैभन्दा बढी पिल्सिएका पुस्तामध्ये पर्छन् कलेज पुस्ता । राजनीतिको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव उनीहरूलाई दिनहँु परिरहेको हुन्छ । मुलुकको राजनीतिक अस्तव्यस्तताबीच सुन्दर भविष्यको कल्पना गर्दै ‘स्टडी करिअर’ अगाडि बढाउनु आफैँमा एकखाले चुनौती छ । जे होस्, मुलुकको राजनीतिप्रतिको मनोविज्ञान भने बिल्कुल सकारात्मक छैन ।
नेपाल ल क्याम्पसका एलएलबी तेस्रो वर्षका विद्यार्थी महेश्वर अर्याललाई राजनीतिप्रति वितृष्णा जागेको छ । नेताहरूको गुटबन्दी र व्यक्तिवादी चरित्रले गर्दा मुलुकको राजनीति असफल दिशातिर लागेको उनको बुझाइ छ । संविधानसभा विघटन भएको दिन उनको ध्यान टेलिभिजनमा आइपिएलको फाइनल खेलतिर थियो । ‘चार वर्षमा गर्न नसकेको काम चार घन्टामा गर्न सक्दैनन् भन्ने लागेर म त मज्जाले आइपिएल हेरेर बसेँ,’ महेश्वरले भने । उता नेपाल कमर्स क्याम्पसमा बिबिएस तेस्रो वर्ष पढ्दै गरेका २१ वर्षीय निर्मल कँडेलको जेठ १४ को रात पनि लगभग जागाराम भएरै बितेछ । रातभर साथीहरू जम्मा भएर उनीहरू पनि आइपिएल म्याचको आनन्द लुटिरहेका थिए । ‘हाम्रो रिमोट न्युज च्यानलतिर पनि जान्थ्यो’, उनले भने, ‘त्यत्रो लगानी गरेको संविधानसभा खेर गएकामा दु:ख लाग्यो ।’
ग्लोबल कलेजमा त्रिवि शान्ति, द्वन्द्व र विकास विषयमा स्नातकोत्तर पढिरहेका २३ वर्षे विपिन घिमिरेलाई राजनीतिमा समस्या आउनुमा अशिक्षित नेता हाबी हुनु कारणजस्तो लाग्छ । ‘राजनीतिलाई डर्टी ग्याम भनिन्छ, यहाँ राजनीति गर्न नजानेकाहरूले यसलाई डर्टी बनाएका हुन्, विदेशतिर त राजनीति सफा नै भएको उदाहरण छ नि’ उनी सुनाउँछन् । विपिनसँगै पढ्ने अर्की २२ वर्षीया अस्मिता शर्मालाई राजनीतिमा खासै रुचि छैन रे । तर, कहिलेकाहीँ देशको माहोलले नै राजनीतिबारे चासो राख्नुपर्ने बनाइदिँदो रै’छ उनलाई । ‘संविधानसभाबारे अपडेट गर्न देशको माहोलले बाध्य पार्‍यो,’ उनले सुनाइन् । बन्द–हडतालको त्रासले सिधै प्रभाव पार्ने भएकाले राजनीतिप्रति अपडेट नभई धरै लागेनछ उनलाई । आफूहरूले छानेको विषयका कारण पनि राजनीतिप्रति चासो लिनुपर्ने भएकाले उनीहरूको कक्षामा त्यसबारे तात्तातो बहस चल्छ रे । ‘जातीयता र संघीयताको बहसले कक्षा नै उचालिएको थियो,’ विपिनले सुनाए ।
यो जेठको गर्मीले जति धर्ती तताउँदै थियो त्योभन्दा बढी राजनीतिले तताउँदै थियो मुलुक । मानिसहरू सडकमा बसेर देशले प्रसव पीडा भोगिरहेको कल्पना गर्थे । यही बीचमा नयाँबानेश्वरअगाडिको ‘आशा’को भवनअगाडि पुग्नेमा धेरै नयाँ पुस्ता पनि थिए । ‘नेताहरूले अन्तिमसम्म सहमति गरेर एउटा ड्राफ्ट देलान् भन्ने लागेको थियो, हामी राति अबेरसम्म संविधानसभा भवनअघि थियौँ,’ विपिनले चिन्तित हुँदै भने । ‘युवामा निराशाको मात्रा छाउँदै गएको र धेरैले देश छाडेका छन्, अब कोसँग आस गर्ने ?’ अस्मिताले प्रश्न गरिन् । ‘हामीकहाँ एउटा नेता बन्न २०/३० वर्ष संघर्ष गर्नुपर्ने स्थिति छ, तुरुन्तै नयाँ शक्ति आउला र देशलाई उतार्ला भन्ने कुरा पनि कठिन छ,’ महेश्वर ठम्याउँदै थिए । हालका नेतामा दूरदर्शिताको कमी रहनु पनि समस्याको जड हुन सक्ने अनुमान छ उनको ।
पाटन बहुमुखी क्याम्पसका २२ वर्षीया विद्यार्थी प्रमिला गौतमले संविधानसभा भंग भएको खबर भने भोलिपल्ट बिहान मात्र थाहा पाइछिन् । उनलाई राजनीति मन पर्दैन, त्यसैले आस पनि रहेनछ । भन्छिन्, ‘सत्ताकै लागि मात्र मरिहत्ते गर्ने नेताहरूले देश के बनाउँथे र आस गर्नु ।’ दलका नेताबाहेक जनतासँग पनि उनको गुनासो नै छ । नेताले उचालेको भरमा जनता सडकमा उत्रेर जनतालाई नै दु:ख दिएको बताउँछन् । संस्कृतिको देश, प्रकृतिको देश भन्दै पहिला गर्व गरिए पनि आजकाल नेपालीभन्दा गर्व लाग्न पनि छाडेको छ रे उनलाई ।
राजनीतिले मुलुकको सबैजसो कुरामा प्रभाव पारिरहेको हुन्छ । अनि शैक्षिक क्षेत्र पनि अछूतो रहने कुरै भएन । शैक्षिक क्षेत्रसँग नजिक रहेका नयाँ पुस्ता अस्तव्यस्तताको यो माहोलमा परेका छन् । सिर्जनशील उमेरमा पनि निराशामा रुमल्निुपर्ने नियति बनेको छ । राजनीतिबाट निस्किरहेको यो निराशाको बादलले नयाँ पुस्तालाई जति सताउँछ र क्षमताविकासमा अवरोध सिर्जना गरिरहन्छ, त्यति नै मुलुकले पनि उनीहरूबाट आस गर्ने अवस्था गुमाउँदै जानेछ ।

प्रतिक्रिया