रोनाल्डोको गतिमा निर्भर पोर्चुगलको उपाधि सपना


लिस्बन,१९ जेठ । कीर्तिमानी गोलकर्ता क्रिस्टियानो रोनाल्डो अचेल खेलजीवनकै उच्च फर्ममा रहेका छन् । उनले पछिल्ला वर्ष धेरै सफलता पनि पाए । तथापि उनी पोर्चुगललाई महत्त्वपूर्ण उपलब्धि दिलाउन असफल भइरहेका छन् । तीव्र गति र असाधारण ड्रिब्लिङ क्षमताका साथै गोलपोस्टमा अचुक प्रहार गर्न सक्ने रोनाल्डोकै नेतृत्वमा यसपटक पोर्चुगलले युरोकप फुटबलको उपाधि जित्न सक्ने सम्भावना रहेको छ । यसअघि उनलाई बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीलाई भैंm राष्ट्रिय टोलीबाट खेल्दा कमजोर प्रदर्शन गरेको आरोप लाग्ने गरेको थियो ।
स्पेनिस ला लिगाको उपाधि जिते पनि रियल म्याड्रिड च्याम्पियन्स लिगमा असफल भएपछि रोनाल्डोको ध्यान युरोकप जित्नेमा नै केन्द्रित छ । सन् २००४ मा लुइ फिगो र मानुएल रुइ कोस्टाजस्ता स्टार भएको समयमा रोनाल्डोसहितको पोर्चुगलले युरोकप जित्ने अपेक्षा गरिए पनि फाइनलमा ग्रीससँग स्तब्ध हुनुपरेको थियो ।
त्यो युरोकपको फाइनलमा भावविह्वल हँुदै मैदानमै रोएका रोनाल्डोले तीन गोल गरेका थिए । त्यसपछि भने उनी राष्ट्रिय टोलीबाट खेल्दा झनै असफल भए । युरोकप २००८ मा एक गोल गरेका रोनाल्डोले दक्षिण अफ्रिकाको विश्वकपमा पनि एक गोल मात्र गरे । यसपछि उनलाई पनि मेसीलाई जस्तै प्रतियोगिताको दिशा मोड्न सक्ने पेले, डिएगो म्याराडोना र युसेबियो भैंm महान खेलाडीमा सूचीकृत गर्न नमिल्ने प्रतिक्रिया बाहिर आयो । ‘रोनाल्डोमाथि उ १८ वर्षको भएदेखि नै ठूलो जिम्मेवारी थपिएको थियो,’ रियल म्याड्रिड र पोर्चुगलका उनका समकक्षी पेपेले भने ।
टोलीले उनलाई दबाब नदिने र आफ्नैखाले खेल खेल्न पाए जे पनि गर्न सक्छन् भन्ने रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका लागि गरेको प्रदर्शनबाटै प्रष्ट भएको पेपे बताउँछन् । म्यानचेस्टरका लागि प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डोले गत वर्ष रियल म्याड्रिडलाई कोपा डेल रे कपको उपाधि दिलाएका थिए । यस वर्ष उनले रियललाई ला लिगाको उपाधि दिलाए ।
उनी २००८ फिफा वर्षखेलाडी घोषित भए भने दुईपटक युरोपियन गोल्डेनबुट पनि जितिसकेका छन् । आफ्नै क्षमताका कारण दिनदिनै नयाँ सफलता पाएका रोनाल्डोले गोल गर्ने क्षमतामा पनि त्यत्तिकै वृद्धि गरेका छन् । म्यानचेस्टरमै रहँदा आफूलाई विंगरबाट अलराउन्डर स्ट्राइकरको रूपमा चिनाएका रोनाल्डोले रियलका लागि प्रतिखेल ०.५ गोल गरेका छन् ।
पोर्चुगलका प्रशिक्षक पावलो बेन्टका लागि सबैभन्दा ठूलो चुनौती भनेको रोनाल्डोलाई वास्तविक लयमा उतार्नु नै हो । सन् २०१० मा कार्लोस क्युरोजलाई प्रतिस्थापन गर्दै प्रशिक्षक बनेपछि बेन्टले रोनाल्डोलाई अलि बढी निगरानीमा राखेका छन् । उनको गति र गोडाको स्टेपमा रहने समन्वय अद्वितीय छँदै छ । तर, यसमा सिंगो टोलीले राम्रो साथ दिए पोर्चुगल कुनै पनि सफलताका लागि सक्षम हुन सक्छ ।

प्रतिक्रिया