भेनस पनि बहिनी सेरेनाकै बाटोमा


पेरिस, १९ जेठ । एक समय विश्व महिला टेनिसमा दबदबा कायम गरेका अमेरिकी विलियम्स दिदीबहिनी भेनस र सेरेनाले जारी प्रेmन्च ओपन ग्रान्डस्लाममा कमजोर प्रदर्शन गर्दै यसअघि विरलै सामना गरेको नतिजा व्यहोरेका छन् । प्रेmन्च ओपनमा यसअघि जस्तै गरी अहिले पनि उपाधि जित्न सक्ने खेलाडीका रूपमा हेरिएका यी दुईमध्ये सेरेना पहिलो चरणमै स्तब्ध भइन् भने भेनसको यात्रा पनि दोस्रो चरणभन्दा अगाडि बढ्न सकेन ।
ग्रान्डस्लाम टेनिसमा सेरेना पहिलोपटक पहिलो चरणबाट बाहिरिएको भोलिपल्ट बुधबार राति भेनसलाई तेस्रो वरीयताप्राप्त अगिएस्का राडावान्स्काले निराश बनाइन् । यस नतिजासँगै चोटका बीच लयमा फर्कने प्रयास गरिरहेका सेरेना र विलियम्सको खेलजीवन नै संकटमा परेको हो कि भन्ने खालको आशंका उत्पन्न भएको छ ।
पूर्वविश्व नम्बर–१ भेनस कमजोर प्रदर्शनपछि राडावान्स्काविरुद्ध ठीक एक घन्टामै कोर्ट छाड्न बाध्य बनिन् । अघिल्ला ग्रान्डस्लाम प्रतियोगितामा भन्दा फरकरूपमा देखापरेकी भेनस सोझो सेटमा पराजित हँुदा ६–२ र ६–३ को नतिजाका साथ पोल्यान्डकी राडावान्स्का तेस्रो चरण पुग्न सफल भइन् । पछिल्ला आफ्ना ४३ ग्रान्डस्लाम प्रतियोगितामा भेनसको यो सबैभन्दा कमजोर प्रदर्शन हो । मंगलबार फ्रान्सकी भर्जिनी रजानोविरुद्ध पराजित भएपछि १३ एकल ग्रान्डस्लाम उपाधिविजेता सेरेना ग्रान्डस्लाम टेनिसमा पहिलोपटक पहिलो चरणबाटै बिदा हुनुपरेको थियो । दुवै दिदीबहिनी आफू सहभागी ४३ ग्रान्डस्लाममा तेस्रो चरण नपुगेको यो पहिलोपटक हो ।
ग्रान्डस्लाम टेनिसमा पहिलो सहभागितामै सन् १९९७ मा युएस ओपन फाइनलमा पुगेकी भेनस त्यसको पाँच वर्षपछि विश्व वरीयतामा शीर्षस्थानमा पुगेर अश्वेत खेलाडी दोस्रो स्थानभन्दा माथि पुग्न नसकेको इतिहासमा ‘ब्रेक थु्र’ ल्याएकी थिइन् । भेनसले लन्डन ओलम्पिक खेल्ने सम्भावना प्रबल छ । विश्व वरीयतामा शीर्ष ५६ स्थानसम्म रहने खेलाडी लन्डन ओलम्पिकमा ‘अटोमेटिक’ छनोट हुनेछन् । भेनस हाल विश्व वरीयतामा ५३आंै स्थानमा छिन् । अहिले खेलिरहेका महिला टेनिस खेलाडीमध्ये वर्षभरि आयोजना हुने चारवटै ग्रान्डस्लामको फाइनल पुग्न सेरेना र भेनस मात्र दुई खेलाडी हुन् । उनीहरू आठपटक ग्रान्डस्लामको फाइनलमा भिडेका थिए जसमा ६ पटक सेरेना विजयी भएकी थिइन् । लगातार ६ ग्रान्डस्लामध्ये चारवटा जितेकी भेनसले सेरेनासँग मिलेर १२ युगल ग्रान्डस्लाम उपाधि जितेकी छन् ।
२३ वर्षीय राडवान्स्काले भेनसविरुद्धको जितले मनोबल बढाएको प्रतिक्रिया दिइन् । ‘अवश्य पनि जब मैले यस प्रतियोगितामा आफ्नो ड्र देखें तब म खुसी थिइन, मलाई थाहा थियो दोस्रो चरणमा भेनसविरुद्ध भिडन्त पर्नेछ भनेर,’ ग्रान्डस्लाम टेनिसमा अहिलेसम्म क्वार्टरफाइनल यात्रा तय गर्न नसकेकी राडावान्स्काको प्रतिक्रिया थियो, ‘मलाई लाग्छ भेनसको दिन आज खराब रहयो ।’
यस वर्ष साना तीनवटा उपाधि र ३८ वटा खेलमा विजयी भएर राडावान्स्काले भविष्यमा राम्रो गर्न सक्ने संकेत गरिसकेकी छन् । उनले यस वर्ष व्यहोरेका सात हारमध्ये ६ वटा शीर्ष वरीयताकी भिक्टोरिया अजारेन्काविरुद्ध थिए ।

मरे, सोङ्गा, फेरर, नाडाल तेस्रो चरणमा
पुरुष एकलतर्फका खेलमा चौथो वरीयताका एन्डी मरे, पाँचौं वरीयताका जो विलफ्राइड सोंगा र छैटौं वरीयताका डेभिड फेरर पनि जित हात पार्दै तेस्रो चरण पुगे । जान्को नाइमिनेनविरुद्धको खेलमा मरेले पहिलो सेट गुमाए पनि त्यसपछिका लगातार तीनमा जित हात पारेर अघिल्लो चरणको यात्रा तय गरे । इङलिस नम्बर–१ मरेले १–६, ६–४, ६–१ र ६–२ ले जित हात पारेका हुन् । घरेलु खेलाडी सोंगा, सेड्रिक मार्सेल स्टिबविरुद्धको खेलमा ६–२, ४–६, ६–१ र ६–२ ले विजयी भए । त्यस्तै दोस्रो चरणमा बेनट पैरको चुनौती पाएका स्पेनका फेरर सोझो सेटमा ६–३, ६–३ र ६–२ ले विजयी भएका हुन् ।
पुरुष एकलतर्फको अर्को खेलमा सोझो सेटले विजयी भएर साविक विजेता राफेल नाडाल तेस्रो चरण पुगे । डेनिस इस्टोमिनलाई सोझो सेटमा पराजित गरी स्पेनिस नाडालले दोस्रो चरण पार गरेका हुन् । म्याचभर जम्मा चार ‘गेम’ मात्र गुमाएका उनी ६–२, ६–२ र ६–० ले विजयी भएका हुन् । त्यस्तै महिलातर्फको खेलमा साविक विजेता ना ली, क्यारोलिन वोज्निएकी तेस्रो चरण पुगे । यी दुवै खेलाडी दोस्रो चरणमा सोझो सेटमा विजयी भए ।

प्रतिक्रिया