आत्महत्या गर्नेका जुत्ता

न्युयोर्क : अमेरिकी सहर सन फ्रान्सिस्कोस्थित गोल्डेन गेट ब्रिजको ७५औँ ‘जन्मदिवस’ हालै मनाइयो । पुलको भव्य दृश्य र छेवैमा आयोजना गरिएका विविध कार्यक्रममध्ये जुत्ता–चप्पल प्रदर्शनीले धेरैको ध्यान खिंचेको थियो । पुलबाट फाल हानी आत्महत्या गर्नेले लगाएका जुत्ता प्रदर्शननार्थ राखिएपछि यसप्रति धेरैले चासो राखेका थिए ।
अद्भुत निर्माण कलाका लागि मात्र नभई आत्महत्याका लागि पनि पुल प्रसिद्ध मानिन्छ । अहिलेसम्म पुलबाट फाल हानी सयौँले आत्महत्या गरिसकेका छन् । यहाँ हरेक वर्ष ३० देखि ३५ जनाले आत्महत्या गर्ने गरेका छन् । पुलको ‘जन्मदिवस’ मा यस पटक आत्महत्या गर्नेले लगाएका एक हजार पाँच सय ५८ जुत्ताचप्पल प्रदर्शन गरिएको थियो । ब्रिज रेल फाउन्डेसनको अग्रसरतामा प्रदर्शनी आयोजना गरिएको हो । आत्महत्या रोक्न जनचेतना जगाउने उद्देश्यले प्रदर्शनी गरिएको आयोजकको भनाइ छ । ‘आत्महत्या कति गहिरो र गम्भीर समस्या बनेको छ भन्ने देखाउन हामीले प्रदर्शनी गरेका
हौँ,’ फाउन्डेसनकी प्रवक्ता पल मुलरले भनिन् ।
सन् १९३७ देखि सञ्चालनमा रहेको पुलमा दुई अर्बभन्दा बढी सवारीसाधन गुडिसकेका छन् । प्रशान्त महासागरबाट जलमार्ग हुँदै सन फ्रान्सिस्को प्रवेश गर्न सकिने यो पुलको अवधारणा सन जोसेप स्ट्रसले १९२० को दशकमा ल्याएका थिए । अत्यन्त कठिनाइपूर्वक बनाइएको सो पुल निर्माणका क्रममा ११ मजदुरको मृत्यु भएको थियो । (डेलिमेल)

प्रतिक्रिया