मधेसतिरै रमाएका नेता

कुरो ०४६ सालको आन्दोलनको हो । मुलुकमा परिवर्तनको शृंखला अघि बढिरहेको थियो । तर, आन्दोलनकारीलाई हेर्ने प्रहरीको व्यवहार भने जातीय विभेदमा आधारित थियो । हाल मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव जितेन्द्र देवलाई उतिबेलै मुलुकमा जातीय विभेदको अनुभूति नभएको होइन । उतिबेला नेकपा (मानन्धर) का नेता थिए उनी । ०४६ सालको परिवर्तनपछि उनको मनले नेकपा (एमाले) नै मुलुक र जनताका लागि हितकर पार्टी देख्यो र उनी त्यसैमा प्रवेश गरे । एमाले छाड्न मन त थिएन, त्यसैले दस वर्षसम्म अपमान सहेर पनि बसेको बताउँछन् जितेन्द्र देव । त्यहीँ बसेर मुलुकका लागि केही गरिछाड्ने निधो गरेका देवले अन्तत: क्षेत्रीय राजनीतिमा हाम फाले । मधेसका नाममा खोलिएको पार्टीमा लागे ।
उनका आफन्त र समुदायका ९० प्रतिशतले सरकारी जागिर खाएर जीवन व्यवस्थित गरेको उनको ठम्याइ छ । तर, उनलाई सरकारी जागिरको मोहले छुन सकेन  । तैपनि राजनीतिको मूलधारको नेता हुने र पेसेवर राजनीति गर्नेतिर पनि उनको ध्यान गएन । उनको भनाइअनुसार उनमा जे गरुँला समाजका लागि राम्रै गरुँला भन्ने पवित्र भावना थियो । गर्दै जाँदा समय र परिस्थितिले जिम्मेवार ठाउँमा पुर्‍याएको उनको अनुभव छ ।
‘बिहे पनि काठमाडौंमै गरँ,’ यसो भनिरहँदा उनी विजेताको मुस्कान दिइरहेका थिए, ‘जुन घरमा बसेँ त्यसै घरकी कन्यासँग बिहे गरँे । ससुरालीबाट पनि सहयोग पाइयो । ०४६ को आन्दोलनमा भने हामीलाई अलि बढी नै यातना दिन्थे, प्रहरीले तल्लो स्तरमा ओर्लेर गाली गर्थेे, मलाई दु:ख लाग्थ्यो ।’ उनले थपे– ‘हेर्ने दृष्टिकोण त्यति राम्रो थिएन । बजार होस् वा गाडीमा, हामी हेपिन्थ्याँ ।’
नौ कक्षामा पढ्दै गर्दा तत्कालीन पञ्चायती राजाले घोषणा गरेको नयाँ शिक्षाको विरोधमा आन्दोलनमा होमिए । तर, किन जुलुसमा गएँ र किन थुनिएँ भन्ने पत्तै थिएन उनलाई । जुलुसमा लागेबापत प्रहरी हिरासतमा परे, उमेर केवल १५ वर्षको मात्र थियो । प्रहरी हिरासतको पहिलो खाता खोलेपछि कतिपटक जेलयात्रा गरे भन्ने कुराको हिसाबकिताब नै राखेनन् उनले । जम्माजम्मी पाँच वर्ष ६ महिना बिताए उनले जेलमा । पहिलोपटक तीन दिन हिरासतमा बसेपछि राजविराजमा आइए पढ्दै गरेका उनलाई राजनीतिको नशा लागेछ । अनि राजनीतिको अध्ययन गरे ।
जितेन्द्र देवले पहिलोपटक २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाए । त्यसपछि उनको यात्रा विधिवत् रूपमा नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनबाट सुरु भयो । देवले आँकलन गरेअनुसार त्यति बेलाको लडाइँ केवल प्रजातन्त्र प्राप्ति र अवैज्ञानिक शिक्षा पद्धतिविरुद्धको थियो । अठार वर्षसम्म मानन्धर समूहको नेता भए । एमालेको सिद्धान्त र मानन्धर समूहको धैरै कुरा मिल्ने देखेपछि पार्टी एकता किन नगर्ने भन्ने उनलाई लाग्यो र एकताका लागि अभियान नै चलाए । तर, अल्पमतमा परे । २०४८ सालमा एउटा ठूलो समूह लिएर एमालेमा प्रवेश गरे । एमालेले लिएको जबजको सिद्धान्तबाट प्रभावित थिए उनी । एमालेको केन्द्रीय कमिटीमा मधेसी समूहबाट उनी र सीतानन्दन राय पहिलोपटक पुगेको उनको दाबी छ । तर, अझै पनि उनलाई आफू एमालेमा सधैँ हेपिएको र खेदिएकोजस्तो लागिरहन्छ । २०५४ देखि २०६४ सम्मको एक दशक एमालेमा अपमानित भएर बसेको बताउँछन् देव ।
अहिले मुलुकको अवस्था देख्दा भने उनलाई दु:ख लाग्छ । तीन ठूला पार्टीको अकर्मण्यताका कारण देशले धोका पाएको देख्छन् । जेठ १४ मा आमनेपालीले जस्तै उनले पनि आशा गरेका थिए । नेताहरूको गैरजिम्मेवारीपनका कारण देश अन्योल र अनिश्चिततातिर जाँदै गरेको लाग्छ देवलाई । भन्छन्– दुईपटक संविधानसभाको निर्वाचन हुनु दु:खद् नतीजा हो ।
उनलाई लाग्छ– द्वन्द्वात्मक भौतिकवादी दर्शन समानताको दर्शन हो । दर्शन समानताको लिने तर व्यवहार समान नगर्ने कारण पनि उनले एमाले छाडेको बताए । उनको निष्कर्ष छ– माक्र्सवाद र लेनिनवादले समाजको आर्थिक, राजनीतिक वातावरणमा सुधार ल्याउँदै समतामूलक समाजको निर्माण गर्ने हो । देव भन्छन्– ‘तर त्यो लागू भएको छैन । मैले बुझेको माक्र्सवाद र देखेको माक्र्सवादमा फरक लाग्न थाल्यो । त्यसै कारण पनि धेरै ठाउँमा कम्युनिस्ट पार्टी र समाजवाद कमजोर, धराशयी र विभाजित छन् ।’
सात पार्टी र माओवादीबीच २०६३ मा भएको बाह्रबुँदे सम्झौताले सबै प्रकारका विभेदको अन्त्य होलाजस्तो लागेको रहेछ  । वर्गर्ीय, भाषिक, जातीय उत्पीडनको अन्त्य गर्ने कुरो बाह्रबुँदेमा भएका कारण पनि उनलाई धेरै आशा थियो । कम्युनिस्ट पार्टीहरू नै यी समस्या सामाधान गर्न अग्रसर नभएको उनको आरोप छ । एमालेमा जातीय मुद्दा उठाउने सवालमा नेतृत्व नै संकीर्ण लाग्छ उनलाई । जातीय कुरो उठाउनेबित्तिकै विदेशको पैसा खाने भन्ने आरोप लगाउने गरियो, उनले एमालेमा हुँदा देशविदेशमा देखेका कम्युनिस्ट पार्टीका बारेमा नेतालाई जानकारी नगराएका होइनन् तर नेताहरूले सुन्दै सुनेनन् । वर्गीय कुरा गरेर मात्र हँुदैन भन्ने उनको मान्यता छ । कतिपय मुलुकमा समाजवाद पतन हुनुमा जातीय आन्दोलनको कमी रहेको ठम्याइ छ देवको ।
त्यसो त उनले एमाले छाड्नुअगाडि नै एमाले छाडेर तमलोपा जाऔँ भन्नेहरू अहिले एमालेमा ठूला नेता मात्र होइन, मन्त्रीसमेत भइसकेको बताउँछन् देव । त्यति बेला उनैको अडानका कारण पार्टी नछाडेकाहरूको हैकम बढ्दै गएछ । सामन्तको शब्दकोशमा मात्र हुने बदलाको भाव माक्र्सवादीहरूमा पनि रहेको र आफूलाई सधैँ बदलाको भावले हेरेको उनको बुझाइ छ । उनले बुझेको माक्र्सवादले सधैँ जातीय उत्पीडनका विरुद्ध लड्न प्रेरणा दिएको हुन्छ । अहिले उनी महासचिव रहेको पार्टी नामले समाजवादी खालको नभए पनि सामाजिक न्यायको सिद्धान्तलाई अगाडि बढाउने विश्वास गर्छन् उनी । देव भन्छन्– ‘आवरण, नाम, रूप र ट्रेडमार्क कम्युनिस्ट नभए पनि विचार र चिन्तनको हिसाबले माक्र्सवादी हो ।’ त्यसैले पनि देवलाई कम्युनिस्ट पार्टी छाडेकामा पछुतो छैन ।
उनले हृदयदेखि नै सधैँ श्रद्धा गर्ने नेपालका केही नेताहरू छन्– पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, विष्णुबहादुर मानन्धर, बिपी कोइराला, सुवर्णशम्शेर, गजेन्द्रनारायण सिंह । ती नेताहरू भएको भए मुलुकको गति अगाडि बढ्ने थियो भन्ने उनलाई विश्वास छ । मधेसवादी पार्टीहरू परिपक्व नभएको कारण पनि धैरै फुट आउने गरेको उनको बुझाइ छ । ३८ वर्षसम्मको राजनीतिक जीवनमा उनको मन धैरैपटक दुखेको छ । भन्छन्– ‘मभन्दा कनिष्ठ धेरै जनाले राजनीतिका नाममा धेरै फाइदा लिइसके । तर, म सधैँ पछाडि परेँ । म अहिलेसम्म मन्त्री वा सांसदसम्म पनि भइनँ । संविधानसभामा समानुपातिकमा राखेर पनि मेरो नाम काटियो ।’
तर, उनलाई देशका लागि धेरै नै काम गर्न सकेकामा भने गर्व लाग्छ । राजनीति गरेकामा कुनै पछुतो मान्दैनन् । राजनीतिको बाटो सोझो हुँदैन, काँडेदार जेलिएको बांगोटिंगो हुन्छ भन्ने रामै्र ज्ञान भएका देवलाई अहिलेको पार्टीले कतिसम्म र कहिलेसम्म पत्याउँछ यसै भन्न सकिन्न तर त्यही बाटो हिँड्ने उनी पनि प्रयास गर्दैछन् । चित्त नबुझेपछि पार्टी बदल्ने रोग पुरानै हो, उनी अहिले पार्टी नम्बर–३ मा पुगेका छन् ।
नेता फेरिए, समय फेरियो । सत्ताका हातहरू फेरिए । तैपनि बिपीको स्पर्शभूमि आर्मीकै कब्जामा निसासिइरह्यो धेरै दिनसम्म, एउटा टीठलाग्दो खण्डहर बनेर । यो यथार्थ बिझिरहन्थ्यो, नजिकैका एक बिपीप्रेमीलाई ।

प्रतिक्रिया