तालिका विपरीत विद्युत् कटौती


इलाम, १७ जेठ । सदरमुकाम आसपासमा नेपाल विद्युत् प्राधिकरणले आफूखुसी विद्युत् कटौती गर्ने गरेको छ । केही महिनायता सदरमुकामलगायतका क्षेत्रमा विद्युत् काटिने क्रम तीव्र भएको छ । प्राधिकरणद्वारा विनासूचना दर्जनौँपटक विद्युत् काटिने गरेपछि  व्यवसायी मारमा परेका छन् । नगरपालिकामा साँझ साढे ६ देखि सात बजेसम्म मात्र लोडसेडिङ गर्ने प्राधिकरणले जनाए पनि दैनिक ५/६ घन्टा लोडसेडिङ हुने गरेको छ ।
विद्युत् अनियमितताका कारण सदरमुकाम क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । विद्युत् अनियमितताले उद्योगधन्दा सञ्चालनमा असर परेको व्यवसायीले बताएका छन् । ‘जेनेरेटरको भर पर्नुपर्ने भएकाले स्टेसनको इक्युमेन्ट्समा असर परेको छ,’ इलाम एफएमका स्टेसन प्रबन्धक खगेन्द्र सापकोटाले भने,  ‘विनाजानकारी बत्ती झ्यापझ्याप जाने गरेकाले रेडियोको सामानसमेत बिग्रिने चिन्ता छ ।’
विद्युत् अनियमितताका सम्बन्धमा प्राधिकरणले भने मर्मत जारी रहेका कारण केही समस्या देखिएको बताएको छ । जिल्लामा घोषित लोडसेडिङ नभए पनि दैनिक घन्टौँ विद्युत् अवरोध हुने गरेको छ । विद्युत्कै भरमा व्यवसाय सञ्चालन गर्नेको कारोबारमा गिरावट आएको छ । विद्युत् आउने–जाने कुनै टुंगो नहुने भएकाले ढुक्कले काम गर्नसमेत नपाइने व्यवसायी बताउँछन् ।
प्राधिकरण इलाम शाखाका प्राविधिक प्रमुख अशेश्वर साहले खोलामा पानीको बहाब घटेको तथा हावाहुरीको मौसमसँगै विद्युत् अवरुद्घ हुने गरेको बताए । यता स्थानीयले भने इलामकै दुईवटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने भए पनि अनियमित लोडसेडिङ हुनु सम्बन्धित पक्षको कमजोरी र लापरबाही भएको बताउँदै आएका छन् । इलामको पुवाखोला जलविद्युत् आयोजनाबाट ६ दशमलव दुई मेगावाट र गोदकस्थित माईखोला जलविद्युत्बाट चार दशमलव पाँच मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
यसैबीच इलाममा सञ्चालित दुई विद्युत् उत्पादन गृहमा उत्पादन क्षमतामा भारी गिरावट आएको छ । पछिल्लो समयमा पानी नपरेकाले खोलामा पानीको वहाब घटेसँगै विद्युत् उत्पादन घटेको हो ।
इलामको पुवाखोलास्थित जलविद्युुत् आयोजनाबाट अहिले १.२ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । यसअघि ६.२ मेगावाट क्षमताको सो जलविद्युत्बाट खोलामा पानीको वहाब घटेसँगै उत्पादन क्षमतामा गिरावट आएको हो ।
त्यसैगरी ४.५ मेगावाट क्षमता भएको माईखोलास्थित हिमाल दोलखा हाइड्रो पावरबाट अहिले २.५ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।
‘सुख्खा मौसमसँगै खोलामा पानीको मात्रा घटेकाले जिल्लामा विद्युत् उत्पादनमा कमी आएको छ,’ नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका राजीवकुमार शर्माले भने । यता गत १ असोजमा भूकम्पबाट पुवाखोला जलविद्युत् आयोजनाको रिजर्भ ट्याङकी क्षतिग्रस्त भएपछि सोही बेलादेखि उत्पादन घटेको थियो । आयोजनाको पोखरी फुटेपछि अहिले सोझै पाइपबाट पानी उत्पादन गृहतर्फ पठाइँदै आएको आयोजना प्रमुख रमाकान्त देवले बताए । रिजर्भ ट्याङकीको मर्मत भइरहेको पनि उनले बताए ।
जिल्लामा हाल २४ हजार विद्युत्का ग्राहक भएको प्राधिकरणले जनाएको छ । अहिले सात मेगावाट विद्युत् आवश्यक पर्ने भए पनि ३.७ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेकाले समस्या भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया