बुंगा–बुंगामा करोडौं स्वाहा

लन्डन, १७ जेठ । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले आयोजना गर्ने बुंगा–बुंगा पार्टीको कुरा मात्रैले पनि धेरैलाई रोमाञ्चित बनाउने गरेको छ । ७५ वर्षीय बर्लुस्कोनी प्रधानमन्त्री छँदा यस्ता पार्टी गरिरहन्थे । जवान केटीहरू भेला गरी मोज गर्ने र रोमान्समा रुचि राख्ने राजनीतिज्ञ तथा व्यापारीलाई बोलाएर रमाइलो गराउन उनी यस्तो पार्टी गर्थे । भनिन्छ– बुंगा–बुंगा पार्टीमा श्रीमान्–श्रीमती साटासाट गर्नेसम्मको
हर्कत हुन्थ्यो ।
मुलुकको वित्तीय संकट सम्हाल्न नसकेपछि बर्लुस्कोनी प्रधानमन्त्री पदबाट बाहिरिएका छन् । तैपनि, उनले गर्ने पार्टीको रौनक अझै चर्चाको विषय बनिरहेको छ । प्रधानमन्त्री छँदा पार्टीमा उनले खर्चिएको करोडौँ रकमसम्बन्धी चर्चा बाहिर आएपछि बुंगा–बुंगा पार्टी पुन: चासोको विषय बन्न पुगेको छ ।
बेलायती पत्रिका ‘द सन’ का अनुसार पार्टीमा सहभागी हुने युवतीका लागि मात्रै बर्लुस्कोनीले अढाई करोड डलर खर्चिएका थिए । नाबालिकासँग बर्लुस्कोनीले यौनसम्पर्क गरेकाबारे अदालतमा मुद्दा दायर गरिएपछि अदालती सुनुवाइका क्रममा यस्ता तथ्य बाहिर आएका हुन् ।
नाबालिकालाई पैसा तिरेर यौनसम्पर्क गरेको आरोप बर्लुस्कोनीमाथि लागेको छ । तर, उनले आरोप अस्वीकार गर्दै आएका छन् । आफ्नै साथीकी नाबालिका छोरीलगायत अन्य नाबालिकालाई ललाइफकाई सम्भोग गरेको आरोप प्रधानमन्त्री छँदै उनलाई लागेको थियो । करिमा एल मरोग नाम गरेकी युवतीलाई १७ वर्ष पुग्नुअगावै रकम तिरेर बर्लुस्कोनीले सम्भोग गरेको आरोप पनि लगाइएको छ ।
‘पार्टीमा सहभागी हुने र आफूसँग सुत्ने युवतीलाई बर्लुस्कोनीले मोटो रकम दिने गर्थे । तिनीहरूका हातमा कार, गरगहना आदि पनि थमाइदिने गर्थे,’ सरकारी वकिलले भने । मन बहलाउन बर्लुस्कोनीले केटीहरूलाई भिक्षुणी र प्रहरीको लुगा पहिरिन लगाई नानाभाती नृत्य गर्नसमेत लगाउने गरेको बताइन्छ ।
बर्लुस्कोनीका लेखापालले सन् २००९ र २०१० मा मात्रै आफूले डेढ लाख पाउन्डभन्दा बढी रकम बैंकबाट झिकेको जानकारी दिएका छन् । यति ठूलो रकम आफूले बुंगा–बुंगा पार्टी हुने ठाउँमा पुर्‍याएको उनले जनाएका छन् । ‘खाममा यति पैसा राख’ भनी बर्लुस्कोनीले मलाई अह्राउने गर्थे । म खुरुखुरु उनले भनेको मान्थेँ,’ लेखापालले भने । (एजेन्सी)

प्रतिक्रिया