साढे तीन सय प्रशिक्षक थप्ने तयारी


काठमाडौं, १७ जेठ । तालिम तथा प्रशिक्षण विभागले ३ सय ३९ प्रशिक्षक थप गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई सिफारिस गर्ने तयारी गरिरहेको छ । तालिम तथा प्रशिक्षण विभागले गरिरहेको यस्तो तयारी प्राविधिक कार्यकारी बोर्डले पास गरेपछि राखेप बोर्डमा निर्णयका लागि जानेछ ।
तालिम तथा प्रशिक्षण विभागका निर्देशक हरिहर श्रेष्ठले प्राविधिक जनशक्तिको अभाव भएका कारण प्रशिक्षक थप्ने तयारी गरिरहेको जानकारी दिए । ‘धेरै जिल्लामा राम्रो सम्भावना भएका खेलका प्रशिक्षक नै छैनन्,’ सौर्यले गरेको कुराकानीमा भरखरै औपचारिकता पाएको प्राविधिक कार्यकारी बोर्डका सचिवसमेत रहेका श्रेष्ठले भने, ‘केही राम्रो सम्भावना भएका नयाँ खेलहरूका पनि प्रशिक्षक छैनन् ।’
राष्ट्रियस्तरमा राम्रो भए पनि अन्तर्राष्ट्रियस्तरमा चर्चामा नरहेका र अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहे पनि राष्ट्रियस्तरमा चर्चामा नरहेका खेलहरूमा पनि प्रशिक्षक प्रस्ताव गरिन लागिएको उनले बताए । ‘भौगोलिक अवस्था, सम्बन्धित खेलको माहोल र सम्भावनाका आधारमा हामीले प्रशिक्षक थप गर्ने विषयलाई प्राथमिकतामा राखेका छौं ।’
प्रस्ताव गर्न लागिएका प्रशिक्षकहरूमा पूर्वाञ्चलका लागि ७६, मध्यमाञ्चलका लागि ८९, पश्चिमाञ्चलका लागि ७७, मध्यपश्चिमाञ्चलका लागि ५५ र सुदूरपश्चिमाञ्चलका लागि ४२ प्रशिक्षक छन् । अहिले राखेपअन्तर्गत देशभर ५ सय ४३ प्रशिक्षक छन् । यसमध्ये १ सय २ प्रशिक्षक करारमा छन् ।
प्रशिक्षक थप गर्न लागिएका खेलहरूमा कराते, तेक्वान्दो, फुटबल, उसुलगायत छन् । खेलहरूको माहोलअनुसार क्षेत्रगत हिसाबले प्रशिक्षकका लागि सिफारिस गरिएको छ– जुन खेलमा जुन क्षेत्र अगाडि छ, त्यसमा प्राविधिक जनशक्ति केन्द्रित गर्ने हाम्रो प्रयास हो ।
यसअघि नेपाल खेलकुद प्रतिष्ठानबाट तालिम तथा प्रशिक्षण विभागमा सरुवा भएलगत्तै उनले प्रशिक्षक परिचालनलाई सशक्त बनाउन कार्यविधि ल्याएका थिए । यसलाई केही दिनअघि राखेप बोर्डले स्वीकृत गरेको थियो । कार्यविधिअनुसार केन्द्रदेखि क्षेत्र हुँदै जिल्लासम्म विशेष प्रशिक्षण व्यवस्था गर्ने र त्यसका लागि प्रशिक्षण केन्द्रहरू स्थापना गर्ने उल्लेख छ । स्थायी रूपमा रहने विशेष प्रशिक्षण संरचना (प्रशिक्षण केन्द्र) केन्द्र, क्षेत्र र प्रायोरिटी वानमा परेका १६ जिल्लामा रहने व्यवस्था छ । ‘विशेष प्रशिक्षणका लागि प्रशिक्षक चाहिने भएपछि पनि प्राविधिक जनशक्ति आवश्यक पर्ने देखिएको हो,’ यसअघि तालिम तथा प्रशिक्षण विभागमा दुईपटक निर्देशक भइसकेका श्रेष्ठले भने ।
तत्कालीन सोभियत संघमा छात्रवृत्ति पाएर ‘स्पोर्टस’ विषयमा मास्टर्स गरेका भलिबलका पूर्वखेलाडी श्रेष्ठ नै तालिम विभागमा निर्देशक हँुदा नेपालले आठांै साफमा ३१ स्वर्ण जितेको थियो । खेलको ‘क्रेज’ र त्यसको पूर्वाधारअनुसारको जिल्लालाई क्षेत्रीय प्रशिक्षण केन्द्र बनाउन गृहकार्य भइरहेको छ ।
यिनै विषयमा केन्द्रित रहेर श्रेष्ठसित गरिएको कुराकानी :

तालिम विभागमा कार्यविधि किन आवश्यक पर्‍यो ?
हामीसँग यसअघि प्राविधिक रणनीति थिएन । कसरी प्रशिक्षण गर्ने र त्यसलाई प्रभावकारी बनाउन के गर्ने भन्ने विषयमा हाम्रो आन्तरिक रणनीति थिएन । त्यो नै हामीलाई आवश्यक थियो । प्रशिक्षण प्रणाली अन्धाधुन्ध र अव्यवस्थित थियो । कार्यविधिले केन्द्रदेखि जिल्लासम्म प्रशिक्षण संयन्त्र तयार गरेको छ । काठमाडौंकेन्द्रित प्रशिक्षण अब क्षेत्र र जिल्लास्तरसम्म पुगेको छ । कुनै पनि खेलाडी प्रशिक्षणकै लागि भनेर अब काठमाडौं आउनुपर्दैन । अब ‘स्पोर्टस साइन्स’ का आधारमा प्राविधिक खेलकुद अगाडि बढ्छ ।
यो कार्यविधिले एकै ठाउँमा लामो समयदेखि बस्दै आएका प्रशिक्षकहरूलाई असहज स्थितिमा पुर्‍याउने कुरा छ नि ?
पहिलो कुरा त हामीसँग अक्षम प्रशिक्षक छैनन् । फरक यति मात्र हो– उनीहरूले काम पाएका थिएनन् । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्वसन्ध्यामा मात्र प्रशिक्षकहरू खटिनुपर्ने र त्यसभन्दा बाहेक जागिर खाएर पनि बेरोजगार हुनुपर्ने अवस्था थियो । तर अब त्यो रहँदैन । प्रशिक्षकहरूले सधंैभरि काम पाउँछन् । उनीहरूले आफूलाई मज्जाले उपयोग गर्न सक्छन् । तर अर्को कुरा के पनि छ भने पहिला प्रशिक्षकहरूले जहाँ गएर पनि हाजिरी गर्न पाउँथे तर अबका दिन भने तोकिएको क्षेत्रबाहेकका स्थानमा गएर उनीहरूले हाजिरी गर्न पाउँदैनन् । उनीहरू तोकिएको ठाउँमा अनिवार्य उपस्थित हुनुपर्छ र त्यसका लागि क्षेत्रीयस्तर तथा जिल्लास्तरमा संयन्त्र निर्माण गरिनेछ ।
सधैंभरि विशेष प्रशिक्षण गर्ने भनिएको छ, यसबारे प्रष्ट पारिदिनुस् न ?
कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको केही समयअघि मात्र यसअघि विशेष प्रशिक्षण गर्ने व्यवस्था थियो । अबदेखि सम्भावना भएका खेलाडीलाई सधैंभरि विशेष प्रशिक्षणमा राखिनेछ । यसमा स्पोर्टस साइन्सको अवधारणा लागू हुनेछ ।
केन्द्रीय विशेष प्रशिक्षण र क्षेत्रीय प्रशिक्षणमा के फरक छ ?
केन्द्रीय विशेष प्रशिक्षणमा छनोट नहुने खेलाडीलाई पनि तयारीका लागि स्थानीयस्तरमा राम्रो प्रशिक्षण व्यवस्था गर्न क्षेत्रीय प्रशिक्षणको व्यवस्था गरिएको हो । यसले केन्द्रीय प्रशिक्षणमा छनोट नहुने राम्रा खेलाडी पनि प्रशिक्षणको अवसरबाट वञ्चित हँुदैनन् । र, उनीहरू केन्द्रीय प्रशिक्षणमा रहने खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जानका लागि छनोट खेल्न समर्थ हुनेछन् ।
व्यापक सरुवा हुँदै छ रे । प्रशिक्षक आत्तिएका छन् भनिन्छ नि !
प्रशिक्षकलाई सजाय दिन सरुवा गरिएको होइन । जुन हाम्रो नयाँ प्राविधिक अवधारणा छ त्यसअनुसार काम गर्न मात्र उनीहरूलाई सरुवा गर्न लागिएको हो, त्यो पनि मिलेसम्म उनीहरूलाई पायक पर्ने ठाउँमा ।
कहिलेसम्म पूरा हुन्छ सरुवा प्रक्रिया ?
यसका लागि गृहकार्य भइरहेको छ । तालिम तथा प्रशिक्षण विभागले सम्बन्धित खेलका प्रमुख प्रशिक्षकसँग सल्लाह गरेर आवश्यक जिल्लामा प्रशिक्षकहरू थपघट गरिनेछ । प्राविधिक कार्यकारी बोर्डले पारित गरेपछि त्यो कार्यान्वयन प्रक्रियामा जान्छ । मलाई लाग्छ– करिब दुई साताभित्र यो प्रक्रिया सकिनेछ ।
प्राविधिक कार्यकारी बोर्ड गठनले प्राविधिक क्षेत्रमा के महत्त्व राख्छ ?
राखेप बोर्डले प्राविधिक विषयबारे आफ्नो अधिकार प्राविधिक कार्यकारी बोर्डमार्फत प्राविधिकलाई नै प्रत्यायोजन गरेको छ । यो निकै ठूलो काम हो । किनभने प्राविधिक विषयमा प्राविधिकलाई जति जानकारी अरूलाई हुँदैन । यसअघि राखेप बोर्डमा प्राविधिक थिएनन् । यसले हाम्रो विभागलाई ‘धेरै’ गर्ने अवसर प्रदान गरेको छ । वैदेशिक प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीबारे प्राविधिकलाई नीतिगत निर्णय गर्ने अवस्थामा पुर्‍याउनु निकै उपलब्धिमूलक हो । यसले प्राविधिकलाई रणनीतिक रूपमा अधिकारसम्पन्न बनाएको छ ।

प्रतिक्रिया