रुस र चेक दोस्रो चरणमा पुग्न सक्ने

मस्को, १७ जेठ । आयोजक भएका कारण युरोकपको ड्रमा वरीयता पाएको पोल्यान्डसहित युरोकप–२०१२ को समूह ‘ए’ मा सन् २००४ को विजेता ग्रीस पनि रहेको छ । समय–समयमा आश्चर्यजनक परिणाम दिलाउने रुस र स्तरीय स्टार समावेश चेक गणतन्त्रका कारण समूह ‘ए’ को आकर्षण अझ थपिएको छ ।
भरखरै प्रशिक्षक बनेका फ्रान्सिस्जेक स्मुडाको प्रशिक्षणमा पोल्यान्ड रहेको छ । पोल्यान्ड र अमेरिकामा व्यावसायिक फुटबल खेलेका स्मुडाले सन् २००९ को अक्टोबरमा ली बेन्केहारलाई प्रतिस्थापन गर्दै प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । युरोपका प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका युवा खेलाडीको उपस्थितिका कारण पोल्यान्ड कुनै पनि टोलीसँग भिड्नका लागि सक्षम मानिन्छ । बोरुसिया डर्टमन्डलाई जर्मन बुन्डेस लिगाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ज्याकब ब्लाजकोवोस्की र रोबर्ट लेवान्डोस्की पोल्यान्डका प्रमुख खेलाडी हुन् । साथमा आर्सनलका ओजिसेक सेज्नी र लुकास्ज फाबियास्जकीको कारण पोल्यान्ड बलियो बनेको छ । घरेलु समर्थकका माझ खेल्ने भएका कारण पोल्यान्ड थप उत्साहित छ ।
सन् २०१० को विश्वकपपछि राजीनामा दिएका ओटो रेहगललाई प्रतिस्थापन गरेका पोर्चुगलका फर्नान्डो सान्टोसको प्रशिक्षणमा ग्रीस रहेको छ । सन् २००४ को युरोविजेता ग्रीसमा यसपटक मिडफिल्डर सोटिरिस निनिस तथा रक्षक काइरिकोस पापाडोपोलुस र कोस्टास फर्टुनिसजस्ता युवा खेलाडीको प्रभाव रहनेछ । २००४ को उपाधिविजेता टोलीका जर्जियस कारागोनिस र कोस्टास काराटोनिस पनि सामेल छन् ।
सोभियत संघको विघटनपछि रुसले विश्व फुटबलमा खासै प्रभाव जमाउन नसके पनि सन् १९६० मा तत्कालीन सोभियत संघले युरोपेली च्याम्पियनको ताज पहिरिएको थियो । डच नागरिक डिक एडभोकेटको प्रशिक्षणमा रहेको रुसका पछिल्ला वर्षहरूमा सबैभन्दा राम्रो प्रदर्शन भनेको पछिल्लो युरोकपमा सेमिफाइनल प्रवेश गर्नु हो । यसपटक रुसले फाइनल प्रवेशको लक्ष्य राख्यो भने पनि यसमा आश्चर्य नमाने हुन्छ । युरोपेली फुटबलका परिचित अनुहार आन्द्रेइ आर्सभिन र रोमन पाब्लुचेन्कोले कुनै पनि समय विस्मयकारी परिणाम दिलाउन सक्नेछन् । अलेक्जेन्डर खर्जाकोभ, सर्जी सेमाक, अलेक्जेन्डर अनेयाकोभ र आइगोर एकिफायेभका कारण रुसी टोली आकर्षक रहेको छ । प्रतिभाशाली मिडफिल्डर एलन डाजायेभका कारण मैदानमा प्रभाव जमाउने क्षमता यो टोलीमा रहेको छ ।
चेक गणतन्त्र फुटबलमा गौरवशाली अतीत बोकेको टोली हो । चेकोस्लोभाकिया विभाजित हुनुअघि सन् १९३८ र १९६२ को विश्वकपको उपविजेता हुनुका साथै १९७६ मा युरोकप जित्न सफल भएको थियो । अहिले पनि पिटर चेक मिलान बारोस, टोमस रोसस्की र जोन कोलरका कारण चेक टोली बलियो रहेको छ । २००९ को अक्टोबरमा इभान हासेकलाई प्रतिस्थापन गरेका माइकल बिलेकको प्रशिक्षणमा चेक गणतन्त्र रहेको छ । यसअघि यु–१९ चेक राष्ट्रिय टोलीका मात्र प्रशिक्षक रहेका बिलेकले टोलीलाई २०१० को विश्वकपमा प्रवेश गराउन नसके पनि पदमा यथावत् रहिरहे । टोमास पकार्ट र माइकल काडलके युरोकपमा छाउन सक्ने चेक खेलाडीको रूपमा रहेका छन् । प्रतियोगिताबारे यसै भन्न नसकिए पनि समूह ‘ए’ बाट रुस र चेक गणतन्त्र नै दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान धेरैको छ ।

प्रतिक्रिया