पार्टी छाड्दै एमालेका जनजाति नेता

काठमाडौं, १७ जेठ । आदिवासी जनजातिका मुद्दालाई यथोचित स्थान नदिएको भन्दै उपाध्यक्ष अशोक राईलगायत आदिवासी जनजाति पृष्ठभूमिका नेताहरूले पार्टी छाड्ने मनस्थिति बनाएका छन् ।
पार्टी त्यागका विषयमा सोमबार राजधानीको एक होटेलमा गोप्य भेलासमेत भएको थियो । भेलालगत्तै निवर्तमान सभासद् पासाङ शेर्पाले पार्टी त्यागेको घोषणा गरिसकेका छन् भने उपाध्यक्ष राईलगायतले अध्यक्ष झलनाथ खनाललाई आफ्ना मुद्दाका विषयमा बुझाएको पत्रको जवाफ पर्खेर बसेका छन् । संविधानसभा विघटन हुनुअघि भएको स्थायी समिति बैठकमा उपाध्यक्ष राईले जनजाति, मधेसी, दलित, महिला तथा अल्पसंख्यकको मुद्दा सम्बोधनका लागि भन्दै अध्यक्ष खनाललाई पत्र बुझाएको केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले बताए ।
राईले जनजातिका मुद्दाको सुनुवाइ गर्न पार्टीले इन्कार गरेको उल्लेख गर्दै पार्टी छाड्ने विषयमा कुरा उठे पनि तत्काल कुनै निर्णय लिई नहाल्ने बताए । ‘मधेसी, आदिवासी जनजाति, दलित आदिका मुद्दा, जो हामीले उठाउँदै आएका छाँैं, त्यसलाई सम्बोधन गर्न नेताहरुले इन्कार गर्नुभो,’ उनले सौर्यसँग भने, ‘हामी अझै छलफलमै छौंँ, पार्टीमै नबस्ने कि भन्ने कुरा पनि उठेको छ तर हार्ड एन्ड फास्ट निर्णय हुँदैन ।’ उनले पार्टी नेतृत्व र आफूहरु दुवै पक्षले गम्भीर भएर सोच्नुपर्ने बेला भएकाले हतारमा निर्णय नलिइने बताए ।
आदिवासी जनजाति नेता र पार्टी नेतृत्वबीचको दूरी बढ्दै गएपछि समस्या सुल्झाउन पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य गोकर्ण विष्टलगायत सक्रिय छन् । पाण्डे र विष्टले असन्तुष्ट नेतासँग अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीसँग एकपटक छलफलसमेत गराएका छन्् । स्रोतका अनुसार एमालेका जनजाति पृष्ठभूमिका नेतामध्येबाट तीनजनालाई वर्तमान सरकारमा मन्त्री बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आश्वासन दिएका छन् ।

प्रतिक्रिया